राजनीतिक कोर्स करेक्सनका १२ सन्देश

राजनीतिक कोर्स करेक्सनका १२ सन्देश



आम निर्वाचन २०७९ पछि उल्टो दिशातर्फ मोडिएको मुलुकको राजनीति राष्ट्रपति चयन प्रक्रियासगै ‘कोर्स करेक्सन’ मार्फत सुल्टो बाटोतर्फ उन्मुख बनेको छ । चुनाव अघि नै गठबन्धन निर्माण गरेर जनतामाझ गएका दलहरुबीच एकताको नयाँ खाका तय भएको छ । जनादेश विपरित बनेको बहुरङ्गी गठबन्धन टुटेको छ ।

समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्र, यसका उपलब्धि तथा संविधान समाप्त पार्ने ग्राण्ड डिजाइन अन्तर्गत शुरु भएको राजनीतिक कोर्स परिवर्तन भएको छ । जनादेश अनुरुप नै लोकतान्त्रिक–वाम गठबन्धनको सहयात्रा प्रारम्भ भएको छ । यसले नेपालको राजनीतिमा नयाँ ध्रुविकरणको संकेत समेत गरेको छ । ०६२/६३ को परिवर्तन मार्फत प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्न चाहने अर्थात् यही व्यवस्था मार्फत जनताको अवस्था परिवर्तन गर्न अघि बढ्ने दलहरु तथा यसलाई नरुचाउने एम्ं उल्ट्याउन खोज्नेहरु सर्लक्क छुट्टिएको अवस्था छ । बालुवाटारमा बसेको आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय सँगै नयाँ राजनीतिक यात्रा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उद्घोषले यसै कुरालाई पुष्टि गरेको छ ।राजनीतिक कोर्स करेक्सनले एकसाथ १२ सन्देश प्रवाह गरेको छ ।

जनमतको अपमान र निरासाको माहौलमा समेत सभापति देउवाले भनेका थिए –‘वी वील कम ब्याक’ । उत्तेजना र आवेगमा होइन अनुभव र धैर्यतामा आधारित देउवाको रणनीतिले अन्ततः दुई महिनामै कांग्रेस राष्ट्रपति सहित सबैतिर सरकारमा कम ब्याक हुने अवस्था बनेको छ । यो पक्कै पनि देउवाको राजनीतिक विजय हो ।

१. जनादेशको कदरः आम निर्वाचन २०७९ मा चुनाव अगावै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा गठबन्धन गरेरै चुनावमा गएका थिए । प्रतिगमनलाई परास्त गर्ने एवम् संविधानको रक्षा तथा राजनीतिक स्थायीत्व र समृद्धिको लक्ष्य सहित बनेको लोकतान्त्रिक–बाम गठबन्धनले सामान्य बहुमत समेत प्राप्त गरेको अवस्था थियो । तर जनादेश मार्फत बहुमत प्राप्त लोकतान्त्रिक बाम गठबन्धनले आफैभित्रको सामान्य लेनदेन मिलाउन नसक्दा परिस्थिति जटिलतातर्फ उन्मुख भयो । फुटाउ र अलमल्याउ भन्ने ओलीको जाल सफल भएको जस्तो देखियो तर अन्ततः जनमतको कदर गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पुनः जनादेश अनुरुपनै अघि बढ्न तयार भए । आठ दलको यो एकताले साच्चै जनादेशको कदर भएको सन्देश दिएको छ ।

२. संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको एकताः राजनीतिमा गठबन्धन बन्नु र भत्कनु कुनै ठूलो कुरा रहेन र होइन पनि । तर विचार सहितको गठबन्धन बन्यो भने त्यो स्वभाविक देखिन्छ र टिकाउ पनि । ओली नेतृत्वको गठबन्धन कुनै बिचारमा आधारित थिएन । कट्टर गणतन्त्रवादीदेखि कट्टर राजावादी एवं संघीयताका लागि बलिदान दिनेदेखि खारेज गर्नुपर्छ भन्नेहरु धेरै दिन एकैठाउमा बस्न सम्भव थिएन । तर अहिले निर्माण भएको आठ दलीय गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको एकताको स्वरुपमा देखापरेको छ ।

३. गणतन्त्रको सर्वोच्च संस्थाको मर्यादा स्थापितः आठ दलीय गठबन्धनले राष्ट्रपतिका लागि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सहयोग गर्ने निर्णय आफैमा लोकतन्त्रको सुन्दर पक्ष हो । यस अलावा कांग्रेसले राष्टपतिमा अघि सारेका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अटल निष्ठा र विश्वास भएका नेता हुन् । लोकतान्त्रिक आन्दोलनमा लामो त्याग र संघर्ष गरेका पौडेल सम्मानित राष्ट्रपति संस्थाको ओज र गरिमा पुनस्थापित गर्न योग्य, काबिल र सक्षम पात्र हुन् । गणतन्त्रको सर्वोच्च संस्थाको मर्यादा स्थापित गर्न जनताको चाहना र राष्ट्रको भावना अनुरुपको बिशाल राजमार्ग बनाउनु पर्ने हुन्छ । ओलीको रबरस्ट्याम बनेर विद्या भण्डारीले पटक पटक भत्काएको र चिरहरण गरेको यो संस्थाको मर्यादा कायम राख्न पौडेलको भूमिका महत्वपूर्ण रहने छ ।

४. देउवाको राजनीतिक विजयः संसदको सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाट विमुख बन्न पुगेको कांग्रेस जनमत प्राप्त गरेर पनि राजनीति हारेको अवस्थामा पुगेको थियो । जनमतको अपमान र निरासाको माहौलमा समेत सभापति देउवाले भनेका थिए –वी वील कम ब्याक । वास्तवमै कांग्रेसले राष्टपति प्राप्त गर्ने अवसर तथा आठदलीय गठबन्धनबीच सहमतिको वातावरण तयार गर्न देउवाको भूमिका कहिकतै छिपेको छैन । उत्तेजना र आवेगमा होइन अनुभव र धैर्यतामा आधारित देउवाको रणनीतिले अन्ततः दूई महिनामै कांग्रेस राष्ट्रपति सहित सबैतिर सरकारमा कम ब्याक हुने अवस्था बनेको छ । यो पक्कै पनि देउवाको राजनीतिक विजय हो ।

५. सत्ताको साँचो बार्दली होइन बालुवाटारमाः आठ दलीय गठबन्धनको निर्माणसगै ओलीले बालकोटको बार्दलीमा पुर्याएको सत्ताको साँचो बालुवाटारमै फर्केको छ । प्रधानमन्त्रीलाई पिँजडाभित्रको बन्दी जस्तै बनाएर सरकारको रिमोट कन्ट्रोल आफ्नै हातमा राख्ने ओलीको योजना समाप्त भएको छ ।

६. माधव नेपाल राष्ट्रिय राजनीतिमा शक्तिशालीः ओलीले लोकतान्त्रिक बाम गठबन्धन फुटाएपछि सबैभन्दा ठूलो अपमान माधव नेपाललाइ गरेका थिए । ओलीको हेपाई र दुव्र्यवहार बढेर गएको थियो । तर अहिले गठबन्धनको महत्वपूर्ण हिस्सेदारका रुपमा माधव नेपाल खडा छन् । प्रधानमन्त्री बन्ने अवसर मात्र होइन एकीकृत समाजवादीले सरकारमा महत्वपूर्ण भूमिका तथा प्रदेश सरकारहरुमा समेत राम्रो उपस्थिति रहने छ । माधव नेपाल राष्ट्रिय राजनीतिमा शक्तिशाली बन्न पुगेका छन् ।

७. ओली रणनीतिको अवसानः राजनीतिको कोर्स करेक्सन सँगै सत्ताको केन्द्रमा आफु रहने , अढाइ बर्षपछि आफै प्रधानमन्त्री बन्ने , राष्ट्रपति र समाभूख सबै आफ्नैलाई बनाउने अनि ओली ‘बा’ को अवतारमा हाईहाई प्राप्त गर्ने सबै रणनीति असफल हुन पुगेको छ । प्रधानमन्त्री दाहाललाई उपयोग गर असफल बनाउनु भन्ने ओली रणनीतिको अवसान भएको छ ।

८. केपी ओलीको राजनीतिक विश्वासमा ह्रास राजनीतिमा अहिलेको नयाँ परिस्थिति निर्माण सँगै केपी ओली राजनीतिमा विश्वास गर्न लायक नेता होइनन् भन्ने समेत स्थापित भएको छ । विगतका अनुवभबाट पाठ सिकेर नेताहरु कोहिपनि ओलीको जालमा फस्न तयार भएनन् । अरु त के ओलीले अन्तिममा राष्ट्रपति बन्न गरेको आग्रह समेत माधवकुमार नेपालले अस्विकार गरिदिए । यसबाट केपी ओलीको राजनीतिक विश्वासमा हस आएको स्पष्ट देखिन्छ ।

९. राष्ट्रिय भूमिकामा मधेशकोे मुद्धा सुनिश्चितः उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने तथा लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी समेत सरकारमा रहने सहमतिले मधेशको मुद्धा सुनिश्चित गर्न सघाउ पुग्ने छ । साथसाथै ओलीकै कारण शीतल निवासमा अड्केर बसेको नागरिकता विधेयक प्रमाणीकरण एवम् मधेशको पहिचान स्थापित गर्ने तर्फ नयाँ गठबन्धन अग्रसर हुनेछ । त्यसैले राष्ट्रिय भूमिकामा मधेशकोे मुद्धा सुनिश्चित हुनसक्ने सन्देश राजनीतिक कोर्स करेक्सनले दिन सफल भएको छ ।

१०. राप्रपा र रास्वपाको असली अग्नीपरिक्षा शुरुः संसदमा अहिले राम्रै जनमतका साथ उदाएका राप्रपा र रास्वपाको राजनीति अब कुन रुपमा अघि बढ्ला ? ओलीको लैबरिमा नाँच्ने कि आफ्नै अस्तित्वसहित बाँच्ने ? खबरदारी र जनमत अनुरुपको राजनीति गर्न यी दलहरु सक्षम होलान् कि नहोलान् ? यसको असली अग्नीपरिक्षा समेत शुरु भएको छ ।

११. राजनीतिक स्थिरताको संकेतः जनादेशका आधारमा बिचार मिल्ने दलहरुबीच शुरु भएको सहयात्राले तुलनात्मक हिसावले राजनीतिक स्थिरता कायम हुने विवश लिन सकिन्छ ।

१२. अन्तर्राष्ट्रिय समुदायमा उत्साहः लोकतान्त्रिक बाम गठबन्धन ब्युताउने पछिल्लो राजनीतिक निर्णयबाट अन्तर्राष्ट्रिय समुदायमा समेत उत्साह पैदा भएको देखिन्छ । राष्ट्रवादको चर्का नारा उराल्ने तर सत्तामा पुगेपछि स्वार्थ अनुकुल सम्झौंता गर्ने ओलीको बानि ब्यहोरा जानेबुझेका मित्रराष्ट्रहरु तथा अन्तर्राष्ट्रिय समुदाय नेपालले अब आफ्नो हित अनुकुल सबैसँग समदुरीको सम्बन्ध स्थापित गर्ने छ भन्ने विश्वास व्यक्त गर्न थालेका छन् । यो पनि राजनीतिक कोर्स करेक्सनले दिएको महत्वपूर्ण सन्देश हो ।