मतदाताः नचुकौं, नबिकौं र नझुकौं

मतदाताः नचुकौं, नबिकौं र नझुकौं



नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहालको अस्थिर चरित्रका बारेमा जानकार मानिसहरु नेपाली कांग्रेसलगायतका दलहरुसँग रहेको गठबन्धनप्रति निर्वाचन परिणामपश्चात् दाहाल इमान्दार हुँदैनन भन्ने विश्लेषण गर्न थालेका छन् । २०७४ को निर्वाचनम काठमाडौंलाई सत्तामा नै बसेर धोका दिएका दाहालले डबल नेकपा बनाएपछि दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार बचाउन सकेनन् । विघटन र पुस्र्थापनाको लुकामारीपश्चात शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनी हारगुहार गरेको तथा चितवनबाट घर नै नपसी देउवाको निवासमा पुगेर लड्डु खुवाएको स्मरण गर्नेहरु यो निर्वाचनपश्चात् पनि दाहाल लड्डु खुवाउन कहाँ पुग्छन्, यसै भन्न नसकिने पत्यारिलो आधार पेस गर्छन् । वैचारिक रुपमा कांग्रेसका कार्यकर्ताहरु माओवादीलाई मतदान गर्न धेरै असजिलो महसुस गरिरहेको देखिन्छ । संगठनमा लामो समय बिताएका, जेलनेल, प्रवास र काराबासको सजाय भोगेका कांग्रेसीहरु वैचारिक दृष्टिमा कम्युनिष्टहरुलाई विश्वास गर्न सक्दैनन् । त्यस अतिरिक्त माओवादीको कथित जनयुद्धमा मारिएका र अंगभंग भएको परिवार गम्भीर असन्तुष्टि प्रकट गरिरहेको छ ।

सत्तामा पुग्न आतुर, सत्ता केन्द्रित र स्वार्थोन्मुख समूहबाहेक गठबन्धन पचाउन सक्ने मनस्थितिमा देखिँदैनन । इमान्दार र निष्ठावान कार्यकर्ताको भाग खोसेर स्वार्थी, अवसरवादी तथा व्यापारी ठेकेदार र डनहरुलाई पुरस्कृत गरेको पार्टीभित्रको स्वार्थी सत्ता केन्द्रित भागवण्डा गरेर आफूलाई सुरक्षित गर्ने गिरोह मात्र गठबन्धनको कारण सुरक्षित महसुस गरिरहेको छ । पाँच दलीय गठबन्धन हुँदा कसो चुनाव नजितिएला र भनेर पार्टीका त्यागी, इमान्दार र योग्य व्यक्तिहरुको खोजीसमेत गरिरहेको छैन । सकभर बुझेको र जानेको पार्टीको नेता, कार्यकर्ताले केही नबोली दिए हुन्थ्यो भन्ने अव्यक्त धारणा बोकेर आफ्नो ‘प्रभाव’ र ‘रवाफ’ देखाइरहेको छ । यस्तो प्रवत्ति जबसम्म पार्टीभित्र प्रभावशाली हुन्छ, त्यत्ति बेलासम्म संगठन, लोकतन्त्र र सामाजिक न्यायका कुरा नारामा मात्र सीमित रहन्छ ।

२०७९ मंसिर ४ को निर्वाचनले दिने परिणामबाट खासै उत्साहित हुने र आशा गर्ने अवस्था छैन । निर्वाचनमा जनताको उत्साह पनि छैन । मतदाताहरुको सकरात्मक प्रतिक्रिया पाउनै सकिएको छैन । निर्वाचनमा होमिएका उम्मेदवारबाट कुनै आशा, भरोसा र अपेक्षा नै छैन । निर्वाचन एउटा पर्वको रुपमा स्वीकार गर्नुपर्ने आम मतदाताहरु निरासाका शब्दहरु खर्चिरहेका छन् । बाध्यात्मक रुपमा मतदान गर्नुपर्ने अवस्था आइलागेको अभिव्यक्ति निश्चय नै हामीले अभ्यास गरेको प्रणालीका लागि सुखद् होइन । राजनीतिमा आकर्षित भएका व्यक्तिहरु विद्यालय वा विश्वविद्यालयको औपचारिक अनुभव नभएका धेरै देखिन्छ । अन्य कुनै विकल्प नभएपछि राजनीतिकमा लागेका, बद्मासीका केही अनुभवहरु भएका तथा लुटपाट, ठगठाग र डाङडूङमा संलग्न व्यक्तिहरु नेतृत्वको रोजाइ र छनोटमा देखिन्छ ।

देश, जनता र शासन प्रणालीप्रति पनि इमान्दार नहुने, आफ्नो स्वार्थ र आर्जनका निम्ति कुनै पनि मूल्य चुकाउन तयार हुने जमातको बाहुल्यताले कस्तो स्थिरता र समृद्धि ल्याउला ? सत्ताको लडाइ र भागवण्डाको राजनीति संस्थागत हुने आगामी चित्र देखेर अहिले नै वितृष्णा पैदा हुन्छ ।

देशमा नै केही गरौं भन्ने योग्य र सक्षम व्यक्तिलाई भूमिकाविहिन बनाएर पलायन गराउने शैलीको शासन व्यवस्था बन्दै गएको देखिन्छ । थोरै असहमति राख्ने, राय बुझाउने र फरक ढंगले सोच्ने व्यक्ति नेतृत्वको नजरमा अनुपयुक्त ठहरिएको छ । उसलाई पार्टीभित्र, बाहिर र स्वार्थ समूहबाट सुरुवातमा नै बाहिर निकालिन्छ । भूमिकाविहिन बनाइन्छ । केही गरौं भन्ने भावनाले आफ्ना अन्य अनगिन्ती सम्भावनाहरु त्यागेर, कति थाति राखेर राजनीतिक मैदानमा उत्रिएका त्यस्ता व्यक्ति अन्ततः अन्य विकल्प रोज्न र खोज्न बाध्य हुन्छ । तलदेखि माथिसम्मको पार्टीको संरचना हेर्दा लाग्छ कि यही प्रणाली चल्यो भने आगामी ५–७ वर्षमा यी मूलधारका पार्टीहरुमा व्यापारी, ठेकेदार, डन, विचौलिया, तस्कर र त्यसकै संरक्षणका खातिर पालिएका सेवक मात्र रहने छन् ।

एकाध ठाउँमा गठबन्धनका उम्मेदवारहरुले यो गठबन्धन सत्ताका लागि होइन, संविधान र समृद्धिका निम्ति हो भन्ने जिकिर लिएको देखिन्छ । यदि त्यसो हो भने वैचारिक विभिन्नता भएका दलहरुले स्वच्छ प्रतिस्पर्धा गरेर आएको परिणाम पश्चात सरकार बनाएर त्यो उदाहरण पेस गरेको भए के हुन्थ्यो ? त्यसले संविधान र समृद्धिलाई कहाँ अवरोध गथ्र्यो ? पाँच दलीय गठबन्धनभित्रका दल र यसको नेतृत्व पात्र र प्रवृत्ति देखेर नै मानिसलाई जागर मरेर आउँछ । यिनीहरुलाई निर्वाचत गराएर आउने समृद्धि स्वभाविक रुपमा अनुमान लगाउन सकिन्छ । देश, जनता र शासन प्रणालीप्रति पनि इमान्दार नहुने, आफ्नो स्वार्थ र आर्जनका निम्ति कुनै पनि मूल्य चुकाउन तयार हुने जमातको बाहुल्यताले कस्तो स्थिरता र समृद्धि ल्याउला ? सत्ताको लडाइ र भागवण्डाको राजनीति संस्थागत हुने आगामी चित्र देखेर अहिले नै वितृष्णा पैदा हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखको भागवण्डामा नै यिनीहरुले बाह्र बजाउँछन् । त्यसपछि मन्त्री, मन्त्रालय, प्रदेश सरकार, प्रदेश प्रमुख हुँदै राज्यका अन्य निकायहरुमा गरिने नियुक्तिमा यिनीहरुको दन्तबजानले वातावरणलाई नै प्रदूषित बनाउने छ । अन्त्यमा भागवण्डा, लेनदेन र स्वार्थकै कारण समीकरण भत्कने र बन्ने क्रमले निरन्तरता पाइ शासन व्यवस्थाप्रति नै चरम आक्रोस र असन्तुष्टिको अवस्था आउने छ ।

तर, पनि हामीसँग अर्को भरपर्दो विकल्प छैन । त्यही प्रक्रियामा सामेल हुनुपर्ने बाध्यता छ । यो वा त्यो नभनी तुलनात्मक रुपले योग्य, सक्षम, इमान्दार र खराब मध्यको कम खराब नै चयन गर्नु मतदाताको परम कर्तव्य हुनेछ । अहिले गलत निर्णय भएमा सामान्यतया पाँच वर्षसम्म हामी वान्छित हुन्छौं । अर्को छनोट गर्न सकिँदैन, त्यसलाई प्रतिस्थापन गर्ने सुविधा छैन । सोच विचार गरेर थोरै नै भए पनि देश विकासमा दृष्टिकोण भएको, राजनीतिभन्दा अर्को क्षेत्रमा समेत क्रियाशील हुनसक्ने, राजनीतिलाई व्यवसाय नबनाएको राम्रो मान्छे निर्वाचित गराउने जिम्मेवारी पूरा गरौं ।