कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना

कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना



जुम्ला । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ५ मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् ।

जुम्ला सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी कक्षा ३ मा अध्ययनरत छात्रा नविना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन् । उनले भनिन्, ‘५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ ।’ उनलाई विद्यालय जाँदा सधैं कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।

‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनुहुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’

पाठशालामा नेपाली र संस्कृत दुईवटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ कक्षासम्मका ३० विद्यार्थीको पठनपाठनमा समस्यामा भएको हो ।

चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्चबापत २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ  ।

नगरपालिकाको ‘सानो बजेट कहाँकहाँ पुर्‍याउनु ?,’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैंमा अस्तव्यस्त छ ।’

उनले भने जुम्लामा पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिएको बताए । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उनको भनाइछ । ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै,’ उनले भने, ‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रबन्ध छैन ।’

अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए  । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।

पाठशालामा जातीय विभेद छैन

पाठशालामा दलित र गैरदलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ । पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् ।

चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंका अनुसार चन्दननाथ नगरपालिकाले वार्षिक बजेट एकमुष्ट दुई लाख ४१ हजार रुपैयाँ अनुदान दिने गरेको छ । ‘गुरुकुल पाठशालामा भौतिक संरचना र शिक्षकको अभाव देखिन्छ उनले भने, ‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना आह्वान भएको छ ।