महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिका–८, पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।
पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले जानकारी दिए । जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको छ।
घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ । त्यस्तै घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कानुनी प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।
पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ ।
प्रतिक्रिया