बिदेशी अध्येता, अनुसन्धानकर्ता र पर्यटकहरुले राखेको निकनेम हो गैंडाल्याण्ड । बिश्व सम्पदामा सूचीकृत नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्जलाई धेरै मित्रहरुले गैंडाल्याण्ड नाम राखिदिएका छन् । किनभने उनीहरुले पाईलापाईलामा गैंडा देखे । एकै दिन, धेरै पटक, १६ वटा गैंडा देख्ने मित्रको बयान २ घण्टा लामो थियो । मलाई गर्व लाग्यो ।
चोरी सिकारीको कुकृत्यले १४ बर्षकी बयस्क आमासंग ४ बर्षे बच्चो गैंडाको निधन भएपछि प्रकृति र संरक्षणबिद् स्तब्ध भए । मेरा मित्र विष्णु र संरक्षण समुदाय झन् धेरै दुःखी भए । संरक्षण जिम्मेवारी पाएको नेपाली सेनाको प्रोटेक्सन युनिटको जबाफदेहितामाथि प्रश्नहरु तेर्सिए ।
संयोगले लगत्तै गत साता १ देखि ३ फेबु्रअरी सम्म त्यही निकुञ्जको प्राङ्गणमा एशियाका गैंडाहरुको वर्तमान अवस्था, छलफल, समीक्षा, चुनौती र उज्वल भविष्यको लागि एशियन राईनोज् रेञ्ज मुलुकहरुको भब्य मिटिङ आयोजना भयो ।
सशरीर उपस्थित हुन नपाएपनि टाढाबाट आफ्नो देशको गैंडाको आँगनमा भएको यो मिटिङलाई नियालेर हेरिरहेको थिएँ । त्यही सुखद् अब्जरभेसन रिपोर्टलाई आफ्ना अपेक्षा र सुझाव सहित प्रस्तुत गर्न यो आलेख तयार पारेको छु ।
रोचक पक्ष
मिटिङको उद्घाटन भिडियो सन्देश मार्फत प्रधानमन्त्रीले गरेका थिए । उद्घाटन भाषण वजनदार र दमदार थियो । भाषणमा ब्यक्त ढृद संरक्षण प्रतिबद्धताले मिटिङमा सहभागी सबैलाई उत्साहित र उर्जावान् बनाएको हुनुपर्दछ । वरिपरि घुमिरहेका गैंडाले डिकोड् गरेर बुझेको भए आफ्नो उज्वल भविष्यको सुनिश्चितताले उनीहरु झन् धेरै हर्षित भएको हुनुपर्दछ ।
यो मिटिङको उद्घाटन सत्रमा प्रधानमन्त्रीको उपश्थिति अपेक्षाकृत थिएन । तर बन मन्त्री समेत सम्हालेका प्रधानमन्त्री आफ्नो गृहनगरको उद्घाटन छाडेर झन् सानो कार्यक्रम चीन निर्मित्त स्कूलको उद्घाटन गर्न सिन्धुपाल्चोक पुगेको कुराले आयोजकहरुलाई खल्लो महशुस हुनु स्वभाविक थियो ।
गैंडाल्याण्डमा राष्ट्रिय कार्यक्रम भईरहदा तालुक मन्त्रालय मन्त्री र सचिव बिहीन थियो । आयोजक मण्डलीलाई अर्को लाजको पसारो । उपप्रधान तथा गृहमन्त्री अनागरिक भएर बर्खास्ती हुनु, मुलुकमा मालदार मन्त्रालय रोजिरोजि मन्त्री र राज्यमन्त्रीको मेला लाग्नु तर बन मन्त्रालय कसैको रोजाइमा नपर्नु र खाली हुनु संयोग र चरम सर्म दुबै थियो । सन्देश स्पष्ट थियो– बिश्वको अति महत्वपूर्ण र उच्च प्राथमिकताको प्रकृति तथा वाताबरण संरक्षण एजेण्डाले नेपालमा प्राथमिकता संबेदनशीलता गाम्भीर्यता जबाफदेहिता पाएको छैन ।
सहभागी देशहरुले आफ्नो अन्तिम गैंडाको टिसलाग्दो कथा सुनाउदा, कसैले भाग्यले एउटा गैंडाको बच्चा पैदा भई गैंडाको संख्यामा थप एक बृद्धि भएको खुशी साट्दा सहभागी सबैको मन छुनु र भावुक हुनु स्वभाविक थियो । त्यो दुर्दसा र दुखद दिन टाढा छैन भन्ने सम्बेदनशील सन्देश पनि थियो हामीलाई । भलै हामी यो मिटिङमा शून्य सिकारको उपलब्धि प्रस्तुत गरेर गैंडा दोब्बरउन्मुख र बाघ तेब्बरउन्मुख बनाएको सफल कथा सुनाएर मुख मिठ्यारहेका थियौं । ताली खाएर बहादुरी र बिजयको सुखानुभूति गरिरहेका थियौं ।
सकरात्मक पक्ष
अस्तिको कोभिड्, हिजोको डेंगु, आजको आमनिर्वाचन र सरकार गठनको बिलम्ब केही बहानाबाजी अघि नसारि यो राष्ट्रिय कार्यक्रम भब्य र सभ्यरुपमा सम्पन्न भयो । संरक्षणले १ मिनेट पर्खदैन र प्रकृति संरक्षणमा सबै तहलाई असीमित पहलता, स्वबिवेक, स्वनिर्णय लिएर संरक्षणको गाँठो फुकाउने, समाधान एवं निकास दिने र सानदार परिणाम निकाल्ने यो अभ्यास प्रशंसनीय मात्र होईन कदरयोग्य थियो ।
चोरी सिकार भएका गैंडाको शक्तिसाली छानविन समिति बन्नु, पर्सा राष्ट्रिय निकुञ्जले चोरी सिकारी माथि स्वतन्त्र र निश्पक्ष छानबिन निश्कर्षमा पुर्याउनु, बर्दिया राष्ट्रिय निकुञ्जको आफ्नै स्टोरबाट हराएको गैंडाको खाग माथि छनबिन र दोषीलाई कार्बाही गर्नु राष्ट्रिय निकुञ्ज बिभागका तारिफयोग्य पहलकदमीहरु हुन् ।
बन मन्त्रालयमा राजनीतिक, दलीय र ब्यक्तिगत स्वार्थ भएको बन मन्त्री तथा स्वार्थ बाज्ने बन सचिव भएको भए अनाबस्यक राजनीतिक, प्रशासनिक, प्राविधिक हस्तक्षेप र दबाबले यी संरक्षण कार्यहरुमाथि ग्रहण लाग्न सक्दथ्यो । जिम्मेवारीबाट पन्छिन काम तामेली राख्न पनि सकिन्थ्यो । तर यी तमाम् संरक्षण कार्यहरु सँगै यो मिटिङको आयोजनालाई हामीले सकारात्मकरुमा लिनुपर्दछ ।
यही रिक्तता र तिक्तताको अबधिमा फिल्डमा सानदार सुधार र संरक्षण सफलता मिलिरहेको सुखद् समाचार प्राप्त भएका छन् । फिल्डस्थित ईकाईहरुसँग असीमित अधिकार छ, उनीहरु स्वबिबेक र स्वनिर्णयमा काम गर्न स्वतन्त्र छन् भन्ने सन्देश उनीहरुले प्राप्त गरेको संरक्षण सफलताले दिइरहेको छ । यसले संरक्षणको उज्वल भबिष्यलाई इङ्गीत् गर्दछ ।
राजनीतिक अस्थिरता र अस्थायी सरकारका बाबजुद प्रकृति संरक्षणमा लगातार प्राप्त सफलता र उपलब्धिले मुलुकको शिर उचो राखेको छ । गर्न बाँकी काम धेरै भएपनि संरक्षण सफलताले सुशासनको झल्को दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व गणपति वर्तमान प्रधानसेनापतिले प्रकृति संरक्षणलाई दिएको उच्च प्रथमिकता र उत्कृष्ट परिणाम प्राप्तीको निर्देशनले ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाको हौसला र मनोबल बढेको हुनुपर्दछ । अहिले नबढे कहिले बढ्ने ?
महामारी र राजनीतिक हस्तक्षेपले थिलथिलो भएका संरक्षण साझेदार संघसंस्थाहरु ज्यादै सकरात्मक र उर्जावान देखिएका छन् । जुन असल र सफल संरक्षणको लागि आधारस्तम्भ हुन् ।
समृद्धिको आधार पर्यापर्यटन हो र ६० प्रतिशत बढी पर्यटकहरुले जैबिक बिबिधिताले भरिपूर धनी, सफा, पवित्र निकुञ्ज आरक्ष संरक्षण क्षेत्र भ्रमण गर्न रुचाउदछन् भन्ने सत्य स्थानीय समुदाय र युवा पिंढीले आत्मसात् गरिसकेका छन् । दिगो संरक्षणको लागि यो सास्वत सत्यको स्विकारोक्ती र सक्रिय संरक्षण सहभागिता रामबाण हो ।
सानदार संकल्प
यो मिटिङको घोषणापत्र गैंडा संरक्षणका खातिर गरेको सामुहिक संकल्प हो । जुन ज्यादै सकरात्मक र सानदार छ ।
संकल्पलाई गम्भीरतापूर्वक लिन र सफल पारेर देखाउन नेपाल काबिल छ । माहिर छ । नजीर माथि नजीर चाङ्ग लगाएर देखाएको छ । पाटे बाघ दोब्बरको संकल्प करिब तेब्बर बनाएको पछिल्लो परिणाम सानदार र उदाहरणीय नजीर हो बिश्वलाई । मुलुकको लागि यो राष्ट्रिय गौरवको सान मान र प्रतिष्ठा हो ।
कतिपय संकल्पहरु फिल्ड ईकाईको क्षमताभित्र पर्दछन् । फिल्डले हाँसिल गरेर देखाउन सक्ने संकल्पहरु धेरै छन् । जस्तै: गैंडाको बासस्थान सुन्दर शान्त सम्पन्न बनाउन निकुञ्ज /आरक्ष प्रशासन अधिकार सम्पन्न छन् । बजेट र श्रोत साधन सम्पन्न छन् । नमूना घाँसे मैदान समयमा बनाउन कुनै छेकबार छैन । ताल तलैया सफा गर्न, नयाँ पोखरी निर्माण गर्न, नदीलाई सफा स्वच्छ र सजीव राख्न चीफ् वार्डेनलाई पूर्ण अधिकार प्राप्त छ । गैंडाको बासस्थान ब्यबस्थापनको सर्वाधिकार सम्पन्न अधिकारीलाई कुनै बहानाबाजी गर्ने, लत्रिने, लोभिने छुट छैन ।
त्यसपछिको संरक्षण जिम्मेवारी ईतिहासकालदेखि नेपाली सेनाको हो । हिजो शून्य सिकार गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय कदर र पुरस्कार पाएको नेपाली सेना शून्य सिकार भिजन र मिसनको अगुवा हो । शून्य सिकार माथिको आदेश निर्देशन होइन बरु परम् कर्तब्य हो । उत्कृष्ट तबरको कर्तब्य पालन हो । चोरी सिकारको लागि उसलाई कुनै बहानाबाजी र छुट् हुनै सक्दैन । उ मात्र सशस्त्र ल ईन्फोर्समेण्ट शक्ति भएकोले चोरी सिकार बन्द गर्ने गराउने पहिलो जिम्मेवारी उसको हुन्छ । दोश्रो जिम्मेवारी ईण्टेलिजेन्सको हुन्छ । ईण्टेलिजेन्स भनेको निकुञ्ज आरक्ष प्रशासन हो । स्थानीय समुदाय हो । अबैध अंग ब्यापारको माग र आपूर्तिको जरा काटिदिने नेपाल प्रहरीको सिआईबि हो । टिमबिल्डिङ र टिमवर्कले शून्य सिकार उपलब्धि छिटो हात पर्नेछ र त्यसले अनन्तकालसम्म निरन्तरता पाईरहनेछ । डग् युनिट र आईटीको प्रयोग हाल उत्कर्षमा पुगिसक्नपर्ने हो । यो नितान्त फिल्डको पहलता र जादु हो । ट्रान्सबाउण्डरी संयुक्त समन्वय, सहकार्य, अनुगमन र सूचना आदानप्रदानलाई कही कसैको छेकबार छैन । उदाहरणको लागि हामी २२ बर्ष पहिले आफ्ना बाघ र गैंडा खोज्न भारतको वाइल्डलाईफ स्यान्चुरी कतर्नियाघाट महिनाको १ पटक पुगिरहन्थ्यौं । पछि अरु कमाण्डरहरुलाई सीमा पारीका निकुञ्जमा पठाईरहन्थ्यौं ।
तालिम अभ्यास सीपअभिबृद्धि गर्ने गराउने काम फिल्डको हो । संरक्षणमा सहभागी सम्पूर्णलाई समेटेर अनिवार्य तालिम दिने काम चीफ् वार्डेनको हो । कसरामा स्थापित प्रकृति संरक्षण शिक्षालयको स्वामित्व निकुञ्ज प्रशासनले निसंकोच लिनुपर्दछ । र, आफ्नो जनशक्तिलाई आलोपालो, चरणबद्ध, निरन्तर तालिम दिईरहनुपर्दछ । विभागले सोको एकीन गर्नुपर्दछ । संरक्षण साझेदार संघ संस्थाहरु सीप अभिवृद्धि गरिदिनका लागि तम्तयार छन् ।
बिभाग र फिल्ड ईकाईहरुले संरक्षणमा शून्य सहनशीलता र दण्ड पुरस्कार नीतिलाई कडाईका साथ लागु गर्नासाथ संरक्षण परिणाममुखी हुनेछ ।
घोषणापत्रले फिल्ड फ्रण्टलाईन स्टाफहरुको जीवनबिमा, बासस्थान सुधार र सहुलियतको संकल्प गरेको छ । अब निकुञ्जभरि छरिएका पोष्टहरुले खुला आकास अथवा पानी चुहुने प्लाष्टिकमुनि बसेर रात काट्नु पर्दैन । जस्ताको छाना लागेको बस्न योग्य पोष्ट, पिउन योग्य पानी, बत्ती वा ब्याट्रीको सुविधाले चार्ज भएको संचार साधन र बिमा भएको खुस् शरीरले शून्य सिकार मात्र होइन गैंडालाई खुशी, सुखी र भाग्यमानी बनाउने छ । हामीलाई चाहिएको दुःखी, तनावग्रस्त रिसाहा गैंडा होइन, स्वस्थ खुशी र सुखी गैंडा हो जुन काम कसैको मुख नताकिकन फिल्डले निर्बाधरुपमा आफै पूरा गर्न सक्दछन् ।
घोषणापत्रले गरेको अर्को संकल्प स्थानीय समुदायको जीबिकोपार्जन, शिक्षा, सचेतना र समृद्धि हो । गैंडाको दिगो संरक्षणको लागि स्थानीय समुदायको समृद्धि र सक्रिय संरक्षण सहभागिता पहिलो आवस्यक शर्त हो । रोग भोक अभाव अशिक्षा बेरोजगारमा गैंडाको संरक्षण संभव छैन ।
यो सानदार संकल्प पूरा गर्न कठिन छैन । तर गैंडाको कार्यकारी तालुक अड्डा राष्ट्रिय निकुञ्ज विभागले संकल्प पूरा गर्ने कार्ययोजना र समयतालिका बनाउनुपर्दछ । फिल्डलाइ आवस्यक श्रोत साधन सुविधा सहुलियत उपलब्ध गराउन दत्तचित्त रहनुपर्दछ । संघले टिमबिल्डिङ र टिमवर्क मजबुत बनाएर फिल्डलाई अनुगमन र निर्देशन गर्न सक्नुपर्दछ । उसको तालुक मन्त्रालयले संकल्पलाई अनुमोदन गर्दै संरक्षणलाई राष्ट्रिय प्राथमिकता र राजनीतिक प्रतिबद्धताले मलजल गरिदिनुपर्दछ । ता कि भावी चौथो गैंडा मिटिङमा नेपाली सहभागीहरुले ठाडो शिर सहित गर्व र स्वाभिमान साथ गैंडा संरक्षणका सफल गाथाहरु सेयर गर्न पाउन् । जुन सहज छ र हाम्रो परम्परा बनेको छ ।
चिन्ता
गैंडा बढ्यो, बाघ बढे, तिनलाई ब्यवस्थापन कसरी गर्ने ? मान–बन्यजन्तु द्वन्द्व न्यूनिकरण गरेर सुखद् सहअस्तित्वको वातावरण निर्माण कसरी गर्ने ? बढेका गैंडा बाघले बिचरण गर्ने सामुदायिक बन, सरकारी बन, जैबिकमार्ग र चुरे लगायतको संरक्षण र ब्यवस्थापन कसरी गर्ने ? ल्याण्डस्केप संरक्षण, समग्रताको संरक्षण कसरी गर्ने र नया संरक्षण क्षेत्रको पहिचान र बिस्तारलाई कति छिटो टुंगोमा पुर्याउने भन्ने सवालहरु राजनीतिक ईच्छाशक्तिमा भर पर्दछ ।
गैंडा र समग्र प्रकृति संरक्षणको दुश्मन अस्थिर राजनीति, चौतर्फी राजनीतक हस्तक्षेप र कुशासन तथा त्यसबाट सृजित् रोग भोक गरिबी अशिक्षा र बेरोजगार हो । यो ध्रुवसत्यलाई स्विकारेर त्यसको शीघ्र उपचार र सुधार खोजेर सुशासन मार्फत समृद्धि दिन पनि राजनीतिक स्थिरता र स्थायी सरकारको ढृढ ईच्छाशक्ति, अठोट र समर्पणभाव हुनुपर्दछ । जसको लागि समय र धैर्यता दुबै छैन, चिन्ता यसको हो ।
अपेक्षा
बिगतमा जस्तो बनको नेतृत्व माफियाले आफु अनुकूल चयन गर्ने, सरुवा गर्ने, दुरुपयोग गर्ने र प्रकृतिको दोहन बिनास बिक्री बितरण गर्ने नजीरको अब अन्त्य हुनुपर्दछ । माफियाका गोटी पूर्व नेतृत्व र प्रशासकहरुले गरेका प्रकृति तथा संरक्षण बिरोधी अपारदर्शी निर्णयहरु नया राजनीतिक, प्रशासनिक, प्राबिधिक, न्यायिक नेतृत्वको पारदर्शी पहल र प्रयासबाट रद्ध हुनुपर्दछ । गैंडाको संरक्षण हुनु भनेको समग्र पारिस्थितिकीय प्रणाली र जैबिक बिबिधताको संरक्षण हो । समृद्धिको फुल फुलाउने जनशक्ति, जल, जमिन, जंगल, जीव, जडिबुटी सम्पूर्णको समग्रतामा संरक्षण हो । साथै, धरापमा परिसकेको बिश्व वातावरण संरक्षणलाई अर्थपूर्ण योगदान हो । तसर्थ, बन तथा वाताबरण मन्त्रालय सबैभन्दा शक्तिशाली, स्वाभिमानी, र बहुआयामिक क्षेत्र भएको प्रभावशाली मन्त्रालय हो । राजनीतिक हस्तक्षेप बन्द गरेर सुशासन दिन यो मन्त्रालय कटिबद्ध हुनुपर्दछ । सरोकारवाला अरु मन्त्रालय, बिभाग, संघसंस्थासंग टिमबिल्डङ गरेर पारदर्शी टिमवर्क प्रदर्शन गर्न बिलम्ब गर्नुहुँदैन । संघको यो सकरात्मक पहल र प्रयासले फिल्डलाई उर्जा दिने छ । स्थानीय सरकारलाई सशक्त भएर संरक्षणको सही मार्गमा लाग्न प्रेरणा दिने छ ।
मुलुलको सर्वोच्च पदमा आसिन ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाका परमाधिपतिले चुरेलाई भर्तीकेन्द्र दोहन केन्द्र बनाएर संकीर्णतामा हराउने होईन, दलीय दलदलमा भास्सिने पनि होईन, बरु समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षणको अभिभावकत्व ग्रहण गर्ने र उच्च संरक्षण छबि निर्माण गर्ने फराकिलो र पबित्र महत्वकांक्षा राख्नु शोभनीय हुने छ ।
त्यसैगरी राष्ट्रिय बाघ संरक्षण समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष मुलुकका कार्यकारी प्रधानमन्त्रीले यो पबित्र, धार्मिक र बिश्वब्यापी कामको गौरवशाली नेतृत्व हीनभाव र करले होईन, सगर्व र स्वस्फूर्तरुपमा लिएर सुशासन, हरित अर्थतन्त्र मार्फत हरित समृद्धि दिएर बिश्वलाई चकित् पारिदिनुपर्दछ ।
अन्त्यमा, गैंडाल्याण्ड चितवन र टाईगरल्याण्ड वर्दिया जस्तै प्रकृतिप्रेमी अतिथिहरुले सानो मुलक भित्र ठूल्ठूला नाम राखून । हिमचितुवाल्याण्ड, सालकल्याण्ड, रेडपाण्डाल्याण्ड, दुम्सील्याण्ड, डाँफेल्याण्ड, मयुरल्याण्ड, अर्नाल्याण्ड, लालीगुँरासल्याण्ड, यार्चाल्याण्ड आदि आदि । नाम जस्तै ती राष्ट्रिय पुंजीको नमूना संरक्षण सम्बद्धर्धन र ब्यवस्थापनमा हामी सबैको साझा ध्यान जावस् । नेपाल विश्वको प्राकृतिक स्वर्ग भनेर चिनिने छ । यो पहिचानले समृद्धिको भर्याङ निर्माण हुने छ र त्यसले हामीलाई सभ्य सांस्कृतिक स्वर्गमा पुर्याउने छ ।
प्रतिक्रिया