को हुन् नक्कली शरणार्थी प्रकरणका मास्टर माइण्ड केशव दुलाल ?

को हुन् नक्कली शरणार्थी प्रकरणका मास्टर माइण्ड केशव दुलाल ?



मुलुक नै हल्लाउने नक्कली भुटानी शरणार्थी प्रकरणका ‘मास्टर माइण्ड’ केशवप्रसाद दुलाल को हुन् भन्ने चासो सर्वत्र देखियो । यहि चासोबारे पत्ता लगाउन ग्लोब नेपालले उनको पृष्ठभुमीको खोजी ग-यो । उनको पृष्ठभूमि के हो र उनी यो प्रकरणमा कसरी जोडिन पुगे भनेर खोज्दै जाँदा निक्कै रोचक तथ्य फेला परेको छ । त्यहि तथ्यलाई हामीले यँहा प्रस्तुत गरेका छौँ ।

दुलाल मोरङ जिल्ला, पथरी शनिश्चरे–१० आइयाबारी भन्ने ठाउँका स्थायी बासिन्दा हुन् । उनका तीन दाजुभाइ छन् । उनीहरुको तीन बिगाह जति जमिन छ, दुई भाइ अहिले पनि त्यँही खेतीपाती गर्छन् । दुलालले अध्ययन विराटनगरमै गरे । उनी स्नातक उत्तिर्ण हुन । क्याम्पस पढ्दा उनी लोकप्रिय विद्यार्थी नेता थिए । तर, विद्यार्थी राजनीतिमा उनी जिल्ला तहभन्दा माथि जान भने सकेनन् ।

उनको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको छ । यही राजनीतिक पृष्ठभूमिले उनलाई त्यतिबेला कांग्रेसको नेतृत्व गरिरहेका कोइरालाहरुसँग नजिक बनाएको थियो । उनको घर भएको ठाँउ अहिले मोरङको ३ नम्बर निर्वाचन क्षेत्र पर्छ । विद्यार्थी राजनीतिका जल्दाबल्दा दुलालको घर भएकै निर्वाचन क्षेत्रबाट संसदीय निर्वाचनमा गिरिजाप्रसाद कोइराला उम्मेदवार बन्थे । पछि सुजाता कोइराला पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । निर्वाचनमा दुलालले कोइरालाहरुलाई राम्रै सहयोग गर्ने गरेका थिए ।

२०६६ जेठ ११ गतेदेखि २०६७ माघ २३ गतेसम्म सुजाता कोइराला परराष्ट्रमन्त्री बनेकी थिइन् । त्यसबेला उनले सुजाताको स्वकीय सचिवको जिम्मेवारी पाएका थिए । त्यसबेला भुटानी शरणर्थीलाई तेस्रो मुलुकमा पुनर्वासको प्रकृया चलिरहेको थियो । उनको घरदेखि २१ किलोमिटर पूर्वमा पर्ने बेलडाँगीमा भुटानी शरणार्थी क्याम्प छ । भुटानी शरणार्थीसँग राम्रै घुलमिल भएका र परराष्ट्रमन्त्रीको स्वकीय सचिव भएका बेला शरणार्थी पुनर्वासको प्रकृया पनि राम्रोसँग बुझ्ने मौका दुलालले पाए ।

उनलाई थाहा भईसकेको थियो कि गृह मन्त्रालयमा ‘सेटिङ’ मिलाउन सकियो भने धेरै गैह्रभुटानी शरणार्थीलाई अमेरिका पठाउन सकिन्छ । त्यसपछि उनी गृहमा सेटिङ मिलाउन लागिपरे । चाँजोपाँजो मिलाउदै गर्दा उनको भेट ललितपुरका सानु भण्डारीसँग भयो । त्यसपछि विस्तारै गाँठो फुक्दै गयो । अब उनीहरु संगठित रुपमा ‘सेटिङ’ मिलाएर नक्कली शरणार्थी बनाउने व्यवसायमा लागे । उनीहरुको यो व्यवसायले सफलता पाउँदै गएपछि र राज्य संचालन गरिरहेका उच्च पदस्थ व्यक्तिहरुसँगको उठवस् देखेपछि शरणार्थी बनेर अमेरिका जान खोज्नेहरु उनको पछि ताँती लाग्न थाले ।

‘वाकपटुता’ विशेषता भएका दुलाललाई नजिकबाट चिन्नेहरु उनको मुखमा मोहनीमन्त्र छ भन्छन् । नयाँ मान्छेहरुबाट कुनै काम बनाउनु छ भने उनी पहिले गफले लठ्ठ बनाउन सक्छन् । विराटनगरका सञ्चारकर्मी गोपाल काफ्ले भन्छन्, ‘उनको गफ सुन्न थालेपछि मान्छे मोहित नहुने सायदै होलान् । तथ्य, तथ्यांकमा आधारित उनका गफ साँच्चै रसिला हुन्छन् ।’

काठमाडौं बसे पनि गाउँमा विकास निर्माणका योजना लैजान्थे । माथिसम्म पहुँच भएकाले योजना लैजाने र ठेकेदारबाट कमिसन लिने गर्थे । निर्वाचनका बेला जिल्ला जान्थे र चित्त नबुझेको पार्टीको उम्मेदवार छ भने हराउनतिर लाग्थे । दुलालले १४ औं महाधिवेशनपछि भने कांग्रेसको मूल राजनीतिबाट अलग भएको घोषणा गरेका थिए । आफूलाई बीपीका सच्चा अनुयाइ भन्दै हिड्थे ।

दुलाले काठमाडौंमै घरजम गरे । उनले दीपा हुमागाईंसँग विवाह गरेका हुन् । उनीहरुको एउटा छोरी छिन् । दीपालाई केशवको गाउँघरमा कसैले चिन्दैनन् । दीपा केही अघि क्यान्सर रोगी थिइन् । विदेशमा उपचार गराएपछि रोगमुक्त भईन् । अहिले यो प्रकरणमा दीपाको नाम फरार सुचिमा रहेको छ ।

आर्थिक रुपमा ठुलो प्रकरण रच्ने दुलाल, जीवन भने सादगी बिताउन मन पराउने रहेछन् । खानेकुरा मीठो नखोज्ने, जे अगाडि आउँछ, यो वा त्यो अथवा मीठो नमीठो केही नभनी खाने । खानका लागि भनेर केही कुरामा मरिहत्ते नगर्ने । पिउने कुरामा पनि उनको कुनै स्पेसल ब्रान्ड छैन ।

दुई चारजना सञ्चारकर्मी उनको खल्तीमै हुन्थे, जो उनले चाहेको समाचार बनाउन लगाउँथे । यतिसम्म कि भुटानी शरणार्थीको समाचार पनि उनकै योजनाअनुसार राष्ट्रिय सञ्चारमाध्यममा आउँथे ।

एक पटक के भएछ भने, पैसा दिएको तीन वर्षसम्म पनि अमेरिका जान नपाएपछि पीडितहरुको आक्रोस बढ्न थालेछ । उनले थामथुम पार्न प्रकृया अगाडि बढेकाले नहतारिन आग्रह गरेछन् । तर, पीडितहरुले ठूलै आक्रोस देखाएछन् । त्यसको एकसातापछि दुलालले गृह मन्त्रालयको उच्च तहका एक कर्मचारीलाई बेलडाँगी शरणार्थी शिविरमा प्रवेश गराएछन् । त्यसको एक घन्टापछि ‘गृहका प्रतिनिधि शरणार्थी शिविरमा’ शीर्षकको समाचार आएछ । यो समाचारपछि प्रकृया अगाडि बढ्दै रहेछ भन्ने ठानेर पीडितले पैसा माग्न छाडेको रमाइलो किस्सा अहिले पनि विराटनगरमा सुन्न पाइने रहेछ ।

कांग्रेस राजनीतिको मूलधारमा आउने प्रयास उनले धेरै गरेका थिए, तर, सकेनन् । धेरैजसो काठमाडौं नै बसोबास गर्ने भएकाले निर्वाचन ताका मात्र जिल्ला जान्थे । निर्वाचनमा पनि पार्टीको आधिकारिक उम्मेदवार हराउन लाग्थे । गत निर्वाचनमा मोरङ–३ बाट उठेका कांग्रेस उम्मेदवार सुनिल शर्मालाई हराउन अर्को बागी उम्मेदवार उठाएका थिए । मोरङ–२ बाट उम्मेदवार बनेकी सुजाता कोइराला हराउन पनि उनको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । कांग्रेसको १४ औं महाधिवेशनमा उनी क्षेत्रीय सभापतिका उम्मेदवार बनेका थिए । तीनजना उम्मेदवारमध्ये उनी तेस्रो भए ।