सरकारी अस्पतालबाटै बच्चा लगेर कुकुरले खाएपछि…

सरकारी अस्पतालबाटै बच्चा लगेर कुकुरले खाएपछि…



एजेन्सी । भारतको राजस्थानको सिरोहीको सरकारी अस्पतालमा आमाको छेउमा सुतेको १ महिनाको बच्चालाई कुकुरले लगेको छ । कुकुरले बालकको पेट र एउटा हातसमेत खाएको छ । जसका कारण उनको मृत्यु भएको छ ।

आमाकै सामुन्ने कुकुरले बच्चालाई लिएर गएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । सिरोहीको पिन्डवारा निवासी ४० वर्षीय महेन्द्र मीना सिलिकोसिसबाट पीडित थिए । महेन्द्रको क्षयरोग अस्पतालमा उपचार भइरहेको थियो । सोमबार राति उनकी श्रीमती रेखा र २ छोराछोरीसहित आफ्नो ओछ्यानमुनि भुइँमा सुतिरहेका थिए । वार्डमा घुमिरहेका छाडा कुकुरले उनका एक महिनाको छोरा विकासलाई लिएर गएकाे थियाे ।

राति करिब १ः३० बजे रेखा ब्युझिएपछि बच्चा हराएको थाहा पाएकी थिइन् । उनले तुरुन्तै बच्चा खोज्न थालिन् । वार्डबाहिर रहेको पानीको ट्यांकीमा केही कुकुरले बालकलाई टोकेको उनले देखिन् । उनी जब त्यहाँ पुगिन् एउटा कुकुरले बच्चाको हात मुखमा लिएर भागेको थियो । कुकुरहरूलाई भने उनीहरूले कुटेर मारेका छन् ।