प्रचण्डको वकपत्र

प्रचण्डको वकपत्र



अहिले म पपेट हुँ,
अर्थात्
ओली प्यादा !
उनले जता चाल्छन्
उनले जे भन्छन्
म त्यही त्यही गर्दै जानेछु
मानौँ म यजमान हुँ
र, उनी पण्डित ।
उनले जताजता भन्छन्
म त्यतै त्यतै ‘स्वाहा’ गरिरहन्छु ।
अहँ, म कुनै प्रश्न गर्दिन
किनकि मलाई खुरमुरिनु छैन
मलाई ‘कटवाल काण्ड भाग २’ हुनु नि छैन
मलाई बालुवाटार बस्न मन छ
म गुनको बदला गुन तिर्छु
बालकोटे महाराज !
म हजुरले जे अरायो त्यही गर्छु
बस् आज्ञा हवस् ।
मलाई थाहा छ
हजुरलाई झन् बढी थाहा छ
हजुरको दिमाग तिखो छ
माकुनेसँग मिलेर
बालुवाटारबाट तपाइँको उठिबास गराउने
गाथगादी ताक्ने
त्याे पापिष्ट म नै हुँ
तथापि
जनताबाट तिरस्कृत र अस्वीकृत
हुँदै गएको,
देउवाले लात हानेको
मजस्तो घर न घाटको मान्छेलाई
तपाईले ‘लावण्य’ देशको राजासरह
हात्तीमा चढाएर
एकाएक
सिंहदरबारको सिढी उकाल्नुभयो,
बालुवाटारको आश्रय दिनुभयो,
राजकीय सत्ता सुम्पनुभयो
मलाई ‘खुन’को बदला गुन लगाउनुभयो
तपाईप्रति म नतमष्तक छु
मेरो षष्ट अंग
तपाईमा नै समर्पित छ,
मेरो मनमनले तपाईलाई नै जपेको छ
किड्नी फेरी फेरी भए पनि
तपाई शतायु बाँच्नुहोस्
मेरो कामना छ
जय बालकोटे महाराज
मारे पाप पाले पुण्य ।
महाराज, म देउवासँग बौलाएर
तपाईको दरबार छिरेको थिएँ
तपाइँले सहारा दिनुभयो
मलाई सञ्जीवनी बुटी दिनुभयो
तपाईकै साथले,
तपाईकै हातले
म बालुवाटार र सिंहदरबारमा गर्जेको छु
धरोधर्म म अब तपाइँलाई खाने छैन
किनकि तपाई मेरो जीवनदाता हो
तपाईले जता चाले पनि,
जता लगे पनि
लुरुलुरु माउतेको हात्ती सरह
लमकलमक गरिरहन्छु ल ।
म एउटा प्यादा हुँ
मलाई ननिमोठ्नुस्,
मेरो विगतको तीतो देखेर
ममाथि खड्ग प्रहार नगर्नुस्
प्यादाको पनि त भाउ हुन्छ
जब बढ्दै बढ्दै गएर
पूर्ण शक्तिशाली मन्त्री हुन्छ ।
म तपाइँकै हरवा चरवा भएर
तपाईकै नोकर बनेर
तपाईकै सेवा सुश्रुषामा
यो दुई वर्ष
व्यतीत गर्न चाहन्छु
हे मेरो प्राणदाता
ममाथि कुनै तीर नचलाउनुस्,
तपाईको शरणमा परेको
‘रणहार’ सिपाही हुँ
मारे पाप पाले पुण्य

नर्थ क्यारोलिना ।