पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद


ग्लोब नेपाल
297
Shares

परासी । बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन् ।

यसैगरी पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरमा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलामा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको बुलिङ्टार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिए ।

यातायात सम्पर्क विच्छेद भएपछि दसैँ मान्न घर गएका फर्किन पाएका छैनन् भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमाद–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

पहाडी क्षेत्र जोड्ने मुख्य बाटोमा ठाउँठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलामा समेत बाढी आएपछि गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने सडक पूर्णरूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामान लैजानसमेत कठिन भएको छ ।

पूर्वी नवलपरासीमा बाढीले ८० घर डुबायो

लगातार वर्षापछि नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोटमा ८० घर डुबाएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

गैँडाकोट–२ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीको टोलीले डुबान क्षेत्रमा रहेका मानिसलाई चौपाया र सरसामानसहित उद्धार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको पाठकले बताए ।

लगातार परेको वर्षापछि नारायणी नदीमा आएको बाढीका कारण जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नारायणी नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा रहेका छन् । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारीमा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।