‘छोरीले जन्माएका आमाहरु’ कृति बजारमा

‘छोरीले जन्माएका आमाहरु’ कृति बजारमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपाल बाहिर बसोबास गरिरहेका १२ जना नेपाली छोरीहरुले जन्माएका आमाहरुको जीवन कथा समेटिएको पुस्तक ‘छोरीले जन्माएका आमाहरु’ भदौ २७ गते प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ ।

उक्त पुस्तकमा आमाहरुले जीवनमा भोगेका विविध पक्षबारे प्रस्तुत गरिएको छ । आमाहरुले देखेका, भोगेका र बाँचेको समाजको कथा व्यथालाई उक्त कृतिमा उग्दारित गरिएको छ । बाह्र जना आमाहरुको जीवन कथा यस पुस्तकमा समेटिए पनि पुस्तकले अहिले र पहिलेको समयलाई महिलाले भोगेको सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक विषय र सन्दर्भलाई गहिरोसँग विश्लेषण गरेको छ ।

यो पुस्तक विद्रोही एंव एकल आमाहरुको कथा भएको लेखक तथा अभियन्ता सन्तोष परियारले बताए । उनले भने, ‘अब आमालाई सहनशीलतासँग मात्र सतही व्याख्या गर्नु उचित हुँदैन । आमा विद्रोही चेतका पनि हुन्छन्।’ छोरीले जन्माएको आमाको बारेमा लेखिएको यस पुस्तक भावनात्मक संवेदन मात्र नभई नारीवादको सत्यतालाई पनि गहिरोसँग उजागर गरेको सञ्चारकर्मी तथा वक्ता आरती चटौतले बताइन् ।

यस पुस्तकमा कल्पना तामाङ, कमला न्यौपाने, उमा शर्मा, मीरा बस्नेत, मन्जु थापा, कविता घिमिरे, तनुजा पोखरेल अधिकारी, जानु ओझा, इन्द्र गुरौ, सन्जिता बराइली, निर्मल राई र मोनिका आचार्यको संयुक्त लेखन रहेको छ भने यसलाई अक्षर क्रियसन्सले बजारमा ल्याएको हो ।

अमेरिका बस्दै आउनुभएका १२ जना छोरीहरुद्वारा लिखित पुस्तकमा नेपाली आमाहरुले भोगेका विविध पाटाहरुलाई उद्रित गरिएको छ । यस पुस्तकका बारेमा लेखिका कल्पना भन्छिन्, नेपाली समाजमा आमाहरुले भोग्नुभएका दुःख, पीडा र मर्मलाई पस्किएको छ । यो पुस्तकाे माध्यमबाट सम्पुर्ण आमाहरुको भावनालाई कलमका माध्यमबाट केलाउने जमर्को गरेका छौँ ।