तीज भड्किलो भयो भन्ने बहस यसपाली पनि चल्यो । पछिल्ला केहि वर्षदेखि तीज नजिकिएसँगै यो बहस हुने गरेको छ । जब तीज सकिन्छ, यो बहस पनि एक वर्षको लागि त्यसै सेलाएर जान्छ ।
अहिले बहस मुख्य रुपमा दुईवटा पक्षमा केन्द्रित भएको देखिन्छ । एउटा, एक महिना अगाडिदेखि होटल तथा पार्टी प्यालेसहरुमा नाँचगानको कार्यक्रमहरु गर्ने र दर खाने चलन । अर्को आजकलको तीज गीत ।
एक महिना अगाडिदेखि दर खाने चलन बसेपछि एकथरीले यसलाई भड्किलो भन्न थालेका छन् भने अर्कोथरीले समयअनुसारको परिर्वतन भनेका छन् । गीतको सन्दर्भमा पनि त्यस्तै मतभेद देखिन्छ । अबको सिर्जनाहरु पनि पुरानै ढर्राको सासुले दिएको दुःख पोखाउने हुन आवश्यक छैन भन्ने मत र आजकालको गीत तथा नृत्यमा अश्लीलता र अमर्यादित भयो भन्ने मतबीच बहस छ ।
बहस राष्ट्रियस्तरका मिडियादेखि सामाजिक संजालसम्म फैलिएको छ । तर्क वितर्कमा आआफ्नै लजिक होलान् । चाडपर्व, रितिरिवाज, चालचलनमा मान्छेका आआफ्नै बुझाई, दृष्टिकोण हुन्छन् । ती सबैको भावनाको सम्मान गर्दै हाम्रा चाडपर्वहरुको निरन्तरता भइरहनु नै हाम्रो सांस्कृतिक परम्पराको जगेर्ना हो ।
हाम्रा अनेक महत्वपूर्ण चाडपर्वहरु छन् । ती चाडपर्व सबैले समान रुपले मनाएको भने समाजमा भेटिदैन । निम्नवर्गको मान्छेले जसरी मनाउँछ उच्च वर्गको मान्छेले त्यसरी नै मनाउँछ भन्ने होइन । चाडपर्वको महत्व एउटै होला तर मान्ने तरिका फरक हुन सक्छ ।
तीज पनि वर्ग अनुसार मनाइएको भएर भड्किलो भयो कि भन्ने ठाउँ छ । अहिले पनि दुर्गम गाउँहरुमा चारपाँच दशक अगाडि जसरी तीज मनाइन्थ्यो त्यसरी नै मनाउने गरेको पाइन्छ । केही सुविधा सम्पन्न शहरहरुमा आधुनिक रुपले मनाइयो भन्दैमा पूरै चाडलाई नै भड्किलो भन्नु न्यायसंगत होइन ।
तीज जस्तै दसैं तिहार पनि मनाउने तरिकामा आधुनिकता भित्रिएको छ, तर यी चाडहरुमा भने बहस भएको देखिदैन । हाम्रा चाडपर्वहरु असाध्यै महंगो बनेका छन् । देखासिकी गर्नुपर्ने नेपाली समाजमा सामान्य वर्गको मानिसले चाडपर्व मान्नै नसक्ने अवस्था सिर्जना भएको छ । कतिपयले ऋणपान गरेर चाडपर्व मनाउने र वर्षभरी त्यहि ऋण तिरेर बस्ने गरेको पनि भेटिन्छ । कतिपयले त ऋण पाउने अवस्था पनि छैन । गत वर्ष दसैंमा निम्न आय भएका चितवनका एकजनाले दसैंको अष्टमीको दिन छिमेकीकोमा खसी काटेको देखेर उधारो मासु माग्न गए । मासु नपाएपछि फर्किएर आत्महत्या गरे । यो मिडियाबाट सार्वजनिक भएको घटना हो । सार्वजनिक नभएका यस्ता कयौँ घटनाहरु हाम्रो समाजमा जताततै भेटिन्छ ।
चाडपर्व मनाउने चलनमा भड्किलोपना भएको तीजमा मात्र होइन हरेक पर्वमा देखिन्छ । चाडपर्व मात्र होइन हाम्रा दैनिकी नै भड्किलो भइरहेको छ । यसै सन्दर्भमा मोफसलमा बसेर कलम चलाउने कवि सिमा आभास लेख्छिन्, धोती फेरेर खाना खान छोडे, जनै लगाउन छोडे, कुखुरो खान थाले, मन्त्र जप्न छोडे, दौरासुरूवाल लगाउन छोडे, मोवाइल बोक्न थाले, बासी खान थाले, दारू सेवन गर्न थाले, सर्ट पेन्ट टाइ लगाउन थाले, गुरूकुलिन शिक्षा छोडेर अंग्रेजी पढ्न थाले, टुप्पी पाल्न छोडे, जुँगा काट्न थाले, खराउ लाउन छोडे । यी तमाम बिषयको बहस छोडेर दिनदिनै आइमाईले दर खाए, विकृति ल्याए भनेर मडारिन्छन् ।’
समय अनुसार समाज परिर्वतन हुन्छ । चालचलनमा परिर्वतन आउँछ । विचारमा परिर्वतन आउँछ, बुझाइमा परिवर्तन आउँछ । त्यसैले हिजो जे थियो आज त्यहि हुनुपर्छ भन्ने होइन । निरन्तरताको लागि पनि परिर्वतन जरुरी हुन्छ । तर, भावी पुस्तालाई संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हस्तान्तरण गर्दैगर्दा गलत अर्थ नलागोस् भन्ने कुरामा भने सजग हुन जरुरी छ । चाडपर्वको महत्व, गरिमा जोगाइ राख्न आवश्यक छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीज को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रमा उल्लेख छ ।
विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्व हो, हरितालिका तीज।
कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मूल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकूल हुने कार्यहरू गर्नु विकृति हो।
प्रतिक्रिया