रुसलाई जमिन दिएर शान्ति सम्झौता हुन सक्दैन : जेलेन्स्की

रुसलाई जमिन दिएर शान्ति सम्झौता हुन सक्दैन : जेलेन्स्की



काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग दिन नसकिने बताएका छन् । रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनु भएको बीबीसीसँगको एक अन्तर्वार्तामा बताएका छन् । उनले पश्चिमा मुलुकको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले वसन्त यामको आक्रमण सुरु भइसकेको बताएका छन् । अन्तर्वार्तामा उनले भनेका छन्, ‘विभिन्न दिशाबाट रुसी आक्रमण सुरु भइसकेको छ ।’ राष्ट्रपति जेलेन्स्कीले युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताएका छन् । उनले रुसी आक्रमणको प्रतिरोध गर्न् पश्चिमा मुलुकबाट सैन्य सहयोग मागिरहेका पनि छन् । उनी अगाडि भन्छन्, ‘निश्चय नै, आधुनिक हतियारले शान्ति छिटो आउँछ । रुसले बुझ्ने भनेकै हतियारको भाषा हो ।’

जेलेन्स्कीले गत हप्ता बेलायत र युरोपेली युनियनका नेताहरूसँग भेटेका थिए । उनले राष्ट्रको रक्षाका लागि भन्दै आधुनिक हतियार सहयोग मागेका थिए । उनले आधुनिक फाइटर जेटसमेत सहयोग माग गरेका छन् ।

जीवनमा कैयौँ सम्झौता हुने गरे पनि रुससँग भने सम्झौता हुन नसक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् , ‘अहिले हाम्रो अस्तित्वको रक्षा नै हाम्रो एकता हो । मलाई विश्वास छ युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको छ ।’

आगामी फेब्रुअरी २४ मा युक्रेन-रुस युद्धको एक वर्ष पूरा हुँदैछ । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने बताएको छ ।