राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाद्धारा सेप्ली झरना अवलोकन

राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाद्धारा सेप्ली झरना अवलोकन



ओखलढुंगा । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडाले आज पर्यटकीय स्थलको रुपमा परिचित सेप्ली झरनाको अवलोकन गरेका छन् । यो झरना ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं ७ पात्ले र वडा नं. ८ रागाँदिपको सिमानामा अवस्थित छ ।

आज झरनाको अवलोकन गर्दै सभापति खतिवडाले झरनामा सहज पुग्न भौतिक पूर्वाधार विकासका लागि तत्काल पहल गर्ने र आगामी बजेटमा प्रयाप्त रकम विनियोज गर्ने व्यवस्था मिलाउने बताए । बाटोको सुविधा र झरना अवलोक गरेपछि बास बस्ने व्यवस्था मिलाउन सक्ने हो भने देशकै एक प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्ने सम्भावना देखेको सभापति खतिवडाको भनाइ थियो ।

नेपालकै अग्लो झरनाहरु मध्ये पर्ने यो झरना प्रचार प्रसार र पर्यटन प्रर्वद्धनको अभावमा गुमनाम जस्तै बनेको छ । भौतिक पूर्वाधार विकास गर्न सके आन्तरिक तथा वाह्य पर्यटकहरुको घुइँचो लाग्ने देखिन्छ ।

यस झरना स्थलमा बनझाँक्रीका गुफाहरुको अवलोकन गर्न सकिन्छ । लेकाली वन्यजन्तु तथा चराचुरुङ्गीहरुको आवाज सँगै झरनास्थलमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । ठूला पहाडको बीचमा रहेको यस झरनास्थलमा पुग्न मानिस हिड्न सक्नेगरि बनाएको बाटो मात्र छ । झरना नजिक भिरमौरीहरुको प्रशस्तै गुडहरु रहेका छन् । झरनास्थल नजिकै रहेर सुनिरहँदा झरनाबाट बग्ने पानीले फरक फरक खालको आवाज निकाल्ने स्थानीयबासीको भनाइ छ ।

झरनाको पोखरीको भित्तामा पुर्णिमाको दिनमा मात्रै खुल्ने एउटा ढुङ्गाको ढोका रहेको स्थानीयहरु बताउछन् । यो ढोकाबाट अझैपनि बनझाँक्रीहरु भित्र बाहिर गर्ने गरिरहेको उनीहरुको विश्वास छ । छाँगाको पोखरीमा एउटा ठूलो अजिंगरले सुनजस्तै देखिने पहेलो वस्तुलाई बेरेर बसीरहेको स्थानीयको भनाइ छ ।

हाल सडक पुगेको स्थानबाट झरनास्थल सम्म पुग्न करीब दुई घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । झरनासम्मै मोटरबाटो पुर्‍याउन त्यँहाका स्थानीय बासिन्दाले वर्षौँदेखि माग गर्दै आएका छन् ।

सभापति खतिवडाले पर्यटन मन्त्रालयसँग समन्वय गरेर सेप्ली झरनालाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।