सम्झनामा रामनगर र किसुनजी

सम्झनामा रामनगर र किसुनजी



वि.सं. १८३९ मा गोरखाले तनहुँ राज्यमा आक्रमण गरेर पराजित गरेपछि तनहुँका तत्कालीन राजा हरकुमारदत्त सेन भागेर रामनगर गए । बिहार राज्यको पश्चिमी चम्पारणमा पर्ने रामनगर त्यसबेला राजपुरको मुख्य शहर थियो । सेन राजाहरूले मुगल बादशाहलाई खुशी बनाएर भोगचलन गर्न पाएकाले राजपुर तनहुँ राज्यको अङ्गका रूपमा रहिआएको थियो ।

हरदत्त सेनबाट शुरु भएको नेपाली राजाहरुको ईतिहासले अनेक आरोह अवरोहहरु पार गर्‍यो | निःसन्तान राजाहरुपछि को उत्तराधिकारी हुने भन्ने बिवाद, बिग्रह, शाही षड्यन्त्रहरुलाई चिर्दै सेनबंशका प्रह्लाद सेन रामनगरको गद्दीमा बसे र आफ्नी एक मात्र जीवित सन्तान छोरी बोधकुमारीको विवाह श्री ५ राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मीतर्फका कान्छा छोरा वीरेन्द्रविक्रमसँग गरिदिएका थिए। गोरखाका शाहहरुको प्रभाव र दवाबले अन्तत: तनहुँको सेनबंशले तिनैलाई ज्वाँई बनाएर रामनगरको राजगद्दीमा शाहहरुलाई उत्तराधिकारी छोडेर गयो | मोहन बिक्रम शाह,रानी क्षत्रकुमारी हुँदै त्यो पुरानो साख, नभए पनि धनन्जय बिक्रम ,संजय बिक्रम शाहहरु यध्यपि राजाको रुपमा चिनिन्छन् ।

बिभिन्न समयमा सेनहरुको गोर्खालीहरुसँग सम्बन्ध बन्दै, बिग्रदै जाँदा बिहाबारी चल्दै जाँदा नेपालीहरुको आवतजावत पनि स्वाभाविक थियो । पौडेलहरु फौजदारको पदवी लिएर पुगेका थिए, खनालहरु काजीको रुपमा गएका थिए । तिनका सन्तान अझै रामनगरमा भेटिन्छन् ।

किसुनजीको पुर्खा त्यही क्रममा रामनगर पुगेको थियो पुरोहितको रुपमा ।

किसुनजी जन्मिएको, हुर्किएको ठाउँ, नोना कोइरालाको माइती गाउँ र अभिनेत्री मनिषा कोइराला र मेरो पनि मामाघर हो रामनगर । बिस्तारै त्यहाँका नेपाली या त बनारस या नेपालतिर लागे ।

पुरानो शान, शौक़त अब बाँकी नरहे पनि रामनगर नेपाली टोलाले आफ्नै महत्व बोकेको छ ।बिहारको खेलकुद मन्त्रीकोरुपमा अर्जुन शाहले आफुलाई स्थापित गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यो ठाउँको ठूलो महत्व छ । राणाकाल होस् वा पञ्चायत धेरैको आश्रयस्थलको रुपमा यो ठाउँ रह्यो । नेपाली कांग्रेसको विधानको पहिलो ड्राफ्ट पनि यहीं तयार भएको भनिन्छ ।

नेपाल बाहिरबाट नेपालीले लेखेको नेपालको इतिहास प्रकाशित गर्ने अम्बिकाप्रसाद उपाध्याय पनि यहींका थिए |

मेरो मावली गाउँका किसुनजी र मेरो हजुरबुवा बालसखा हुनुहुन्थ्यो । तर मेरो जीवनको पहिलो भोट मैले किसुनजीको बिरुद्ध सुर्यमा हालें र पछि वीरगन्जबाट उम्मेदवार हुँदैछ किसुनजीलाई मत माग्न पनि हिंडे र मत पनि दिए । पहिलोपटक मताधिकार पाएको मैले किसुनजीलाई किन भोट हालिनँ त्यो कुनै सन्दर्भमा लेखौंला तर उहाँ जस्तो एउटा सरल र सहज मान्छेलाई मत नदिएकोमा पश्चाताप भने अवश्य छ । प्रजातन्त्रप्रतिको उहाँको अविचलित अडानले अहिलेको र आउने पुस्ताको लागि सधैं प्रेरणाको काम गर्छ ।

अविवाहित किसुनजी अब्यवहारिक हुनुहुन्थ्यो भनिन्छ । त्यसरी चिन्ने ,बिश्लेषण गर्ने गरी उहाँसँग समय बिताउने मौका मैले पाइँन तर मैले पहिलोपटक चुरोटको सर्को लिएको उहाँलाई सल्काएर दिंदा हो । त्यसपछि मलाई चुरोटको स्वाद कहिले मन परेन र पिइँन । नाती पुस्ताको मैले चुरोट पिउँदा पनि उहाँले नखा, खानुहुन्न भन्नु भएन । शायद जे का लागि आफु उदाहरण बन्न सकिन्न त्यसमा बोल्न हुन्न भन्ने उहाँलाई लागेको हुनसक्छ । बरु प्रजातन्त्रका लागि लड्नुपर्छ ,स्वतन्त्रताको लागि कहिल्यै कोहीसँग सम्झौता हुँदैन र गर्नुहुन्न भनेर उहाँ बोल्न सक्नुहुन्थ्यो ।

हाँसी हाँसी भन्ने र ब्यंग गर्ने किसुनजीको “म रक्सी खान सांसद हुन खोजेको ” भन्ने ब्यंगलाई नेपाली समाजले सोझो अर्थमा लियो । तत्कालीन सांसदको कार्यशैलीप्रति ब्यंग गर्ने किसुनजीले अहिले संसद सदस्यहरुको योग्यता र क्षमता देखेको भए के भन्नुहुने थियो होला ??

जब भारतका तत्कालीन प्रधानमन्त्री बीपी सिंहले आफूलाई बिशाल भारतको प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने कोशिस गरे त्यो बेला किशुनजीले ठट्यौली पारामा भनी दिनुभयो “आपके सभी राजनीतिक गुरु मेरे दोस्त है । जब मै बनारसमे ग्र्याजुएसन कर रहा था, तब आप आठवींके थे ।”यो ठट्यौली जवाफपछि भारतीय प्रधानमन्त्री किसुनजीसँग अझ बढी सम्मानपूर्वक प्रस्तुत हुन बाध्य भए भनिन्छ ।

उहां रंगीन र रसिक हुनुहुन्थ्यो । एकपटक देउसी भैलोमा जाँदा आफु बसेको कोठामा सबैलाई बोलाएर अन्त्यमा यहाँ सबैभन्दा राम्री नानी कुन हुन् तिनीलाई मेरो तर्फबाट ५०० छुट्टै भनेर दिंदा सबै हाँसेको र रमाएको मिठो सम्झना छ। प्रजातन्त्रका लागि कहिल्यै सम्झौता नगर्ने किसुनजीलाई संगत गर्नेहरुका लागि उहाँ कहिल्यै गम्भीर नभए जस्तो लाग्थ्यो ।तर आफ्नो बिश्वासमा उहाँ अडिग हुनुहुन्थ्यो । सानातिना कुराहरुमा गम्भीर नदेखिने बानीले शायद बर्षौ जेल बस्न,घात, अन्तर्घात, चौतर्फी राजनैतिक आक्रमणको बीचमा पनि अविचलित रहन सहज बनायो होला ।

किसुनजीको पुर्ख्यौली भूमि रामनगरको नेपाली टोला छिर्ने मुखैमा एकापट्टी नेपाली राजदरबार छ, त्यसको ठीक अगाडि शिवको बिशाल मन्दिर छ । भनिन्छ शिव मन्दिर बनाइसकेपछि त्यो मन्दिर निर्माण गर्ने कालीगढले त्यस्तै अर्को मन्दिर नबनाओस् भनेर उस्को दुबै हात काटिएको थियो । एकातिर सत्ता शक्तिको कहिल्यै नसकिने लडाईं हुने घर र अर्कोतिर लोभमोहरहित आदियोगी शंकरको घर । शायद किसुनजीलाई मोहरहित ,जय पराजयभन्दा माथि रहने भगवान शिवले बढी प्रभावित गरे ।

अनुकूल वा प्रतिकूल परिस्थिति सोच्दा सुख र दुःखको अनुभव गरिने हो, लाभ र हानीको कल्पनाले प्राप्तिप्रति हर्ष र वियोग हुने हो तिनलाई उपलब्धि मान्नेले जयपराजय मान्ने हो । दैनिक गीता पाठ गर्ने उहाँलाई सुख-दु:ख, लाभ-हानी र जय-पराजयलाई समानरुपमा लिने प्रेरणा शायद गीताको यही श्लोकले दिन्थ्यो ।
सुखदुःखे समे कृत्वा लाभा लाभौ जया जयौ।