ओखलढुंगे जनताबाट म कहिल्यै टाढा बसिनँ : रामहरि खतिवडा

ओखलढुंगे जनताबाट म कहिल्यै टाढा बसिनँ : रामहरि खतिवडा



२०७० सालमा संविधान सभा निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित भएका कांग्रेस नेता रामहरि खतिवडा राष्ट्रव्यापी रुपमा कांग्रेसले गर्व गर्नसक्ने छवी बनाएका नेता हुन् । तत्कालिन संसदमा देशको बेथितिबिरुद्ध सुनिएको उनको बुलन्द आवाजले उनलाई देशकै नेताको रुपमा स्थापित गरायो ।

आफू सांसद नै नभए पनि ओखलढुंगाको विकास गर्न भुमिका खेल्नेदेखि भुकम्प, कोरोना भाइरसको महामारी, बाढीपहिरो लगायत ओखलढुंगे जनताको हरेक दुःखमा मलमपट्टि लगाउन अहोरात्र खटिने नेता हुन् खतिवडा । उनको लोकप्रियता ओखलढुंगा जिल्लामा मात्र सीमित नभएर देशव्यापी छ भन्ने प्रमाणित नेपाली कांग्रेसको गत चौधौँ महाधिवेशनमा अत्याधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुले नै गरिसकेको छ ।

कतिपय नेताहरु राजधानी केन्द्रीत भएर राजनीति गरिरहँदा रामहरि चाँहि जिल्लाको दूर गाउँमा पुगिरहेका हुन्थे । शासकीय र राजकीय कुनै पदमा नरहँदा पनि जिल्लाका निर्वाचित सांसदले भन्दा कैयौं गुणा बढी जिल्लाको लागि खटेर काम गरेका छन् । युवाहरुलाई अवसर दिलाईदिएका छन् । विकास योजना कार्यान्वयन गरेका छन् ।

ओखलढुंगाको समग्र विकास गर्ने एकमात्र अर्जुनदृष्टि लिएर हिडेका, ओखलढुंगे जनताले आपतविपतका सारथी मानेका उनै रामहरि खतिवडालाई कांग्रेसले ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्यको लागि टिकट दिएर पठाएको छ । यसै सन्दर्भमा ग्लोब नेपालका सम्पादक भानु दाहालले सोधेका थिए, तपाईँलाई ओखलढुंगे जनताले किन भोट दिने ? जवाफ उनकै शब्दमा–

म २०७० सालमा संविधान सभाका लागि निर्वाचित हुनुभन्दा अगाडि ओखलढुंगाको सुनकोशी नदिमा एउटा डुंगा दुर्घटना भयो । त्यतिबेला पुल थिएन, डुंगाबाट मान्छे तार्नुपथ्र्यो । दशैंको टीकाको भोलिपल्ट लगभग सात जना मान्छे हराए । म निर्वाचित भएको एक वर्षभित्रै १२ वर्षसम्म नबनेको त्यो पुल निर्माण गरें । म मंसिरमा निर्वाचित भएँ, पुसमा पुलको उद्घाटन गरें । यो एउटा छोटो समयको ठूलो उपलब्धी थियो ।

यही पुलबाट ओखलढुंगा, सोलु, खोटाङ, काठमाडौं र तराई जोडिन पुग्यो । बाटो धुलाम्मे थियो, पिच थिएन । ओखलढुंगा र सोलुसम्म आज पिच बाटोले जोडिएको छ । मोलुङ एकवारमा बाटोको प्रारम्भ भयो, अहिलेसम्म जस्ताको त्यस्तै रह्यो । हामीले सुशील कोइराला प्रधानमन्त्री हुँदा विनियोजन गरेको २०७० सालको रकमबाहेक थप केही भएन । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ३६ करोड रुपैयाँ विनियोजन गरेर फेरि त्यो बाटोलाई बनाउने कामको सुरुवात गरिएको छ ।

दूधकोशी एकवार बाटो प्रारम्भ गरियो, यो बाटो जयरामघाटदेखि रबुँवासम्म पुग्ने गरी बनाइदैछ । यसका लागि ४५ करोड रुपैयाँ छुटाइएको छ । यसभन्दा अघि पाँच वर्षसम्म जस्ताको त्यस्तै रह्यो । त्यसपछि लिखु एकवारको बाटो प्रारम्भ गरियो । त्यो आजसम्म जोड्न सकिएको छैन । नवलपुरको पुल आफैले शिलन्यास गरेको थिएँ, त्यो निर्माण सम्पन्न भयो । अहिले साँघुटार–घोराखोरी–ओखलढुंगा सदरमुकामसम्म बाटो पिच गर्नका लागि ७५ करोड रुपैयाँ विनियोजन भएको छ, त्यो आजसम्म जस्ताको त्यस्तै रह्यो ।

सम्पूर्ण गाउँमा विजुली पुग्न सकेको छैन । दुधकोशी डाइभर्सन परियोजना छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङवासीले यसलाई स्वर्ण परियोजनाका रुपमा हेरेका छन् । ६ सय ३५ मेगावटको विद्युत परियोजना प्रारम्भ भएको छ । यसका लागि ३ सय ३३ अर्ब रुपैयाँ लाग्ने यो परियोजनाको डिपिआर बन्ने तयारीमा छ । यो परियोजनाको खाका धेरै पहिला प्रारम्भ गरिएको थियो ।

समृद्ध ओखलढुंगा, सम्मुन्त ओखलढुंगा र विकसित ओखलढुंगा बनाउनको लागि आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा मेरो उम्मेदवारी छ । हामीले सुरुवात गरेका अधुरा परियोजना पूरा गर्ने लक्ष्य छ ।

सुनकोशीमा पुल मात्र बनेको होइन, अहिले मोलुङ खोलामा धेरै पुलहरु बनेका छन् । ओखलढुंगा–रामपुर बाटो पिच भएको छ । ओखलढुंगा–रुम्जाटार बाटो पिच भएको छ । पुननिर्माण प्राधिकरणको पैसाले यी कामहरु भए । ओखलढुंगालाई भूकम्प प्रभावित जिल्ला घोषणा नगरेको भए त्यो पनि सम्भव थिएन ।

ओखलढुंगा भूकम्पग्रस्त जिल्ला घोषणा भएपछि हामीले धेरैवटा वडामा १० देखि १२ करोड रुपैयाँ खर्च गरेर भवनहरु बनाएका छौँ । यसले गाउँमा धेरै उपलब्धी भएको छ । सरसर्ती हेर्दा ओखलढुंगाको इज्जत राख्ने काम हामीले गरेका छौं ।

कोरोना कालमा अरु साथीहरुले के गरे सबैलाई थाहा होला, मैले ७५ वटै वडामा लाखौं साबुन, मास्क र सेनिटाइजर वितरण गरें । सबै ठाउँमा पुगें । निर्वाचित भएकाहरुले तीन हजार लैजान्थे, मैले दशौं लाख मास्क बोकेर जिल्लाभर पुगेको थिएँ ।

त्यत्ति मात्र होइन, ओखलढुंगामा कोही विरामी भए भने हेलिकोप्टर चाहियो भनेर फोन आउँछ । कोही अस्पतालमा हुन्छन्, भेट्न आइज भन्छन् । विवाह ब्रतबन्धमा अप्ठ्यारो पर्छ, मलाई नै बोलाउँछन् । मरुमराउ पर्छ, अप्ठयारो हुन्छ, रामहरि खतिवडाकैमा आउँछन् । सुत्केरीहरुलाई अप्ठ्यारो पर्छ रामहरि खतिवडाकैमा आउँछन् । राति १ बजे पनि सबैको फोन मैले उठाउने गर्छु । कसैको कल मिस गर्दिन् ।

जित्दा होस् वा हार्दा होस् म कहिले पनि जनताबाट टाढा बसिनँ । अप्ठ्यारो पर्दा पनि जनताकै साथमा रहें । विद्यालयमा खेलकुदको कार्यक्रम हुँदा पनि म त्यही हुन्थें । जनतालाई अप्ठ्यारो परेको कार्यक्रम छ भने पनि म त्यही पुग्थें । कुनै अस्पताललाई एक्सरे मेसिन चाहियो भने आवाज उठाउन मै पुग्थें । मसँग केवल माननीयको लोगो थिएन, जनताको माया मसँग थियो ।

यी कार्यहरु हेर्दा ओखलढुंगे जनताले अरुलाई सम्झिन्छन् जस्तो मलाई लागेको छैन । र, म यो कुरामा खुशी छु, ओखलढुंगाको विकासमा मैले छोटो समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको थिएँ, त्यसलाई पूरा गर्ने अवसर यो पटक ओखलढुंगावासीले दिने विश्वास मैले लिएको छु ।

समृद्ध ओखलढुंगा, सम्मुन्त ओखलढुंगा र विकसित ओखलढुंगा बनाउनको लागि आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा मेरो उम्मेदवारी छ । हामीले सुरुवात गरेका अधुरा परियोजना पूरा गर्ने लक्ष्य छ । श्रद्धय नेता बलबहादुर राईले सुरुवात गरेका यी बाटोहरु पूरा गर्नुछ ।

२०४८ सालपछि कांग्रेस एकताबद्ध थियो, ०५१ मा ओखलढुंगा कांग्रेसमा विद्रोह भयो । ०५६ मा पनि त्यस्तै भयो । ०६४ मा पनि विद्रोह भयो । ०७० र ०७४ मा पनि विद्रोह भयो । अहिले एकताबद्ध भएर कांग्रेस चुनावमा होमिएको छ । एक्लो कांग्रेसको मत एमालेबिरुद्ध भारी छ । कांग्रेसको गठबन्धन माओवादी केन्द्रसँग भएको छ । माओवादी पनि एकीकृत रुपमा कांग्रेसमा आउने सम्भावना छ । एमालेसँग असन्तुष्ट मत पनि छ । यी कांग्रेसले जित्ने यथेष्ट आधारहरु हुन् ।

व्यक्तिगत रुपमा कसैलाई गाली गर्ने, कसलाई हतोत्साही बनाउने र कसैलाई अप्ठ्यारो बनाउने, कुनै पार्टी र नेताको आलोचना गर्ने मेरो उद्देश्य छैन । गर्व गर्न लायक ओखलढुंगे नागरिक निर्माण गर्ने मेरो उद्देश्य हो । सिद्धिचरण श्रेष्ठ, ब्याकुल माइला र बलबहादुर राईले चिनाएको यो जिल्ला साँच्चै सुन्दर रहेछ भन्ने बनाउने लक्ष्य लिएर मैले उम्मेदवारी दिएको छु । मलाई विश्वास छ, ओखलढुंगे जनताले मंसिर ४ गते रुख चिन्हमा मतदान गरी मलाई विजयी बनाउने छन् । मैले अत्याधिक मतले जित्ने आशा र भरोसा राखेको छु ।