अमेरिकामा सडक दुर्घटनामा नेपाली युवाको मृत्यु

अमेरिकामा सडक दुर्घटनामा नेपाली युवाको मृत्यु


ग्लोब नेपाल
5.2k
Shares

पेन्सिलभेनिया । स्थानीय क्लियरफिल्ड काउन्टीमा भएको सडक दुर्घटनामा एक नेपाली युवाको निधन भएको छ । २६ वर्षीय खगेन्द्र पौडेलको सडक दुर्घटनास्थलमा नै मृत्यु भएको पेन्सिलभेनिया राज्य प्रहरीले जनाएको छ । उनी झापाको दमक चोकका स्थायी बासिन्दा हुन् । करीब ८ महिना पहिले मात्र डिभी मार्फत् अमेरिका आएका खगेन्द्र बोष्टनमा बस्थे । बोष्टनबाट साथीहरुसंग घुम्न हिंडेको बेला सडक दुर्घटनामा परेको आफुहरुले थाहा पाएको पेन्सिलभेनियाको योर्क भन्ने ठाउँमा बस्दै आएका दमककै शिव शाहले जानकारी दिएका छन् । शाहकाअनुसार, अहिले अमेरिकामा रहेका पौडेलका आफन्तमार्फत थप प्रक्रियाकाबारे सल्लाह भइरहेको छ ।

स्थानीय समयअनुसार शुक्रबार करीब साढे आठ बजे राती पेन्सिलभेनिया राज्यको क्लियरफिल्ड काउन्टीको हाइवे आइ-८० मा भएको सडक दुर्घटना हुँदा पौडेलको निधन भएको हो । राजमार्गमा ट्रयाक्टर ट्रेलर हिउँमा चिप्लिएर अनियन्त्रित हुँदा पौडेलका साथीले चलाई रहेको कारलाई ठक्कर दिन पुगेको थियो । कार चालकको अवस्थाकाबारे प्रहरीले केही बताएको छैन तर कारको अघिल्लो सीटमा रहेका पौडेलको भने घटनास्थलमा नै निधन भएको राज्य प्रहरीले जनाएको छ ।

निधन भएका पौडेलका अभिभावक दमकमा नै बसोबास गर्छन् । दमक नै पुर्ख्यौली थलो भएको तर हाल क्यालिफोर्नियाको लस एञ्जलसमा बस्दै आएका संचारकर्मी सुदीप पन्तकाअनुसार, दिवंगत पौडेल पेशाले नेपालमा इन्जिनियर थिए । पौडेलकी आमा मन्दरा पौडेल झापामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् । नेपाल महिला संघ दमकको नगर सभापति समेत रहेकी पौडेल र उनका पति राजेन्द्र पौडेलका चार सन्तान मध्ये तीन छोरी र खगेन्द्र चाहिं एक्लो छोरा हुन् ।

One dead after wintry tractor-trailer crash on I-80

: अमेरिकामा सडक दुर्घटनामा नेपाली युवाको मृत्यु