मौन अभिव्यक्ति

मौन अभिव्यक्ति



मन नभएको बेला लेख्नु जस्तो गाह्रो केही छैन । जस्तै अभ्यस्त भए पनि कुरा आउँदैन र लेख्न भनेको कुरा एक अदृश्य अनुहारसँग कुरा गर्ने भनेको त हो नि ! थाहा छैन, अरू कसरी लेख्छन्, मचाहिँ एक विशेष पाठकको कल्पना गर्छु । (सायद त्यो म आफैँ पनि हुन सक्छु !) र त्यस पाठकको ज्ञान म लेखकको भन्दा बढी भएको अनुभव गर्छु (त्यसकारण त्यो पाठक म नहुन पनि सक्छु !) अनि म निर्धक्क लेख्न थाल्छु, उसले नबुझ्ला भन्ने शङ्का मलाई हुँदैन । कारण, नबुझेको कुरा अरूलाई बुझाउने रोगले मलाई अझ छोएको छैन ।

अँ, त लेख्तालेख्ता आजकल अलि वाक्क पनि लाग्न थाल्यो-लेख्ने कुराले होइन, लेखनबीचका कुराले, अझै स्पष्ट भन्ने हो भने नलेखिने कुराले । स्टेट्सम्यानमा हालै प्रकाशित एक लेखमा बहुतै मीठो पङ्क्ति छ; लेखिएको छ- भाषाको आविष्कार भाव छिपाउन भएझैँ, बजेटको निर्माण सूचना लुकाउन भएजस्तो छ । पढ्दैपढ्दै म टक्क अडिएँ । भाषाको आविष्कार भाव छिपाउन भयो ? मनन गर्न थालेँ, यसमा कत्तिको सत्य छ !…भाषाहीन समाज वा परिवारको अभिव्यक्ति कस्तो हुन सक्थ्यो, त्यो परिकल्पना गर्नासाथ कुरा बुझिन्छ ।

भोक लाग्यो, खोस्यो-खायो, रिस उठ्यो, पिट्यो-मार्यो । मनुष्यका भावनाहरूको मौलिक क्रियात्मक प्रदर्शनलाई चिन्तनले ढिला पार्‍यो र भाषाले झूट बोल्न सिकायो वा भनौँ आफैँलाई छल्न । भोक लाग्ने बेलामा समेत खोस्न ‘नहुने’ नियम नै भाषाको अभिव्यक्ति थियो । सायद यही प्राथमिक सिद्धान्तको परम्परागत असर आजसम्म पनि विद्यमान छ- ईश्वरको आकार व्यक्त गर्न हामीलाई ‘निराकार’ शब्द चाहिन्छ, रूप व्यक्त गर्न ‘अरूप’ । मनमा अभिव्यक्ति दर्शाउन दुई आयामे शब्द र चिह्न वा ध्वनि । दुईवटा वस्तुका माध्यममै आयामिक पृथकता छ भने एउटाले अर्काको प्रतिनिधित्व कसरी गर्न सक्छ ? लेखन वा चित्रण वा रोदन-गायन र पूणर् अनुभवको एक आंशिक अयथार्थ अभिव्यक्ति मात्र सियोले घोच्ता भएको दर्द र मुङ्ग्रोले औँला हिर्काउँदा भएको दर्दको हाम्रो प्राथमिक प्रतिक्रियाको शब्द एउटै छ-‘ऐय्या’ ।

तर दुई दर्दबीचको तीव्रता दुवैमा प्रकट हुँदैन । अनि हामी उपमा खोज्न प्रयास गर्छौं । विश्लेषणको अनुभव गर्छौं तर वास्तवमा फन्को मात्र मारिरहेका हुन्छौँ । फन्कोको अन्त्य हुन्छ, मान्यता प्रदान गरेपछि । ‘कमिलाले टोकेजस्तो च्वास्स सियो बिझ्यो’बाट त्यस दर्दको तीब्रता तौलियो : कमिलाको टोकाइ नबुझुन्जेल र त्यसलाई स्वीकार नगरुन्जेल सियोको घोचाइको ‘ऐय्या’ बुझ्न हामी सक्तैनौँ । तापनि रौँचिरा कुरा गर्ने हो भने, त्यो मान्यता स्वयम् यथार्थबाट कत्ति फरक छ । यथार्थ त एक भिन्न भावको परवेशमा मात्र व्यक्त भयो । यसैले होला भनिएको-“भाषाको आविष्कार भाव छिपाउन भयो ।”

लगत्तै मैले अघि एक अर्को प्रश्न गरेको थिएँ-यसमा कत्तिको सत्य छ ? अब, यसउपर विचार गरौँ । त आजसम्म रचिएका धर्मग्रन्थ, दर्शन र अनेक ऋषिवाणी के त अयाथार्थिक अभिव्यक्ति हुन् ? र, तिनलाई हामीले प्रदान गरिदिएको मान्यताकै आधारमा ती टिकेका छन् ? उनको रौंचिरे अध्ययन गर्न हामीले ती मान्यतालाई पन्छाइदियौँ भने तिनको अस्तित्त्व कस्तो रहन जानेछ ? के यसै कारणले गर्दा हो त, एकपछि अर्को धर्म निस्केर पनि कुनैले परिपूणर्ता ग्रहण गर्न नसकेको ? के यही कारण हो त एकपछि अर्को महान् उक्तहरू निस्केर पनि जनभावनालाई तिनले पूणर्तया उत्प्रेरित गर्न नसकेका ? अथवा, तिनलाई निर्माण गरिंदाको तिनको मान्यताको मूल्य समय-समयमा अवमूल्यन हुन जान्छ ? जीवन र रचना ज्यादै नगिच हुन्छन् : एकको प्रभाव अर्काउपर परिरहेको हुन्छ । जीवनका असङ्ख्य पक्षले पारिरहेका प्रभावलाई व्यक्त गर्न चित्रकलाले यदि ननफिगरेटिभ अभिव्यक्ति खोज्यो, के त यसै गरी साहित्यले पनि शब्दहीन अभिव्यक्ति खोज्ला ?

(एउटा वैज्ञानिक गल्पमा सुदूर भविष्यको पृथ्वीको जन-जीवन चित्रण, गरेको पढेको थिएँ । मानव-मस्तिष्क पूर्ण विकसित भएको त्यस परिस्थितिमा व्यक्ति-व्यक्तिबीच मौन वार्तालाप हुन्थ्यो । मस्तिष्क-तरङ्गलाई सोझै अनुभूतिमा बदल्न ती समर्थ थिए । र हाम्रा युगका साहित्य-कृतिहरूको रसास्वादन प्राचीन कृति भनी ती इन्जेक्सन लिएर गर्थे, भनौँ, रोमियो जुलियट नाटकको एक इन्जेक्सन-कारण त्यसको रचना नै शब्दका ध्वनिबाट भएको छ र त्यसलाई उनीहरू स्पन्दन तरङ्गमा मात्र परिणत गर्न सक्थे !)

सम्भव छ, त्यसकाण, यस्तो पनि पढ्ने शैली मानव-मस्तिष्कले खोजी निकाल्ला, जसद्वारा देखमा नलेखिएका कुरा बुझ्न सकियोस् अथवा भन्न सकियोस्-फलानो कविले फलानोबारे किन लेखेन !

(यस सन्दर्भमा नभनेको कुरा बुझ्ने त्यस विकसित युगका लागि भन्न चाहेको कुरा पनि भन्न नसक्ने हामी लेखक कस्ता पाषाण-युगका बनौँला, म आज परिकल्पना पनि गर्न सक्तिनँ । र, मलाई एक अनौठो लाज लाग्छ, यस्तो लाज जसलाई व्यक्त गर्न मसँग शब्द छैन । र, सायद शब्द नपाएर त्यसलाई अव्यक्त नै रहन दिएर त्यसको यथार्थ रूप व्यक्त गर्न म सफल भएँ कि !)

यस मौन अभिव्यक्तिको के केही अर्थ छ ? मभन्दा सभ्य पाठकको जुन रूप छ मेरो अगाडि, त्यसको अनुहारमा समेत जिज्ञासा उम्रेको तर समाधान नपाएको भाव म देखिरहेछु ।

(यति लेखी मात्र के सकेको थिएँ, लेखन-प्रवाहमा एक बाधा आयो, टेलिफोनको ध्वनिमा । उठेँ, गएँ, कुरा गरेँ । रङ नम्बरको छोटो प्रेमालापपछि मलाई प्रवाह पक्रिन लेखिसकेको कुरा सारा फेरि दोहोर्‍याउनुपर्‍यो । दोहोर्‍याएँ र हाँसो उठ्यो ।)

हाँसो केमा उठ्यो भने मेरो समस्याको प्रस्तुतीकरण त समाधानबाट नै उत्पन्न भएको रहेछ । भनौँ न, जसरी व्यक्त गर्नु छोप्नु हो, उसरी नै छोप्नु पनि त व्यक्त गर्नु हो । मिनी, मोड र म्याक्सी पोसाकमा समेत त्यही लागू हुन्छ । फरक त हेरिदिने आँखा आफ्नो अधिग्रहण शक्ति तथा मनस्थितिउपर छ; उपनिषद्मा बारबार चर्चा हुने सर्प-रज्जुको दृष्टान्तझैँ ।

(मैले यो लेखिरहेको कुरालाई अनेकले अनेक अर्थ लगाउने स्पष्ट छ ; संसारका सारा व्यक्ति पढे पनि, एउटाको वास्तविक अर्थ अर्कोसँग अलि-न-अलि मात्रामा फरक खानेछ नै । यो उनको आफ्नो वैयक्तिक चरित्रको विशेषता हो, मेरो केही छैन त्यसमा । म त एउटा खसी थिएँ, मरिदिएँ, टुक्रिएँ, अनेक घर पुगिदिएँ ः कवाब वा भुटुवा वा रस वा लेदो जे स्वाद आउँछ, खानेलाई- यो त्यसको फ्रिज, प्रेसरकुकर, कसौँडी, ताप्के, मकल र पकाउने प्रकियामा भर परेको छ ।)

हाँसो मलाई उठेको कारण यही हो; मैले आफूलाई व्यक्त गर्न आखिरमा चारखुट्टे जनावरको भर लिनुपर्‍यो र त्यो पनि मांसाहारी परिकारको स्वादको माध्यमको । निरामिषका लागि मेरो यो सारा उदाहरण खेर गएन र ? यसरी, मैले आफूलाई व्यक्त गर्नुसट्टा आफूलाई छोपी पो रहेको रहेछु ।

यत्ति सारा लेखेर मैले जेजति व्यक्त गरेँ, त्यसभन्दा बढी त लेख्न नसकेर पो व्यक्त गरेको रहेछु ! क्या हास्यास्पद परिस्थिति ?

म पाठकतिर हेर्छु । उसको अनुहारमा पनि हाँसो फुट्न खोजिरहेछ । अब…सिर्फ मौन वन्दना !

(साभार : ‘गौँथलीको गुँड’ पुस्तकबाट)