आकाशमा उड्न मन पराउने पर्यटकलाई पोखरा पुग्नुपर्ने बाध्यता अब छैन । उदयपुरको बेलका र सुनसरीको चतरा भइ बग्ने सप्तकोशी नदीको किनारामा आकाशमा उड्नेहरु र जलविहारमा रुचि राख्नेहरुको दिनानुदिन भीड बढ्दै गएको देख्न सकिन्छ ।
उदयपुरको बेलका नगरपालिकाको एलके खोजमा हिजोआज प्याराग्लाइडिङमा उड्ने र प्रशिक्षण लिनेहरुको भीड देख्न सकिन्छ । पूर्वको उक्त क्षेत्र हरेक हिसाबले उपयुक्त रहेको प्याराग्लाइडिङ प्रशिक्षक सुविन्द्र गुरुङ बताउँछन् । धार्मिक पर्यटनका लागि चतराधाम, किराँत संस्कृतिको खुवालुङ, जलविहारका लागि सप्तकोशीमा बोटिङ एवम् कोशी टप्पु वन्यजन्तु आरक्षणभित्र चरा अवलोकन, हाइकिङका लागि उपयुक्त ठानिएको उक्त क्षेत्रमा विदाका दिन आन्तरिक पर्यटनको घुइँचो लाग्ने गर्दछ ।
हेटौडा, धरान हुँदै झापासम्मको बन्दै गरेको मदन भण्डारी राजमार्गले गर्दा यो क्षेत्रको महत्व बढ्दै गएको छ । सिन्धुली, उदयपुर, सिराहा, सप्तरी, सुनसरी, मोरङ, धनकुटा, भोजपुर, झापालगायत दर्जनौं जिल्लाबाट पायक पर्ने यातायातको सुविधा भएको र एकैपटक धार्मिक र सहासिक पर्यटनको मज्जा लिन सक्ने भएकोले पर्यटकको आकर्षण बढेको हाे ।
प्याराग्लाइडिङ र जलविहार सुरक्षित र विश्वसनीय बनाउन दक्ष्य प्राविधिकबाट स्थानीयस्तरमा प्रशिक्षण दिने काम यतिबेला त्यस क्षेत्रमा धमाधम भइरहेको छ । पर्यटकको सम्भावना देखेर दैनिक होटल रेस्टुरेन्ट थपिँदै गएको छ भने ठूला लगानीमा बन्ने होटल रिर्सोट व्यवसायीहरु पनि यस क्षेत्रमा आकर्षित भइरहेको पाइन्छ ।
भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल र सिक्किमबाट समेत यही रुट भएर चतराधाम, खुवालुङ र हलेसी महादेवको दर्शन गर्न आउने गरेका छन् । पर्यटन पूर्वाधारको थप विकास गर्न सके बाहिरबाट आउने पर्यटकलाई यस क्षेत्रमा दुई दिन राख्न सकियो भने विदेशी मुद्राको आर्जन भइ यस क्षेत्रको विकासमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ ।
प्रतिक्रिया