डा. स्वर्णिमसँग यी ४ प्रश्नको जवाफ छ ?

डा. स्वर्णिमसँग यी ४ प्रश्नको जवाफ छ ?



डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टीभित्र ठाउँ निरन्तर पाएकै हो । अस्तिसम्म विदेशी संघ संस्थामा काम गर्ने व्यक्तिले नेतृत्वको सद्भाव बिना पार्टीले दिने अवसर एकपछि अर्को गरी पाउन सम्भव थिएन । अस्तिसम्म घोषणापत्र लेखन समितिदेखि विज्ञ प्रशिक्षकको रूपमा समेत सक्रिय थिए । फोटो राखिरहेथे । टिकट वा अरू कुनै सौदाबाजीमा पार्टी फेर्ने, सिद्धान्त फेर्ने या बाटो मोड्ने छुलाहा व्यहोराले साठी वर्षदेखिको पार्टीसँगको संलग्नताको पर्याप्त भाडा उठाइसकेका छ । छयालीस यताको ब्याज असुलउपर गरिसकेको छ । डा. स्वर्णिम वाग्लेले अहिले भावनाको व्यापार गर्न जरुरी छैन ।

१. जीवन पर्यन्त देश र पार्टीको सेवा गरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जत्तिको देश बनाउने महत्त्वपूर्ण ठाउँमा नियुक्ति पाउने भाग्यमानी विज्ञ हरेक पार्टीभित्र कतिजना होलान् ? पद नपाएको झोँकमा ती सबैले पार्टी छोड्ने बच्कना बाटो लिए भने अवस्था के होला ? छोटो समय त हो भन्नेहरूले हेक्का राख्न जरुरी छ, प्रधानमन्त्री ९ महिनाको योजना आयोगको उपाध्यक्ष १८ महिनाको हुँदैन नि ! प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने समितिमा उपाध्यक्षको पदावधि अपेक्षा कति गर्ने हो ?

२. अर्थशास्त्र जस्तो value based intellectual को विहङ्गम र विस्तारित क्षेत्र बोकेको विषयको विज्ञ भएता पनि तिनी आफू value based intellectual हुन् कि केवल सिद्धान्त रट्टु प्राविधिक ; महत्त्वपूर्ण प्रश्न यो हो ।

तिनी सत्तालाई प्रश्न गर्ने, सत्तासँग संघर्ष गर्ने, भूईँ र माटो छामेर निर्णय लिनसक्ने, जनताको आवाज बोक्ने बौद्धिक थिए कि त्यही कुलीन गिरोहधारी सत्ताले दिने नियुक्ति खाने जागिरे बौद्धिक थिए ? आफूलाई भाग परे ठीक नपरे गलत हुन्छ ? पार्टी, संगठन र नेतृत्वले दिएको अवसर लिएर आफ्नो कुस्त व्यक्तित्व र कुस्त सञ्जाल निर्माण गरी अहिले मनपरि बोल्नु कतिसम्म जायज हो ?

३. जिब्रो बटारेर अंग्रेजी बोल्ने, विदेशी स्कुलतिर पढेको, एनजीओ आइएनजीओमा काम गर्ने, जेल लगाएको कपाल र चस्मा लगाएको हेर्दा आकर्षक सेलिब्रेटी मार्काको मान्छे भनेपछि भुतुक्कै मरिहाल्ने, हर ठाउँमा सेलिब्रेटी र भगवान, मुक्तिदाताको खोजी गर्ने अर्धअन्धविश्वासी पिछडिएको नेपाली समाज र पार्टी भित्रकै अतिशय महत्वाकांक्षी भाषणबाजहरूले अत्यधिक हाइप दिएको पात्र हेर्नुस् त कतिसम्म भल्नेरेबल रैछ ? विचारप्रति कतिसम्म प्रतिवद्ध रैछ ?

अस्तिसम्म कसलाई पो अर्थमन्त्री प्रस्ताव गरिएछ भनेर अब एकपटक आफ्नै मूढतालाई मरूञ्जेल घोच्नुहोस् । राजनीतिलाई प्रियतावाद, लोकरञ्जन, भावुक सेलिब्रेटीपन, हाहाहुहु र भाषणबाजी बाट अलग गराउने प्रेरणा लिनुहोस् ।

४. अतिशय भावुक भएर कांग्रेस सक्किएको उद्घोष गर्नुपूर्व एकपटक, गाउँ गाउँमा रगत पसिना बगाएर, सबैखाले अतिवादसँग ज्यानको बाजि लगाएर दुखजिलो गरी शिला चहारेर पार्टी संगठन निर्माण गरेको आफूले कति पाएँ र आफूले निर्माण गरेको सांगठनिक घरको उपल्लो तहमा बसेर तपाईं जसको चिन्ता गर्दै हुनुहुन्छ उसले विदेशी जहाज ओर्लेर नेपाल टेक्ने बित्तिकै के के पाइसक्यो (आर्थिक, भौतिक, नैतिक, राजनीतिक, व्यक्तित्व निर्माण ) तुलना गर्नुहोस् । कसको लागि चिन्ता गर्नुपर्ने हो, एकपटक आफैंलाई सोध्नुहोस् ।

शंकर तिवारीको नाम हुनुपर्नेमा असावधानीवस यसअघि विन्दुकान्त घिमिरेको नाम पर्न गएको क्षमाप्रार्थी छौं । सं.