पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई 

पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई 



मुगु । मुगुमा एक साुमदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिलाले शुक्रबारबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । 

छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँदिनमा उनी एसईईमा सहभागी भएकी हुन् ।  उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् ।

तर, सुत्केरी भएकाले परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको उनले बताइन् । ‘सुत्केरी भएदेखि राम्रोसँग आराम गर्न पनि पाएको छैन । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको छैन,’ उनले भनिन्, ‘जे भए पनि परीक्षा दिनैपर्‍यो । सकेको राम्रो गर्नेछु ।’ 

परीक्षा दिइरहँदा शिशुलाई स्तनपान गराउनुपर्ने र आफूले पनि बीच बीचमा आराम गर्नुपर्ने भए पनि परीक्षालाई भविष्य ठानेकाले सहभागी भएको उनले बताइन् । 

‘यो मेरो परीक्षा अहिलेको लागि मात्र होइन । यो त मेरो भविष्यसँग जोडिएको छ,’ उनले भनिन्, ‘मैले यो मूलढोकालाई खुलाउन सकिन भने मेरो भविष्य के होला ? भन्ने लाग्छ । सबै कष्ट बिर्सेर पनि परीक्षामा सहभागी हुने निर्णय गरेको हुँ ।’ 

उनी जस्तै प्रभात मावि रोवाकी वसन्ती सेजुवालको पनि उस्तै छ । वसन्ती सेजुवाल पनि एक महिने छोरीसहित एसईई परीक्षा दिई रहेकी छन् । 

अपांगता भएका परीक्षार्थीलाई १५ मिनेट समय थप गर्ने कानुनी व्यवस्था भए पनि सुत्केरी परीक्षार्थीका लागि थप सुविधा नरहेको महाकाली माध्यामिक विद्यालयको परीक्षा केन्द्रका केन्द्राध्यक्ष खड्ग बहादुर रोकायाले जानकारी दिए । तर, सुत्केरी परीक्षार्थीका लागि पनि केही सुविधा दिने तयारीमा रहेको उनको भनाइ छ ।