हाम्रा विशाल छिमेकीको नेपाल चासो

हाम्रा विशाल छिमेकीको नेपाल चासो



हाम्रा छिमेकीहरु भौगोलिक रुपमा जति विशाल छन्, भावनात्मक रुपमा त्यत्ति लाग्दैनन् । विश्व महाशक्ति राष्ट्रको रुपमा उदाएको चीन आफ्नो छिमेकीप्रति उदार र खुला नभएको महसुस गरिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान छाओको नेपाल भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ । नेपालका कम्युनिष्टहरुलाई मिलाउने चिनियाँ प्रयास नयाँ होइन । नेकपा बनाउने कार्यमा अहँ भूमिका नै थियो । नेकपाको विवाद मिलाउन चिनियाँ टोली नै नेपाल आएको घटना विस्मृतिमा गएको छैन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं भन्ने औपचारिक अभिव्यक्ति आए पनि अनौपचारिक र एक्ला एक्लैको भेटमा कम्युनिष्ट पार्टीबीचको एकता वा गठबन्धनको कुरा भएन होला भन्ने कुरा विश्वास गर्न सकिँदैन ।

ओली र दाहालको बीचमा सहमति गराउन चिनियाँ राजदूत हाउ याङछीको सक्रियता व्यापक नै थियो । त्यो बेला राष्ट्रपति विद्यादेवी भण्डारी र राजदूत याङछीलाई नेकपाको सचिवालय सदस्य नै नामाकरण गरिएको थियो । पछिल्लो छाओको भेटघाट तालिका र उनले दलहरुलाई दिएको समयसमेतको विश्लेषण र आकंलन गर्दा नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वका बीचमा भएको कुरा महामहिम राष्ट्रपति भण्डारीकोमा पु-याएर त्यसको अनुगमन निरन्तर गर्ने जिम्मेवारी राजदूत याङ्छीलाई दिइएको हुनुपर्छ भन्ने स्वभाविक अनुमान लगाउन सकिन्छ । बीआरआईलगायतका परियोजना, त्यसमा नेपालको चासो र चाहना ऋणभन्दा अनुदान, चिनियाँ रेलको सम्भावना, विभिन्न हाइड्रो पावरसम्बन्धी परियोजना समेतको एकीकृत अवधारणामा चिनियाँ पक्षले आफ्नो स्पष्ट दृष्टिकोण राखेको हुनुपर्छ । त्यस प्रक्रियामा चीनले कम्युनिष्ट पार्टीलाई नजिकको साथीको रुपमा बुझेको पनि हुनसक्छ ।

यो पटक चिनियाँ पक्षले नेपाली कांग्रेस पार्टी र यसका संस्थापक नेता बीपी कोइरालालाई पनि महत्व नै दिएको देखियो । बीपी प्रधानमन्त्री भएको समयमा माओत्सेतुङसँग भएको भेटघाट र चाउ एनलाईसँगको सहमति पनि छलफलमा आएको सुनियो । देखियो । बीपी संग्राहलय सुन्दरीजल पुगेर एकघन्टा समय दिनु, चिनियाँ पक्ष र नेपाली पक्षका बीचमा खिचिएको फोटोहरु प्रति गम्भीर रुचि राख्नुजस्ता दृश्यहरुले चिनियाँ कम्युनिष्ट पार्टी नेपाली कांग्रेससँग पनि सम्बन्ध बढाउन चाहन्छ भन्ने देखाउँछ । कम्युनिष्ट पार्टीसँगको मात्र सम्बन्धले सकरात्मक सन्देश नआएकोले रणनीतिक रुपमा कांग्रेससँग इन्गेज भएको होइन, एउटा विश्वसनीय दलको रुपमा लिएर कांग्रेससँग सम्बन्ध विस्तार गर्न खोजेको हो भने त्यसले दुई पक्षीय सम्बन्धलाई अझ परिपक्व बनाउन सक्छ ।

छिमेकीहरुसँगको सम्बन्ध सामान्य, विश्वसनीय र मित्रवत बनाउन क्रियाशील हुनुपर्ने समयमा देशको विश्वसनीयतामाथि समेत प्रश्न लाग्ने समयमा भ्रमण गर्नु उचित हो त ?

यसका अतिरिक्त चीनलाई संयुक्त राष्ट्र संघको सदस्यता प्रदान गर्नुपर्छ भन्ने धारणा विश्वमञ्चमा राख्ने बीपी कोइरालाप्रति सम्मान व्यक्त गर्न चाहेको सन्देश पनि गएको छ । ‘निदाएको ड्रागन’ भनिएको चीन साँच्चै ब्युझिएको हो र विश्व शक्तिको रुपमा उदाएको हो भने उसले छिमेकीसँगको ‘चिसो’ व्यवहार परिवर्तन गर्नु अत्यावश्यक हुन्छ । अमेरिकालगायतका पश्चिमा राष्ट्रको ‘स्वतन्त्र तिब्बत’ अभियानप्रति अति गम्भीर र सम्वेदनशील रहेको चीनले नेपालको भूमि आफ्नाविरुद्ध प्रयोग नहोस् भन्ने चाहना राख्नु स्वभाविक हो । तर नेपालमा पश्चिमा गतिविधि निर्वाध रुपमा सञ्चालन हुन्छन् भन्ने ठान्नु अविश्वास हो । यसलाई आपसी संवाद र व्यवहारबाट स्पष्ट बनाउनु दुवै देशको हितमा हुनेछ । नेपालका कम्युनिष्ट पार्टी हुन् वा कांग्रेस उनीहरुको नेतृत्वले आफ्नो देशको स्वार्थलाई प्राथमिकतामा राखेर व्यवहार गर्दा मात्र छिमेकीहरुले हामीलाई सम्मान गर्छन् । होइन भने हाम्रो विश्वसनीयतामाथि प्रश्न चिह्न खडा भइ नै रहन्छ ।

चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण सक्दा नसक्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा निस्किएको समाचार आएको छ । पूर्वघोषित तथा निर्धारित कार्यक्रम नभएको, अपरझट कार्यक्रम बनाइएको भन्ने माओवादी केन्द्रकै जिम्मेवार पदाधिकारीहरको अभिव्यक्तिले नेपालको राजनीतिक नेतृत्वमाथि प्रश्न खडा गरेको छ । आफ्नो बार्गेनिङ बढाउन तथा चिनियाँ पक्षको दृष्टिकोण बुझ्न बुझाउन दाहाल भारत भ्रमण गर्दैछन् भन्ने अनुमान गरिएको छ । अविश्वासनीय चरित्र भएका दाहाल आफ्नो स्वार्थका खातिर जता पनि उभिन सक्छन् । देशको स्वार्थ र आवश्यकतामा यिनीहरुको रुचि नै छैन भन्ने आम बुझाइका बीचमा दाहालले गर्ने भारत भ्रमणप्रति चीन सशंकित बन्न सक्छ ।

विगतदेखि कै दाहालका अभिव्यक्ति असन्तुलित छन् । पहिलो पटक प्रधानमन्त्री भएको समयमा भारतभन्दा चीनको भ्रमण गरेका दाहालको अभिव्यक्ति विवादस्पद अपरिपक्व, कूटनीतिक मर्यादा विपरितको थियो । अहिले गठबन्धन सरकार चलेको, त्यसको निरन्तरता वा कम्युनिष्ट एकता के भन्ने बहस छलफल चासो चलिरहेको तथा चीन र भारतबीच सुमधुर सम्बन्ध नभएको समयमा चिनियाँ अधिकारी भेटे लगत्तै भारतीय अधिकारी भेट्न दौडनु स्वभाविक होइन ।

गलवान उपत्यका, लद्दाख, चिकेन नेकजस्ता चीन–भारत सीमानामा आमने सामने भएको र केही हताहती समेत भएको घटनाबाट समालिन नसकेको चीन–भारत सम्बन्धलाई नजरअन्दाज गरी आफ्नो स्वार्थसिद्ध गर्न हतार हतार भारत निस्कनु वास्तवमा देशप्रतिको इमान्दारिता होइन । आगामी निर्वाचनपछि पहिलो चरणमा दाहाल र दोस्रो चरणमा आरजु राणा प्रधानमन्त्री हुने हल्ला चलिरहेको समयमा राणा दिल्लीमा नै रहेको समय पारी दाहाल दिल्ली दौडाहामा निस्कनु कतै ‘बाघ कराउनु र बाख्रा हराउनु’ भन्ने लोकोत्ति चरितार्थ भएको होइन ? छिमेकीहरुसँगको सम्बन्ध सामान्य, विश्वसनीय र मित्रवत बनाउन क्रियाशील हुनुपर्ने समयमा देशको विश्वसनीयतामाथि समेत प्रश्न लाग्ने समयमा भ्रमण गर्नु उचित हो त ?