ज्ञानेन्द्र शाहको वक्तव्य ‘न मच्चिने पिंगको सय झटका’

ज्ञानेन्द्र शाहको वक्तव्य ‘न मच्चिने पिंगको सय झटका’



फागुण ७ गतेका दिन पूर्व राजा ज्ञानेन्द्रले एक वक्तव्य दिनु भयो । यस वक्तव्यले मुलुक भित्र केही चर्चा चर्चेको देखियो । मलाई पनि यस बारे दुई चार कुरा लेख्न मन लाग्यो ।

पहिलो कुरो, वक्तव्यमा “शाहबंशीय राजाहरूले सधैं लोक सम्मतिको आधारमा शासन गरेको” भनिएको छ । यो कथ्य ऐतिहासिक तथ्यहरू तथा राजनीतिक शास्त्रको “पिपुल्स विल” भन्ने अकाट्य मान्यतासंग किमार्थ मेल खादैन । शाह राजाहरूलाई जन प्रिय देखाउन राजा राम शाहका बारेमा पढाईएको किंवदन्तिहरूलाई अपवाद मान्ने हो भने राजनीतिक शास्त्रीय मान्यताका आधारमा आज पर्यन्तका राजाका शासनहरू सामन्ति, हुकुमी र निरंकुश प्रकारकै रहेको छ । यसलाई लोक सम्मति भन्न मिल्दैन । ज्ञानेन्द्रले इतिहासको उप व्याख्या पस्किनु भएको हो ।

दोस्रो कुरा, बि.स. ०७ सालको क्रान्ति राजा र जनताको सहयोगबाट भएको हो भन्ने मान्यता नै गलत हो । आधारभूत रूपमा नेकाको नेतृत्वमा भएको शसस्त्र क्रांतिमा राजा त्रिभुवनको कुनै तथ्यात्मक सहयोग थिएन । राजाको दिल्ली पलायनबाट प्रकान्तरमा पुरक प्रकारको प्रभाव परेपनि त्यो क्रांतिको मूल पक्ष थिएन । बरू दिल्ली प्रवासका दौरान हैदरावाद हाउसमा राखिएका राजा र काठमांडूमा रहेका श्री ३ मोहन शम्सेरका बीच भारतले समझदारी गराएर नेका नेतृत्वको शसस्त्र क्रांतिको निर्णायक पक्षलाई कमजोर पार्नमा त्रिभुवनको भुमिका रह्यो ।

तेस्रो कुरा, पछिल्लो समयमा- दोस्रो जन आन्दोलनको परिणामको बेला “जनताले चाहेको हुनाले जनताको नासो (सत्ता) राजनीतिक दलहरूलाई सुम्पेको”-यो कुरो सम्पूर्ण रूपमा गलत हो । अवश्यंभावी रूपमा सत्ता खोसिने अवस्था, सडकमा रहेको आन्दोलनकारीबाट भवितव्य सजाय दिईने परिस्थिति तथा ज्ञानेन्द्र शाहको नेपालमा ठूलो व्यावसायिक स्वार्थका कारणले मुलुक मै बस्न पाउने इच्छाले सहज झै देखाउने गरी सत्ता छोडेको कुरालाई उहाँले लुकाउदै आएको हो। नयाँ कथ्य बनाउन खोजेको मात्र हो ।

चौथो कुरा, अहिले मुलुकमा बेथिती छ-यो सत्य हो। परन्तु यसलाई समाप्त पार्ने कुनै योजना तथा शासकीय संरचना ज्ञानेन्द्रसंग छैन । फागुण ७ को वक्तव्यमा जुन “सहकार्य” को कुरा उठाईएको छ, तेसको मनशाय नै पुनर्स्थापित राजा सहितको संबैधानिक राजतन्त्र हो-यसलाई मुख्य धारका राजनीतिक पार्टीहरूले अस्वीकार गरिसकेको छ । राप्रपा र रविन्द्र मिश्रहरूले हालको संसदीय संरचनामा बहुमत हासिल नगरूञ्जेल यसको के सम्भावना छ र ? अहिले उहाँले आफु भित्र ठम्याएको शक्ति नै जनतामा रहेको निराशा हो । यस अर्थमा ज्ञानेन्द्र र रवि लामिछानेको प्रेरणा, सोच र शक्ति एउटै हो । जनताको निरासालाई व्यापारिकरण गर्ने सोच हुन् ।

ज्ञानेन्द्र शाहको वक्तव्य “न मच्चिने पिंगको सय झटका” हो । उहाँले सहकार्यका लागि दुरूत्साहित गरेको दल राप्रपा र यस्तै खाले हुन् । यिनको प्राथमिकतामा राजतन्त्र पर्दैन । तर, हेक्का राख्नु पर्ने कुरा के पनि हो भने यिनको चरित्रमा उपद्रवी रूपहरू देखिएमा ज्ञानेन्द्र शाहको नागार्जुन वन क्षेत्र समेत खोस्न भने सबै ठूला दलहरू एक हुनेछन् । अनि उहाँको हालत मधेस तिर फागु पर्वमा बनाईने ‘मजनू’ जस्तो हुनेछ ।