प्रेस युनियनमा अनिता पराजित हुनुको ७ कारण

प्रेस युनियनमा अनिता पराजित हुनुको ७ कारण



काठमाडौं । लोकतन्त्रमा आस्था राख्ने सञ्चारकर्मीहरुको साझा संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन यसै साता हेटौंडामा सम्पन्न भयो । विविध कारणले नियमित अधिवेशन समयमा हुन नसकेपछि युनियनले नवौं महाधिवेशनका लागि आठ वर्षभन्दा बढी समय पर्खिनु परेको थियो ।

ढिलै अधिवेशन भए पनि युनियनले नयाँ नेतृत्व पाएको छ । नेतृत्व लिनका लागि युनियनलाई शुभेच्छुक ठान्ने नेपाली कांग्रेसमा जस्तै संस्थापन र संस्थापनइतरका नाममा प्यानल बनाएर निर्वाचन भएको थियो । युनियनको नेतृत्व लिन संस्थापनइतर सफल भएको छ, जसको नेतृत्व शिव लम्सालले गरेका छन् ।

लम्सालको नेतृत्व दाबी स्वभाविक ठानिएको थियो । किनभने उनी आठौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित उम्मेदवार त हुँदै हुन्, त्योभन्दा पनि बढी युनियन हाँक्छु भनेरै दायाँबायाँ नगरी झन्डै एक दशक लम्सालले संगठनमै बिताए । यो एक दशकको अवधिमा संगठनको नेतृत्वमा रहेकाले के गरे र लम्सालले के गरे भन्ने कुराको हिसाबकिताब जे हुनुपर्ने थियो, त्यो यो नवौं महाधिवेशनमा भएको देखियो ।

लम्सालमा पनि केही खराबी होलान्, त्यो खराबीका अगाडि उनको आस्था, समर्पण र लगनशीलता बलियो बन्यो । यति हुँदा हुँदै पनि कांग्रेस संस्थापन पक्ष प्रेस युनियनमा लम्सालको नेतृत्व चाहँदैन थियो । नेतृत्वमा पुग्न कुनै एउटा समूहले नचाहँदैमा सम्भावनाका सबै ढोकाहरु बन्द हुन्छन् भन्ने होइन । यस्ता कुरा लोकतान्त्रिक राजनीतिक दलले कल्पना पनि गरेको हुँदैन । सक्षम, योग्य र कुशल संगठकले कसैको आर्शिवाद भन्दा पनि आफ्नो क्षमतामा विश्वास राख्छ । यो नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि देखिएको परिघटना हो ।

प्रेस युनियनको नेतृत्व लिन संस्थापनले अनिता विन्दूलाई अगाडि सार्‍यो । व्यवसायिकतामा दख्खल राख्ने अनिताले नेतृत्व पाउनुपर्छ भन्ने मत बलियो थियो । कमजोर व्यवस्थापन र व्यक्तिगत ‘इगो’ समस्याको शिकार अनिता बन्न पुगिन् । संस्थापनको समूहको एउटा पक्ष अनितालाई अध्यक्षको उम्मेदवार बनाउन चाहँदैन थियो । अध्यक्ष पदको उम्मेदवार बन्नका लागि अनिताले जुन लडाइँ लडिन्, त्यहाँ उनी सफल भइँन् । त्यो नै उनको एउटा जित थियो । तर, उनीसँग अध्यक्षको टिकट लिन लड्दा असफल हुनेहरुले राजनीतिक संस्कार देखाउन सकेनन् । अध्यक्ष पदका उम्मेदवार अनिता र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सरोज अधिकारीले प्राप्त गरेको मतान्तर यसको उदाहरण हो ।

सबै शक्ति हुँदाहुँदै पनि संस्थापन समुहको उम्मेदवार अनिता बिन्दु किन हारिन् त ? मुख्य कारणहरुको यहाँ चिरफार गरिएको छ ।

कारण –१
आफ्नो भाग खोसिने डरः

संस्थापनले अगाडि सारेको उम्मेदवार अनितालाई जिताउँदा संस्थापनभित्रकै धेरैले आफ्नो भविष्य असुरक्षित देखे । सबै कुराबाट काबिल ठानिएकी अनितालाई यही बेला रोक्न सकिएन भने भविष्यमा आफ्नो ‘भाग’ खोसिने डर धेरैलाई लागेको देखियो । त्यसैले उनीहरु महाधिवेशन वरपर खासै देखिएनन् । हेटौडा रिर्सोटमा बसेर चुनाव जित्ने रणनीति बनाउनुपर्नेहरु अनिताको पक्षमा जुन ठाउँमा मतको पक्कड थियो, त्यो ठाउँ भत्काउन थालियो ।

कारण–२
फितलो व्यवस्थापनः

आफूले रोजेको व्यक्तिलाई अध्यक्ष पदमा उम्मेदवार बनाउन नपाएपछि जिताउने जिम्मेवारी लिइएकाहरुको असन्तुष्टि महाधिवेशन स्थलमा प्रष्ट झल्किन्थ्यो । जसले गर्दा व्यवस्थापन फितलो हुनु स्वभाविक नै थियो । प्रतिनिधि दर्ता प्रकृयादेखि उम्मेदवारी मनोनयनसम्म अनितालाई जिताउन हेटौडा पुगेका सहयोगीहरु कहिँकतै देखिएनन्, भेटिएनन् ।

दर्ता प्रकृयामा बसेकाहरुले अनुपस्थिति प्रतिनिधिको भरपूर सदुपयोग गरेर आफूलाई निर्वाचित हुन सहज बनाएको घामझै छर्लङ्ग देखिन्थ्यो । को–कसको कुन पदमा उम्मेदवारी पर्‍यो भन्नेसमेतको जानकारी अनिता समूहलाई थिएन । उम्मेदवारी मनोनयनको समय सकिँदासम्म खाली रहेका पदमा व्यक्ति खोज्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युनियनका पूर्व महासचिव अजयबाबु शिवाकोटी र पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले मनोनयन गराइरहेका थिए ।

कारण –३
अन्तिम समयमा उम्मेदवार हेरफेरः

अन्तिम समयसम्म उम्मेदवार हेरफेर गरेर पहिला नै टिकट पाएर पक्का भइसकेका उम्मेदवार र मतदातामा अन्योल छरियो । यसरी अन्योल सिर्जना गर्नु असहयोगको अर्को उदाहरण हो । संस्थापन पक्षको सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी मत थियो । सुदूरपश्चिमबाट उम्मेदवार चयन गर्दा पटक पटक हेरफेर गरियो । जसका कारण सुदूरपश्चिमको संस्थापन पक्षको मत तीन भागमा बाँडियो । त्यसैगरी नवलपरासी, प्युठान, मधेश प्रदेशलगायतका ठाउँहरुमा पनि उम्मेदवार चयनमा हेक्का नपुग्दा संस्थापन समूहको मत बिथोलियो ।

कारण–४
आफ्नै संस्थाबाट असहयोग:

अनिताले जति मत प्राप्त गरिन् त्यो संस्थापन समूहको केही र उनका हितैषीका मात्र हुन् । उनले काठमाडौंदेखि ओसारेका मतदाता मात्र होइन, आफ्नै संस्था नेपाल टेलिभिजनको समेत साथ पाउन सकिनन् । महाधिवेशनस्थल पुग्नका लागि मात्र होइन उनीहरुको रमाइलोका लागि समेत अनिताले आफ्नो खल्तीको पैसा पठाएकी थिइन् । नेपाल टेलिभिजनमा आबद्ध अनितालाई सरकारी सञ्चारमाध्यमबाट पनि राम्रै मत आउने अपेक्षा गरिएको थियो । गोरखापत्र, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिबाट अपेक्षाअनुसार अनिताले मत पाइनन् ।

कारण–५
अनिता समूहको उम्मेदवारद्वारा शिवलाई मतदान:

मतदान हुनुभन्दा अगाडिसम्म अनिताको पक्षमा बनेको माहोल एकाएक बिथोलियो । मतदाता मतदानका लागि लाइनमा बस्दै गर्दा संस्थापन समूह तितरबितर भइसकेको थियो । समूहभित्र उम्मेदवारहरुले एकअर्काबीच अविश्वास उत्पन्न भएपछि मत माग्ने काम छुट्टाछुट्टै भयो । यसबाट प्रष्ट देखिन्थ्यो– मतदानको दिन संस्थापन समूह भन्ने नै थिएन । अनिता समूहबाट टिकट लिएर शिव लम्साललाई मतदान गर्ने मात्र होइन, मत माग्नेहरु पनि भेटिएका थिए ।

कारण–६
संस्थापन समूहको संगठित मत शिवलाई:

अध्यक्षमा शिव लम्साललाई मत दिने र बाँकी अनिता समूहमा मतदान गरेको पाइयो । यस्तो झन्डै २ सय ५० मत भन्दा बढी भेटियो । अध्यक्षलाई बाइपास गरेर अन्य पदाधिकारीलाई मतदान गर्नेहरु को हुन् भनेर खोजिरहनु पर्दैन । संस्थापन समूहकै एक समूहले अध्यक्षमा शिव लम्साल र बाँकी पदाधिकारीमा संस्थापन समूहको ल्याउन ३ सय मतको डिल भएको लम्साल समूहका एक जिम्मेवार सहयोगीले ग्लोब नेपाललाई बताए ।

कारण–७
महिलाको विरोधी महिला

नेपाल प्रेस युनियनले महिला नेतृत्व पाउने ऐतिहासिक अवसर थियो । तर यो अवसरलाई महिलाहरु नै बाधक बने । झन्डै २० प्रतिशत महिला मतदाता रहेको युनियनमा ५ प्रतिशतले पनि अनितालाई मतदान गरेनन् । किनभने प्रेस युनियनको इतिहासमा अनिताको नाम लेखिदै थियो ।

समग्रमा कुशल व्यवस्थापन नभएपछि अनिता नेतृत्वमा पुग्न असफल भइन् । उनको असफलता भनेको प्रेस युनियनले एउटा व्यवसायिक महिला नेतृत्व गुमाउनु हो भन्ने कुरा कमैले मात्र बुझेका होलान् । स्वस्थ प्रतिस्पर्धाबाट नै शिव लम्साल नेतृत्वमा पुगेका छन् । संगठन हाँक्न उनका अगाडि पनि चुनौतिका पहाड छन् । त्यसलाई टुंगोमा पु-याउन उनी सफल हुन्छन् कि हुदैनन्, त्यो आगामी दिनले बताउने छ । ग्लोब नेपालको तर्फबाट शिव लम्साललगायत नवनिर्वाचित कार्यसमिति र लेखा समितिलाई बधाइ र सफल कार्यकालको शुभकामना ।