प्रधानमन्त्री दाहाललाई १ सय ५६ सांसदले विश्वासको मत दिने

प्रधानमन्त्री दाहाललाई १ सय ५६ सांसदले विश्वासको मत दिने

रास्वपाले पनि दिए १७४ पुग्ने



काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै संसदबाट विश्वासको मत लिने र सरकार पुनर्गठनको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लागेका छन् । उनले चैत ६ गते सोमबार विश्वासको मत लिँदैछन् । त्यसपछि दलीय भागवण्डामा सरकार पुनर्गठन हुने बालुवाटार स्रोत बताउँछ । चैत्र १० गतेसम्म सरकार विस्तार हुने भनेर प्रधानमन्त्री दाहालले नै भनिसकेका छन् ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २ सय ६८ मत प्राप्त गरेका थिए । मतदानमा सहभागी मध्ये २ सांसदले मात्र उनलाई विश्वासको मत दिएनन् ।

त्यसबेला एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए । अहिले दाहाल नेतृत्वको सरकारलाई एमालेले समर्थन फिर्ता लिएको हुनाले उनले पुनः विश्वासको मत लिनु परेको हो । १० पुसमा बनेको दाहाल सरकारबाट एमाले, रास्वपा, राप्रपा अलग भएका छन् । राष्ट्रपति निर्वाचन सम्मुखमा कांग्रेससहितको १० दलीय नयाँ गठबन्धन बनेको छ ।

यतिबेला दाहाल नेतृत्वको सरकारलाई १० दलको समर्थन छ । अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८६, जनता समाजवादी पार्टी (जसपा) सँग १०, नेकपा (एकीकृत समाजवादी) सँग १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद छन् ।

कांग्रेसबाट ८९ सांसद निर्वाचित थिए । मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा छन् भने तनहुँ–१ का रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । गुल्मी–१ बाट निर्वाचित चन्द्र भण्डारी भारतमा उपचार गराइरहेका छन् । यस्तै जसपाबाट १२ जना सांसद थिए । समानुपातिक सांसद सहनाज रहमानको निधन भएको छ भने बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सांसद र सत्ता छोड्नु परेको पीडामा छट्पटाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दाहालको समर्थनमा मत हाल्ने नहाल्ने निर्णय गरिसकेको छैन । यद्यपि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सरकारमा पुनः फर्किने सम्भावना र वैशाख १० गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर समर्थन कायमै राख्ने सम्भावना बलियो छ । रास्वपासँग २० जना सांसद मध्ये अहिले १८ जना सांसद छन् । सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएका छन् भने अर्का सांसद इन्दिरा राना उपसभामुखमा निर्वाचित भएकी छन् ।

स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले समेत प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बुझिएको छ । रास्वपाले विश्वासको मत दिएन भने पनि दश दलीय गठबन्धन तथा स्वतन्त्र सांसद समेत गर्दा प्रधानमन्त्री दाहाललाई १ सय ५६ सांसदले विश्वासको मत दिनेछन् । यदि रास्वपाले पनि मत दिए १७४ पुग्ने देखिन्छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभाका कुल २७५ जना सांसद मध्ये बहुमत अर्थात् १ सय ३८ सांसदको मत आवश्यक पर्छ । यसरी हेर्दा दाहालले सहजै सुविधाजनक बहुमत प्राप्त गर्ने देखिन्छ ।