नीतिगत भ्रष्टाचारको आरोपमा दिल्लीका उपमुख्यमन्त्री पक्राउ

नीतिगत भ्रष्टाचारको आरोपमा दिल्लीका उपमुख्यमन्त्री पक्राउ



दिल्ली । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) आइतबार राती सिसोदियालाई पक्राउ गरी अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतसँग माग पनि गरेको छ । सिसोदियालाई हाल खारेज गरिएको मदिरा नीति तर्जुमा र कार्यान्वयनमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो । मदिरासँग सम्बन्धित अन्तःशुल्क नीतिमा अनियमितता गरिएको र त्यसमा सिसोदिया पनि सामेल रहेको आरोप छ ।

सीबीआईले विगत केही समयदेखि नै उक्त विषयमा अनुसन्धान गरिरहेको थियो । आम आदमी पार्टीका नेता सिसोदियाले यस मुद्दामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेका छन् । यद्दपि, अनुसन्धानबाट भने उनले व्यक्तिगत रुपमै अन्तःशुल्क नीतिमा निर्णय गरेको देखिएको सीबीआईले बताएको छ । प्रमाण पेश गर्दा सिसोदियाले टालटुले जवाफ दिएको र अनुसन्धानमा सहयोग नगरेका कारण प्रक्राउ गरिएको सीबीआईले जनाएको छ ।

सिसोदियालाई राजनीतिक प्रतिशोध साध्न झुटा आरोपमा फसाइएको ‘आम आदमी पार्टी’ को भनाई छ । पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया निर्दोष रहेको र उनको गिरफ्तारीमा फोहोरी राजनीतिको गन्ध आएको आरोप लगाएका छन् । एजेन्सी