गठबन्धनले १ सिट कसरी गुमायो ?

गठबन्धनले १ सिट कसरी गुमायो ?



काठमाडौं । १९ पदका लागि भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार सत्तारुढ गठबन्धनले १ सिट गुमाएको छ । यो १९ मध्ये एक सिटमा एमाले निर्वाचित भएको छ । यो जीतसँगै एमाले क्लिन स्वीप हुनबाट जोगिएको छ । कोशी प्रदेशमा गठबन्धनको महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । उनको स्थानमा एमालेकी रुक्मणी कोइराला निर्वाचित भएकी हुन् ।

गठबन्धनबाट पराजित हुने कार्की एक मात्र उम्मेदवार हुन् । उनलाई निर्वाचित हुन एक सय मत अपुग भयो । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

अन्य प्रदेशमा गठबन्धनका सबै उम्मेदवार निर्वाचित भए । कोशीमा अन्यतर्फबाट उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भए । उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन् । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तहतर्फबाट भने उनले मत पाउन सकेनन् । उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धनले कोशीबाट उम्मेदवार बनाएको थियो।

मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र रुपा चौधरी निर्वाचित भए । ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने महिलातर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ ।

यस्तै बागमतिमा महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा ९एकीकृत समाजवादी०बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी भएका छन्।

गण्डकीमा अन्यबाट काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता-अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका छन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत पाए, परियारले ३ हजार ७ सय ७९ मत र शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन् ।

लुम्बिनीमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन्। निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुँदा सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भइन्।

कर्णालीमा गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन् । मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ ११५ मत, विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १२० मत र रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका बलदेव बोहोरा, नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भएका छन्। चन्दले ४,४५३ मत, भट्टले ४,४१९ मत, बोहराले ४,३४७ मत पाएका छन् । सत्तारुढ गठबन्धनमा दुई सिटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो ।