राराकी बाला

राराकी बाला



यस पटकको रारा यात्रा विशेष स्मरणीय भएर आयो । हुन त पङ्क्तिकारको यो यात्रा तेस्रो पटकको थियो । पहिलो पटकको यात्रा तीस बर्ष अगाडि भएको थियो । जुम्लादेखि दुई दिन हिंडेर तय गरेको त्यो पैदल यात्राको थकावट दुई मिनेट मैतालको किनारमा सुस्ताउँदा मेटिएको थियो । यसको सौन्दर्य र मादकताले पारेको प्रभाव यत्तिका बर्षसम्म पनि घटेको थिएन । जीवन्त अवस्थामै थियो । मौका मिलेर आयो जागिरको उत्तराद्र्घतिर फेरि । जसले पछिल्लो यात्रामा मिलेको सौन्दर्य र मादकतामा सुगन्ध घोलेर छताछुल्ल बनायो ।

नाग्म बजार छोडेर टाटा सुमोजीप रारा यात्राको लागि मुस्लेधार धुलो उडाउँदै उकालो लाग्यो । मध्यान्ह पछिका दिन सूर्यनारायणका लुरा प्रकाशका किरण लम्बवत हुँदै गाडीको पृष्ठभागबाट भित्र छिर्न थाले । सिङ्गो तय गर्नुपर्ने दुरी अझै ९५ कि मी पर थियो । कच्चीबाटोमा दुरीको भन्दा पनि समयको बढी महत्व थियो । समय त हामीले अलि फोकटमा जुम्लामा नै फालेका थियौं । लघुशँका गर्नु परे पनि सार्वजनिक यातायातको जस्तै व्यवहार हुन गएको थियो । त्यसैले हिमा गाउँपालिकामा रहेका पुलका राजारानीका चित्रहरु, सिंजामा तरेली परेका खेतका फाँट र नराकोटतर्फका पाखापखेरामा कमिला जसरी चरिरहेका गाईबस्तुलाई गाडीको झ्यालबाट नै चियाएर सन्तोष गर्नु पर्यो ।

कनकासुन्दरी मन्दिर वारिको घुमाउरो सडक काटेर पट्यारलाग्दा भिरपखेरा छिचोल्दै गाडी घुच्चीको लेकमा पुगेर टक्क रोकियो । घुच्चीको लेक नपुग्दै भुलभुलेबाट अझै पनि पग्लिन बाँकी हिउँका अवशेष भएका अग्ला पहाड र ती पहाडका ढाडहरुमा जुम्ला खलङ्गाबाट मोटरबाटो खन्ने क्रममा डोजरले पारेका घाउहरु प्रष्ट देखिन्थे ।

‘सरहरु ईन्ट्री गरेर जानुहोस् है’ सेनाको ड्रेसकोड लगाएका एक जवानले हामी छेउ आएर भने ।

नेपाली सेनाको सानो पोष्ट छ यहाँ । रारा निकुन्ज यहिंबाट शुरु हुने रहेछ । नौ/दसवटा गाडीको क्यू देखेर हामीहरु पनि क्रमशः गाडीबाट झरेर ताजगी अनुभव गर्न पैदलनै हिडन थाल्यौं । जुम्ला र मुगु जिल्लाको सिमाना रहेको यस स्थानमा बस्तुभाउका काठका गोठहरु फाट्टफुट देखिन्थे । गोधुली बेला हुन लागेकोले जङ्गलका काँछहरुबाट बस्तुभाउहरु गोठ फर्कन लागेका तांँती, अलिपर एक हुल घोडाका बथान हरियो घासमा लडिबुढी खेल्दै गरेका र तिनका बछेडा यता र उता दौडेको दृष्य अतिनै मनमोहक देखिन्थ्यो । आकाशमा एक दुई टुक्रा सेता बादल, रुखहरुबाट चरा कराएको मधुरध्वनि, वातावरणमा मन्दमन्द चिसो सिरेटोले जङ्गल नै मङगलको अनुभूति दिलाई रहेथ्यो ।

चेकजाँच र ईन्ट्री सकेर ‘प्याँँ प्पाँ’ गर्दै गाडीले अगाडि आएर हर्न बजायो । हामी सबै गाडीमा चढ्यौं ।

‘कति समय लाग्ला आरसीजी? रारा पुग्न । कती पटक पैदलै हिडियो यो बाटो, अहिले गाडीमा पनि थाकिदों रहेछ । लामो यात्रा शरीरले थेग्न छोडेछ ।’ थकाईले गर्दा बिरक्तभावमा अध्यक्षज्यूले सोध्नुभयो ।

‘खै ! रारा त पुगिंदैन होला । ताल्चा एअरर्पोटमा बसाई हुन्छ होला । जुम्लामा हामीले धेरै समय बितायौं । कम्तीमा दुई घन्टा माथिको समय लाग्छ, सर’ मैंले भने । गाडी राजमार्गको ननस्टप रात्रीबस झै कुदिरहेको थियो । सबैको अपलक लक्ष थियो छिट्टै रारा पुग्नु ।

बिहान उच्च व्यवस्थापनको टोली सहित जुम्ला खलङ्गामा रहेको अस्पतालमा एक्टेन्सन काउन्टर र एटिएमको उद्घाटन सकी उद्योग वाणिज्य सम्बन्धित पदाधिकारीसंग भएको अन्तरक्रिया कार्यक्रम सक्दानै समय घर्कीसकेको थियो । त्यसमाथि सहयात्रीहरुको आफन्ती भेटघाट, बजार घुमघाम र सोमरस सहितको जलपानले जुम्ला छोड्ननै नवदुलहीलाई अन्माउनु जस्तै भएको थियो हामीलाई ।

‘तपाइँको क्षेत्र हो, हामी त गेष्ट भयौँ । जिम्मा तपाईको हो है’ अझै नगिजै आएर बिस्तारै ‘बुढा थाके जस्तो छ, बेलुका बसाई कस्तो हुने हो !’ सिईओ साहेवले मन्दमुस्कान छोड्दै भन्नु भयो ।

हुन त यो ठाउँ मेरो कार्य क्षेत्रभित्रको नै थियो । यात्रालाई सहजीकरण र रुमानी बनाउने जिम्मा बढी मेरै थियो । तर प्रकृतिको लीला हाम्रो साथमा साथ दिने जस्तो देखिएन । ताल्चा नपुग्दैका पिना र झ्यारीगाँउ के पुगेका थियौँ, पानीका छिटा पर्न थालिहाले । आकाशमा कालो बादल मडारिइरहेको देखियो । ताल्चाबाट अगाडी बढेपछि झरीले कोदो पिटे जसरी पिट्न थाल्यो । चुक घोप्टीए जस्तो कालो रात त्यसैमाथि घनघोर बर्षा, गाडी अगाडि बढेको होईन, बगेको हो जस्तो हुन थाल्यो ।

सल्लेरीमा पुगेर गाडी रोकियो । सबैले गुरुजीलाई धन्यबाद दियौँ । यो जाडोमा पनि निधारका पसिना पुछ्दै गुरुजी एकपटक मिठोसंग हाँसे । उनको अनुहारमा विजयभाव प्रष्ट देखिन्थ्यो । झरी कम हुने छाँटकाँट नै थिएन । रात्रीको नौ बजिसकेको छ । अगाडि जाने उपाय थिएन । लहरै टिनको छाप्रा लगाएका साना अस्थाई होटलहरु मध्ये गाडीको भाडा उठाउन ढाँट लगाएको बगलको होटलमा आश्रय लियौं । कोठामा बिंसाउँदै यात्राको समिक्षा गर्यौ । बिजुली बत्तिको सुविधा भएको । मोवाईल खोलेर हेरियो, फोनको टावरै छैन । रारामा बुक गरेको होटलमा सम्पर्क गर्न सकिएन । ……… तेलको धुप, भनेझै जे पायौं त्यै खायौं, जस्तो कोठा पायौँ त्यसैमा बितायौ तर रातभर भित्तामा टोलाउँदै जुम्लाबाट फोन गरी बुक गरेको होटलको कोठा सम्झिदै रात बितायौं ।

बिहान मिलिचौर पुग्दा मानिस र घोडाको जात्रै देखियो । हिजोको बर्षातले रोकिएका पर्यटक भेला भैसकेका रहेछन् । उत्तरतर्फ हिमालका पङ्क्तिहरुले सौर्यस्नान गरेको दृष्य अप्रितम देखिन्थ्यो । नीलो खुलेको आकाश मुनी हरियो जङ्गलको बीचमा लमतन्न परेको यो मैदान राराको प्रवेशद्घार नै मानिदों रहेछ । कोही पिठ्यूँमा झोला बोकेर लठ्ठी टेकेर हिडिरहेका, कोही घोडामा चडेर सईसको पछी पछी हिँडिरहेको ताँती सल्लाघारीमा पुगेपछि हराईरहेको दृष्य हेरिरहे जस्तो लोभलाग्दो देखिन्थ्यो । हामी पनि बिस्तारै मैदानका मानिसको हुलमा मिसियौं ।

‘घोडा चाहिन्या हो ,सरहरुलाई ?’

‘चौधसयमा तालमा पुराई, यहीँ छाडिदिन्छौ’ भन्दै एउटा झुण्ड घोडा डोर्याउँदै हामी भएतिर झुम्मियो । स्थानिय भाषाको लवज घोलिएर आएको आवाजले हामीलाई आकर्षित गर्यो । आधाआधी स्कुल पढ्ने किशोरवय भएको यो समुहमा दुई जना किशोरी पनि थिए । हामीलाई यिनीहरुले पछ्याईरहे । हामीले वास्ता अलि कम गरेका थियौं । किनकी यो वातावरणको सौन्दर्य पिउन अझैं बाँकी रहेर अलमल गरिरहेका थियौँ । त्यतिनै बेला एक किशोरीले घोडा डोर्याउँदै नजिकै आएर भनिन्- ‘हाकिम जस्ता देखिन्छौ हिड्नु न अई ! सर’ यी किशोरीको यो भनाईले हामीलाई पैदल जाँउ कि भन्ने सोंँच बदल्न बाध्य बनायो ।

केही समयको मोलमोलाईमा यिनीहरु दुईतर्फी सवारी गराउन हजार रुपियाँमा सहमत भए । तर एकतर्फी छ सयमा टसमस भएनन् । तत्काल फर्कने कार्यक्रम थिएन त्यसैले तालपारिसम्म लैजाने शर्तमा हामी सहमत भयौँ । मोलमोलाईको कला र अर्थशास्त्र यिनीहरुलाई राम्रोसंग आउने रहेछ । घोडा रोज्दै सबै जना चढ्दै गयौँ । सबै जना घोडा चढेर हिड्न लाग्दा म चढेको घोडाको लगाम (स्थानीय भाषामा कलाडी) समात्न आईन् एक किशोरी । उमेरमा त्यस्तै सोहृ सत्र भएर कल्स्यौली बर्ण की देखिने । यिनीबाट सुरक्षित अवतरण हुदैन कि भनि शंका लाग्यो । अफ्ठ्यारो महसुस भएर, पछाडि फर्केर हेरेँ । सरहरु मुसुमुसु हाँसिरहनु भएको थियो । जे त पर्ला भन्दै । सरहरुलाई पछाडि छोडेर हामी गन्तव्यतर्फ बढ्यौें ।

सल्लाघारी पुगेपछि वातावरण शान्त भयो । बाटो काट्ने बिचारले मैले सुस्तरी यिनको नाम सोधे- ‘तिम्रो नाम के हो नानी ?’

यिनी मुसुक्क लजाईन् तर जवाफ दिईनन् । केही समय म अजङ्गका सल्लाका फेददेखि टुप्पासम्म हेर्दै पर्खे । उनको वाक्य नै फुटेन । जवाफको प्रतिक्षाले अधैर्य भएर जिस्किदै भनें- ‘लाटी रहेछ्यौ, बेकारमा सोधे छु मैले हेर्दा त स्कूल पढ्ने जस्तो लाग्छ ।’

यत्ति के भनेको थिएँ, यिनले लगामको फिता ‘लौ समात, तिम्लाई किन चाहिया हो नाम?’ भन्दै मेरो हातमा थमाएर यिनी त घोडाको पछिपछि पो हिड्न थालिन् ।

‘लाटी’ भन्दा यिनको आत्मसम्मानमा चोट परेको मैले बुझें । घोडाचडी नजानेको, डो¥याउने सईसको भरमा चढ्ने गरेको, डर लागेर आयो । ओहृालो बाटो, पछाडी फर्केर हेर्दा टोली सय मिटर जती टाढा …। चोट त मलाई पो पर्न गयो ।

‘छोराको उमेरकी रहिछ्यौ । अनि पो सोधेको’ मैले विषयलाई अलि मोड्दै भने ।

‘हामी पनि जान्छ नि स्कूल, आज पुर्णेको बिदा…। तिमी कति पढ्या हौर ?’ लगामको फिता समाउदै उल्टो प्रश्न तेस्र्याइन् ।

आज बुद्घपूर्णिमा बिदाको दिन …।

कुरा गर्दै गएपछि यिनी खुल्दै गईन् । मुर्मा गाँउकी रहेछिन् यिनी । बिदाको दिनमा घर परिवारलाई यसै गरी सघाउँदा रहेछन् यो उमेरका केटाकेटीहरु । गाँउका मानिसहरु कोही जडिबुटी लिएर बजार झर्दा रहेछन् । कोही कालापहाड जाने भन्दै भारत पस्ने रहेछन् । घोडा पाल्नेहरुलाई हिउँ पर्न छोडेपछि घोडाले नै पाल्दो रहेछ । घोडाको सवारी ताल्चा एयरर्पोटदेखि रारासम्म गराउदा रहेछन् । सिजनको बेला भ्याईनभ्याई हुने राम्रो आम्दानीको स्रोत रहेछ । गाँउकै स्कूलमा कक्षा नौमा पढ्दै गरेकी यिनी आज बिदा भएर साथी साथी मिलेर आएका रहेछन् । एकै सासमा सुनाइन् उनले यताको दिनचर्या ।

हामी ताल प्रष्ट देखिने तल्लो मिलिचौरको सानो काठेपुल निर आईपुग्यौ । उत्तरतर्फ खुलेको चङ्खेली हिमालतर्फ देखाउँदै अरु पहाडका नाम सोध्न खोज्दा यिनले- ‘हिमाल देख्या नाई क्या ? नापो नापो सोध मथ्थै मथ्थै नसोध’ ( थोरै-धेरै) भनिन् ।

यी नानी अलि जड नै हुन भन्ने लाग्यो मलाई । यिनको स्थानिय भाषाको मिस्रण सहितको लवजमा कुनैकुनै शब्द खुट्याउन गाह्रो परिरहेथ्यो मलाई । अब धेरै प्रश्न नगर्ने मुडमा म पुगे पनि । तर एकैछिनमा यस्तो सुन्दर ठाँउमा के चुपचाप हिड्नु भनि मैले आग्रह गरें- ‘कुरा गरे बाटो काटिन्छ, तिमी बोल्दै जाऊ म सुन्दै जान्छु’ ।

केही बेरपछि यिनी बोलिन्

‘तिम्मो नाम क्या हो ?’

‘रामचन्द्र …!’

यिनी फिस्स हाँसिन् ।

मैले सोधे- ‘किन हाँस्यौ ?’

‘देउताको नाम जस्तै रहेछ’ ।

‘देउताको नाम सम्झीरहन्छ भनेर बाआमाले यस्तो नाम राख्देका ’ मैले भनेँ ।

यिनले घोडालाई खुरुखुरु बाटोबाटै लगिन् । तालवारीका मैदानै मैदान जान अनुरोध गर्दा पनि मानिनन् । तालपारीको मुलबाटो नै पक्रेर हिँडिन् ।

सोध्दा जवाफ पुग्ने गरी दिईन । ‘घोडाबाटै हेरे भया नि, पौडिने त हैनौ होला ! ’ मतर्फ फर्कदै मुसुमुसु हासिन् । यिनले आफूलाई जितेको महसुस गरिन् । यिनको जितलाई स्वीकारी वातावरणलाई सहज बनाउन मैले उनलाई भने- ‘तिम्रा मनका कुरा भन्दै जाउ न’ ।

यिनी बिस्तारै खुल्दै जान लागेको महसुस भयो । मलाई अनायास पहाडी भेकमा पाईने सुन्तला दानाको याद आयो । अनुहारको चहकलाई निधारमा बिट मार्दै यिनले भनिन्- ‘ओई ! सर’ । ‘म मुगुबाट काँई गया नाइँ, जुम्ला नि गया नाइँ । नेपालगन्ज, काठमाण्डौ, पोखरा कस्तो हुँदो हो’ । यिनले ती शहरहरुको बारेमा जान्न उत्सुक हिसावले मनको कुरा बिसाईन् ।

‘आज हाम्रो गाडीमा जान्छ्यौ ? घुमाईदिउँला नि । गाडीभाडा क्यै लाग्दैन, के गछ्र्यौ ?’ संभव नभए पनि उनको मन चोर्ने हिसाबले भने ।

हामी राराको तालको पानी निकास भई खत्याडखोला बन्ने ठाउँ निर आईपुग्यौ । त्यहाँको काठे पुलमा चढेपछि उनले भनिन्- ‘स्कूल क्या गरौ त ?’ घुम्न जादाँ स्कूलको पढाई छुट्ने डर यिनले व्यक्त गरिन । मैले जवाफ दिईन चुपचाप नै रहेँ । मेरो बसको कुरा थिएन ।

‘तिमी पनि बिर्सी जाने हौ !’ पुलबाट ओर्लदै गर्दा यिनले भनिन् । म अलि स्तब्ध भएँ । मलाई यिनको मनोभावनामा ठेस पुर्याउन मन लागेन । ‘लौ, सर सजिलो बाटो आयो’ यो लगाम आफै लेउ’ भन्दै दिईन् । उनी अगाडि म

घोडामा पछाडि आज्ञाकारी बालक झै हिड्दै गएँ ।

उनी टक्क रोकिईन् ।

मैले सोधे- ‘के भयो ?’

‘सर ! एक कुणो सोधुँ ?’

मैले ‘हुन्छ सोध’ भनें ।

‘तिम्मो छोरा कती क्लास पड्दो छन्त ?’ यो प्रश्नले ताललाई पनि घत परेछ जस्तो लाग्यो । ठूलै छालले किनारा हान्यो । छालका बाछिटा उछिट्टिएर हामीसम्मै आई पुगे । घोडाले पनि हिन्हिनायो ।

मैले उनलाई- ‘क्याम्पस पढ्दै गरेको छोरासंग राराताल घुमेको, नाम भन्न लजाउने नानीको घोडामा चढेको, कुराकानी गरेको आजै फोनबाट गर्छु’ भने ।

उनी मुसुक्क हासिन् । अनुहार प्रफुल्ल देखियो । माथि पाखोमा हेर्दा सेतो लालिगुँरास ढपक्कै फुलेको रहेछ । तालको पानीमा छाया परेर हल्लिरहेको देखिन्थ्यो ।

हाम्रो अन्तिम गन्तव्य नजिकै थियो । पछाडिको टोली पनि घोडा दौडाउँदै प्रधानमन्त्रीले भ्रमण वर्ष घोषणा गरेको चौरनिर आईपुग्यो ।

अर्को घोडाको सईसले उदघाटन गरेको चौरमा घोडा रोकेर अध्यक्षज्यू लाई ओराल्दै भन्यो- ‘लालदेवी ! आज त हामीलाई पनि छोडेर हिड्यो नि?’

यिनी लाजले रातो पिरो भईन् । घोडाबाट झरेर मैले भने- ‘लौ लालदेवी भाडाको पैसा !’ ।

यिनले भाडा हातमा लिदै कोल्टे फर्केर भनिन् ।

‘सर ! तिम्मो छोरा कति बर्षका भया नि ?’

नजिकै तालको पानीमा हलचल आयो । हेर्दा, माछाको झुण्डले घामको किरणमा उफ्रिएर पौडिरहेको…..। यिनको प्रश्नले मलाई प्रकृतिको यो मनमोहक वातावरणको सौन्दर्यमा अत्तर घोलिएर सुभासित
बास्ना आएजस्तो भयो ।

प्रश्नको उत्तर दिनु पर्ने थिएन कि !

खाश ! छोरा पनि यात्रामा सङ्गै भईदिएको भए ।

चारचाँद हुने थियो कि ……..!!!

राराको नीलो पानी आफ्नै लयमा छचल्किरह्यो ।