जीवन एउटा अत्यन्तै सुन्दर प्राकृतिक बरदान हो । हाम्रो जन्म चाहेर या नचाहेर भएको हैन । यो त एउटा पवित्र संयोग हो । जसरी प्रकृतिमा विभिन्न फूलहरु फुल्छन्, फल्छन् त्यसरी नै मानिसको जन्म पनि प्रेमको प्रतिकको रुपमा अर्थात् एउटा प्रोडक्टको रुपमा भएको हो।
यो एउटा उपहार हो । एउटा अद्भूत आविष्कार हो । ओसो भन्नु हुन्छ ‘जीवनलाई प्रेम गरौं र अधिक खुसी रहन सिकौं । जव तिमी एकदमै प्रसन्न हुन्छौ, सम्भावनाहरु बढी हुन्छन् ।’ जीवन राम्रो तरिकाले जिउनु पनि एउटा कला हो । जिउनु को अर्थ भोग्नु हो । भोगाइको निश्चित परिभाषा छैन । जे घटनाहरु जीवनमा आइपर्छन् त्यसले कुनै न कुनै पाठ सिकाएरै जान्छ सायद यही हो भोगाइ । यो त्यसै हुन्छ । यसै हुन्छ । जीवनलाई भोग्दै अगाडि बढाउनुको अर्को उपाय छैन । जीवन विभिन्न आयामहरुमा बाँधिएको हुन्छ । यसैलाई केलाउँदै, रमाउँदै , रसपान गर्दै हाँस्दै र हसाउँदै बिताउनुको बिकल्प छैन ।
यो त एउटा गन्तव्य बिनाको सुन्दर बाटो हो र हामी बटुवा । मान्छे जन्मेपछि समयसँगै पढ्नु , स्ववालम्वी हुनु, बिबाह गर्नु, छोराछोरी जन्माउनु, पालनपोषण गर्नु आदि विभिन्न किसिमका उत्तरदायित्वहरुसँग रुमल्लिनु पर्छ । केही पारिवारिक,केही सामाजिक र धेरै आफ्ना चाहानाहरु पूरा गर्दागर्दै जीवनको खेलोमेलो कतिखेर सकिन्छ पत्तो हुँदैन । जीवनलाई फर्केर हेर्ने चेष्टा आजसम्म कमैले मात्र गरेको पाइन्छ अधिकांश मानिसले हिसाब किताब मिलाउने ध्याउन्नमा नै जीवन समाप्त गरेको हुन्छ ।
जब हामी आफूले रोजेको जीवन जिउँछौं अनि मात्र हामीलाई आत्मिक आनन्द मिल्छ । जसले जीवनलाई सकारात्मक उर्जा दिन्छ । इच्छा शक्ति बढ्छ र जीवनकाप्रति आत्मविश्वास जागेर आउँछ । एउटा प्रेमी प्रेमिकाले आफूले चाहेको जस्तो जीवन जीउन सबै किसिमको जोखिम लिन तयार हुन्छन् किन भन्दा आत्मिक आनन्द प्राप्त गर्न नै हो । एउटा भनाइ नै छ,’जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन, तर कस्तो जीवन बाँच्छौ त्यसले खास अर्थ राख्छ ।’
एउटा प्रेमी प्रेमिकाले आफूले चाहेको जस्तो जीवन जीउन सबै किसिमको जोखिम लिन तयार हुन्छन् किन भन्दा आत्मिक आनन्द प्राप्त गर्न नै हो ।
निश्चित अवधिका लागि जीवन लिएर आएका छौ हामीले खुसीसाथ, प्रेमपूर्वक, उत्साहित भएर बाँच्नुपर्ने हो । तर,हामीसँग यस्तो कला हुँदैन, जसले गर्दा रिस, मोह, इर्ष्या, प्रतिशोध, शत्रुता साँधेर कष्टकर जीवन जिउन पुग्छौं । त्यसैले त जीवनको मूल्य र मान्यतालाई बुझ्न जरुरी छ । जीवन के हो ? कसरी जिउने भन्ने कुरा हामी आफैबाट सिक्न सक्छौं भने अरुबाट प्रेरणा लिन सक्छौं । जीवनलाई जति कलात्मक,रचनात्मक र मूल्यवान बनाउन सक्छौं, उत्तिकै शानदार दिनहरु बिताउन सक्छौं ।
सत्य हो, समय त बितेर जान्छ नै अहिले जुन पल हामीसँग छ त्यो न भोलि हुनेछ न त हिजो नै थियो । यसरी हरेक आजको पल कहिल्यै हामीसँग जति चाहेर पनि रहने छैन । हर चिज पैसामा किन्न पाइने दुनियाँमा आज बितेर जाने समय मात्र किन्न पाइँदैन । त्यसैले त जीवन आज रमाउनु पर्छ । आज हाँस्नु पर्छ । आज नै भरपुर बाच्नु पर्छ भनेको हो । जति बेला त्यो पल हामीसँग हुन्छ किन लोभ,मोह, क्रोधमा फसेर बिताउने ? भरपुर आफुलाई या आफ्नाहरुलाई माया गरेरै बिताउनु सर्बश्रेष्ठ हुनेछ ।
वास्तवमा जीवनलाई सुन्दर बनाउनका लागि धेरै केही गर्न पर्दैन, हाम्रो मनभित्र दुई किसिमका उर्जाहरु हुन्छन् सकारात्मक र नकारात्मक । नकारात्मक उर्जालाई मनको बिकार भनिन्छ। मन भित्रको विकार त्याग गरे पुग्छ । हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छ । त्यही विकार हो, जसले हामीलाई हाँस्न दिदैन । त्यही विकार हो, जसले हामीलाई खुशी हुन दिदैन । त्यही विकार हो, जसले हामीलाई उमंग दिदैन । हामीभित्र जमेर रहेको विकार हो दम्भ, घमण्ड, प्रतिसोध, इर्ष्या, मोह, बासना, लोभ आदि ।
यी कुराहरु नै हाम्रो प्रगतिका बाधक हुन् । जब हामी प्रगतिको कुरा गर्छौं, कसैले बाधा गर्छन् कि भनेर भयभीत हुन्छौं । हामी आफ्ना घर परिवार, आफन्त, छर छिमेकी र समाजका व्यक्तिहरुसँग डराउँछौ । हामीलाई लाग्छ, कतै उनीहरुले मलाई बाधा गर्ने त होइनन् ? तर, बाधा हामीभित्रकै विकार तत्व हुन् । जब विकार त्याग्छौं, दुनियाँमा हाम्रा कोही शत्रु नै हुँदैनन् । दुनियाँमा हाम्रा प्रतिस्पर्धी नै जन्मन सक्दैन । यो मनभित्र भएको विकार यानिकी नकारात्मक उर्जालाई त्याग गर्न त्यति खर्च पनि लाग्दैन सिर्फ थोरै समय आफ्ना लागि दिएर मन परेको काम गरे हुन्छ । गीत गाए पुग्छ । छमछमी नाँचे हुन्छ । झरना, हिमाल र प्रकृतिसँग आत्मालाई केन्द्रित गरे हुन्छ ।
प्रतिक्रिया