नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको परिणाम र आसन्न सत्ता समीकरणको विषयलाई लिएर यतिखेर विभिन्न कोणबाट अनेकौं अड्कलबाजीहरू भैरहेको छ। अब देशको प्रधानमन्त्री को बन्ने, कुन दलको बन्ने, चुनाव अघिको गठबन्धनको भविष्य के हुने भन्नेबारे आ-आफ्ना राजनीतिक लगाव, आस्था, आग्रह र बौद्धिक गच्छे अनुसारको राय, टिप्पणी र आँकलन सामाजिक सञ्जाल, मूलधारको प्रेस र छेउ किनाराका वेभ पोर्टलहरूमा छरपस्ट पढ्न पाइन्छ। तर मेरो बुझाईमा यो निर्वाचनले प्रष्ट रूपमा दुई मूल सन्देश दिएको छ:
१. नेपालमा बाम गठबन्धन वा जवरजस्त बहुमतको वाम सरकार अस्वीकार्य छ।
२. राजनीतिक नेतृत्व तहमा तुरुन्त पुस्तान्तरण गर। (नत्र स्थानीय तहको निर्वाचनमा शहरी क्षेत्रमा देखिएको लठ्ठी विद्रोह र प्रतिनिधिसभाको निर्वाचनमा देखिएको सशक्त घण्टी अभियान (विद्रोह)को देशव्यापी असर तथा फैलावटको सामना गर्न तयार होउ।)
यो चुनावको नतिजाले सत्ताधारी गठबन्धनको नेतृत्व र नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कठिन जाँच उत्तीर्ण हुनैपर्ने परीक्षार्थीको स्थितिमा पुर्याइदिएको छ। राजनीतिक पुस्तान्तरणको माग र दवाब तीब्र बनिरहँदा युवा पुस्ताका यी महामन्त्रीद्वय एकै लाईनमा उभिएका त छन् तर उनीहरूले आफ्नै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको व्यवस्थापनको सूत्र फेला नपारे यो परीक्षामा यी दुवै युवानेता जनताको नजरमा अनुत्तीर्ण ठहरिनेछन्।
आम चुनाव अघि गठबन्धनको तिकडम गरेर संसदीय सीट जितेपनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपाल तीनैजनालाई जनताले रूचाएका छैनन्। यतिखेर नेपाली कांग्रेस पार्टीबाट प्रधानमन्त्रीको पदको प्रमुख दावेदार गगन थापाले सन् १९९० को दशकको मध्यतिर बेलायतमा टोनी ब्लेयरले सामना गरेकै जस्तो अग्नीपरीक्षाको सामना गरिरहेका छन्।
टोनी ब्लेयरले दलभित्रका परम्परागत कट्टरपन्थी पुराना लेवर नेताहरूलाई पार्टीको अधिवेशनबाट विदा गरेर दलको नेतृत्व गर्दै उनको दललाई न्यू लेवरको रुपमा ब्राण्डिङ गरेर चुनावमा होमिएका थिए। त्यसबेला लगातार १८ बर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारबाट वाक्क भएका मध्यमार्गी मतदाताको समर्थनसहित उनको दलका वरिष्ठ नेताहरूको समेत साथ लिएर टोनी ब्लेयर प्रधानमन्त्री चुनिएका थिए। ज्याक स्ट्र, फ्यांक डब्सन, डेभिड ब्लंकेट र क्लेयर सट जस्ता पुराना लेबर हेभिवेटको समर्थनसहित पिटर म्याण्डेलसन र गोर्डन ब्राउनको अत्यन्त निकट साथ र सहयोग पाएर टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री चुनिन र लामो समयसम्म सो पदमा बसिरहन सफल भएका थिए।
तर महामन्त्री थापा आफू महामन्त्री पदमा चुनिएपनि उनले दलको सभापतिमा आफूले चाहेको व्यक्तिलाई निर्वाचित गराउन सकेनन्। न त महामन्त्री चुनिएपछि भोलीका लागि वरिष्ठ नेताहरू संलग्न टिम बनाउन पहल नै गरेको देखियो। आफू चुनिए भैगो भन्ने उनको साँघुरो सोचका कारण पार्टी सभापति शेरबहादुर देउवा लगायत सो दलका बरिष्ठ नेताहरूको व्यवस्थापन गर्न महामन्त्री थापाको लागि पेचिलो स्थिति बनिरहेको छ। युवा नेताहरूबाट पनि विश्वप्रकाश बाहेक अरुबाट उनले खुल्ला समर्थन पाएको देखिन्न। समानुपातिक सिटको बाँडफाँडसहित चुनावको अन्तिम नतिजा आउन अब धेरै समय बाँकी नरहँदा नेपाली कांग्रेसले जति छिटो संसदीय दलको नेतृत्व चयन गर्छ त्यति नै छिटो आगामी सरकारको नेतृत्व कसले गर्छ भन्ने कुराको टुंगो लाग्नेछ। कुनैपनि दलको स्पष्ट बहुमत नरहेको यस स्थितिमा जनमतमा निम्छरो बनेको नेकपा माओवादीका नेता प्रचण्डको महत्वाकांक्षालाई घटाउन प्रदेश तहमा लाभ दिएर संघीय सरकारमा समर्थन लिन सक्नुमा नै महामन्त्री थापा र शर्माको शक्ति र सामर्थ्य झल्किनेछ।
राष्ट्रपति पदमा देउवाको व्यवस्थापन, विधायिकाको दुवै सदनका प्रमूख, उपप्रमूखसहित संसदीय समितिहरूमा विभिन्न दलका सांसदहरूको व्यवस्थापन र क्याविनेट पदहरूमा गठबन्धनका बरिष्ठ नेताहरू लगेर उनीहरूको साथ सहयोग जुटाउन सक्नुमा नै युवा नेताको सही क्षमता प्रदर्शित हुनेछ। गगन र उनको सिकारू तथा अक्सर साँघुरो टीमको वास्तविक परीक्षा शुरू भैसकेको छ।
(बीबीसी नेपाली सेवाका भूतपूर्व पत्रकार अर्यालको फेसबुक वालबाट साभार)
प्रतिक्रिया