कतारले सुरु गर्‍यो विरोधमा उत्रेका श्रमिकलाई देश निकाला गर्न

कतारले सुरु गर्‍यो विरोधमा उत्रेका श्रमिकलाई देश निकाला गर्न



दोहा । कतारले ज्याला नपाएको भन्दै विरोधमा उत्रेका आप्रवासी कामदारलाई देश निकाला गर्न सुरु गरेको छ । मङ्गलवार कम्तीमा ६० जना कामदारलाई देश निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देश निकाला गरिएकामध्ये अधिकांश कामदार नेपाली छन् ।

ज्याला नपाएका श्रमिकहरूले दस दिनअघि निर्माण कम्पनी अल बन्दारी इन्टरनेसनल ग्रुपको दोहास्थित कार्यालयअगाडि विरोध र्‍याली गरेका थिए । तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको भन्दै आक्रोशित भएका थिए ।

तीमध्ये कतिपय कामदारलाई पक्राउ गरिएको थियो भने केहीलाई देश निकाला गरिएको हो । आगामी नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतार कामदारप्रति झन् आक्रामक बन्दै गएको भन्दै मानवअधिकारवादी संस्थाहरूले आपत्ति जनाएका छन् ।

मानवअधिकारवादी संस्था इक्विडेमले नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स र इजिप्टका श्रमिकलाई देश निकाला गरिएको जनाएका छन् । ती श्रमिकहरूले ‘सुरक्षा कानुन तोडेको’ कतार सरकारको दाबी छ ।

कतारले सन् २०१० मा विश्वकप फुटबल आयोजना गर्ने अधिकार पाएपछि रङ्गशालालगायत पूर्वाधार निर्माणको काम तीव्र पारेको थियो । त्यसका लागि ठुलो संख्यामा विदेशी श्रमिक भित्र्याएको कतारले उनीहरूमाथि ‘अमानवीय’ व्यवहार गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

अल बन्दारी इन्टरनेसनल ग्रुप निर्माण तथा इन्जिनियरिङ क्षेत्रको प्रमुख कम्पनी हो । तर अगस्ट १४ मा गरिएको विरोधका क्रममा पक्राउ परेका वा मङ्गलवार देश निकाला गरिएका कामदारहरू विश्वकप आयोजना हुने रङ्गशाला वा अन्य संरचना निर्माणमा संलग्न भएरनभएको भने प्रस्ट छैन ।

कतारी सरकारले दोहामा गरिएको विरोधमा संलग्न केही कामदारलाई ‘जनसुरक्षा कानुन तोडेको’ आरोपमा पक्राउ गरिएको स्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ । तीमध्ये विरोध प्रदर्शनलाई निरन्तरता दिन चाहने केही कामदारलाई देश निकाला गरिने बताइएको हो । तर केही कामदारले कतार छाडिसकेका अधिकारवादी संस्थाहरूले बताएका छन् ।

कतार सरकारले भने मर्कामा परेका कामदारलाई तलब, भत्ता तथा पाउनुपर्ने अन्य सुविधा उपलब्ध गराइने जनाएको छ । यसअघि नै कामदारले दिएको उजुरीपछि अल बन्दारी इन्टरनेसनल ग्रुपमाथि अनुसन्धान भइरहेको कतार सरकारको दाबी छ । तलब भत्ता दिन उक्त कम्पनीलाई दिइएको समयसीमा नाघिसकेकाले कारबाही हुने सरकारको भनाइ छ ।

इक्विडेम संस्थाका प्रमुख मुस्तफा कादरीले विरोधमा उत्रिएका श्रमिकहरू नेपाल, भारत बङ्गलादेश, फिलिपिन्स र इजिप्टका रहेका पुष्टि गर्दै तीमध्ये कतिपय सम्पर्कमा रहेको जनाए । ‘उनीहरूले कुनै राजनीति गरेका थिएनन् । आफ्नो श्रमको ज्याला मागिरहेका थिए,’ उनले भने ।

यसअघि चर्को गर्मीका कारण कतारमा ज्यान गुमाउने श्रमिकको संख्या कतारले कम देखाएको भन्दै आलोचना भएको थियो । विश्व फुटबलको प्रशासक निकाय फिफालाई यसै वर्षको सुरुमा मानवअधिकार हनन बेहोरेका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिका निम्ति कम्तीमा ४४ करोड डलर बराबरको कोष स्थापना गर्न आह्वान गरिएको थियो ।

विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन फिफा र कतारमाथि दबाब जारी छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पीडित आप्रवासी श्रमिकलाई यथाशीघ्र क्षतिपूर्ति दिने संयन्त्र बनाउन आग्रह गर्दै आएको छ ।

तर अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीको दबाबका बाबजुद विश्वकप फुटबल सुरु हुन ३ महिना बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ । सन् २०१० यता कतारमा १ हजार ८ सय ८४ श्रमिकको मृत्यु भइसकेको छ ।