चन्द्रमाको दक्षिणी ध्रुव किन महत्वपूर्ण छ ?

चन्द्रमाको दक्षिणी ध्रुव किन महत्वपूर्ण छ ?


ग्लोब नेपाल
4.6k
Shares

कठमाडौं । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गरेर ठूलो सफलता हासिल गरेको छ । जान्नुहोस चन्द्रमाको दक्षिणी ध्रुव किन विशेष हुन्छ ?

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले चन्द्रयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर अन्तर्राष्ट्रिय विज्ञान जगतमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । त्यत्ति मात्र होइन, भारतले दक्षिणी ध्रुवमा जान उत्सुक विश्वका एजेन्सीहरूलाई पछाडि पारेको छ । यो ठूलो सफलता हो किनभने यसमार्फत् चन्द्रमाको सबैभन्दा बहुमूल्य स्रोतमा पुग्न सकिन्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा संसारभरका अन्तरिक्ष वैज्ञानिकहरू केको लागि प्रतिस्पर्धा गरिरहेका छन् ? सबैभन्दा ठूलो कुरा त्यहाँ पानीको उपस्थितिको सम्भावना हो । त्यो पानीका लागि युरोप, रुस र अमेरिकाका अन्तरिक्ष एजेन्सी मात्र नभई निजी कम्पनीहरू पनि चन्द्रमामा पुग्न चाहन्छन् किनभने त्यहाँ उपनिवेश बनाउने सम्भावना पनि त्यत्तिकै छ । आगामी दिनमा मंगलग्रहमा जानका लागि चन्द्रमा यो भूभाग महत्वपूर्ण अड्डा बन्नसक्छ ।

चन्द्रमामा पानी कसरी आयो ?

सन् १९६० को दशकमा अमेरिकी अन्तरिक्ष यान अपोलो चन्द्रमामा अवतरण गर्नुअघि नै वैज्ञानिकहरूले चन्द्रमामा पानी हुनसक्ने सम्भावना व्यक्त गरेका थिए । १९६० र १९७० मा माटोका धेरै नमूनाहरू चन्द्रमाबाट अपोलो मिसनमार्फत् ल्याइएको थियो । तर ती सबै सुख्खा थिए र तिनीहरूमा पानी थिएन ।

सन् २००८ मा ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ती नमूनाहरूलाई आधुनिक प्रविधिको साथ पुनः विश्लेषण गरे । तिनीहरूमा हाइड्रोजनको उपस्थिति पुष्टि भयो । यो हाइड्रोजन ज्वालामुखी खरानीमा पाइने चम्किलो क्रिस्टलभित्र फेला परेको थियो । सन् २००९ मा नासाले (इसरो) को चन्द्रयान–१ मार्फत चन्द्रमामा केही उपकरणहरू पठायो, जसको उद्देश्य उपग्रहको सतहमा पानीको उपस्थिति पत्ता लगाउनु थियो ।

सोही वर्ष नासाले अर्को मिसन पठायो, जुन चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण नगरी माथिबाट तस्बिर खिच्यो । त्यो मिसनले चन्द्रमाको सतह मुनि बरफ फेला पारेको थियो । यसअघि सन् १९९८ मा नासाको लुनार प्रोस्पेक्टरले पनि चन्द्रमाको परिक्रमा गर्दा दक्षिणी ध्रुवमा छायामा लुकेको खाल्डोमा रहेको हिउँको जानकारी संकलन गरेको थियो ।

चन्द्रमाको पानी किन महत्वपूर्ण ?

चन्द्रमामा जमेको अवस्थामा रहेको पानी पुरानो बरफको प्राचीन सिलसिलाको रूपमा रहेको छ । चन्द्रमाको ज्वालामुखीको बारेमा बहुमूल्य जानकारी हुन सक्ने भएकाले वैज्ञानिकहरू ती परम्परागत सिलसिलामा धेरै चासो राख्छन् । तिनीहरूमा उल्कापिण्डहरू मार्फत पृथ्वीमा आएका पदार्थहरू हुन सक्छन् र त्यो जानकारीमा महासागरहरूको उत्पत्तिको कथा पनि लुकेको हुन सक्छ ।

पानीको उपलब्धता प्रचुर मात्रामा भएमा यसलाई पिउनका लागि प्रयोग गर्न सकिन्छ । चन्द्रमामा अनुसन्धानका लागि लिइएका उपकरणलाई चिसो बनाउन पनि प्रयोग गर्न सकिन्छ । उक्त पानीबाट हाइड्रोजन छुट्याएर यसलाई इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ, जुन मंगल ग्रहमा जाने सवारी साधनका लागि प्रयोग गर्न सकिन्छ ।

सन् १९६७ मा संयुक्त राष्ट्र संघमा एउटा सन्धी भएको थियो, जसलाई संयुक्त राष्ट्र बाह्य अन्तरिक्ष सन्धि भनिन्छ । उक्त सन्धि अनुसार कुनै पनि देशले चन्द्रमाको स्वामित्व दाबी गर्न सक्दैन । तर त्यो सन्धिमा व्यावसायिक गतिविधि रोक्न सक्ने कुनै प्रावधान छैन ।

यसका साथै अमेरिकाको प्रयासमा २७ देशले पनि चन्द्रमामा अनुसन्धान र स्रोतको प्रयोगका लागि एउटा नियम बनाएर सम्झौता गरेका छन् । यद्यपि चीन र रुसले उक्त सन्धिमा हस्ताक्षर गरेका छैनन् ।

दक्षिणी ध्रुवमा खास के छ ?

दक्षिणी ध्रुवमा यान अवतरण गर्न धेरै गाह्रो छ । किनभने त्यहाँको सतह ठूलो खाडलै खाडलले भरिएको छ । जसका कारण त्यहाँ अवतरण गर्न निकै कठिन र चुनौतीपूर्ण छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्र यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि पनि धेरै अभियान असफल भइसकेका छन् । हालै रुसले यस उद्देश्यका लागि आफ्नो लुना–२५ यान पठाएको थियो । तर, त्यो असफल भएको थियो । अमेरिकाको अपोलो मिसन पनि त्यसो गर्न असफल भएको थियो । सन् २०१९ मा भारतको चन्द्रयान पनि त्यहाँ अवतरण गर्न असफल भयो ।

अहिले पनि चीन र अमेरिकाले आफ्ना अन्तरिक्ष यान दक्षिण ध्रुवमा अवतरण गराउने प्रयास गरिरहेका छन् । तर भारतले यस मामिलामा सबैलाई पछाडि पारेको छ । रायटर्स/एएफपी