पाउलान् मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत ?

पाउलान् मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत ?



काठमाडौं । सत्ता साझेदारीमा फड्के किनाराको साक्षी मात्र बनाएको आक्रोस नेकपा एकीकृत समाजवादी पार्टीले बागमति प्रदेश सभामा पोख्ने भएको छ । आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बागमति प्रदेशमा एकीकृत समाजवादीको शक्ति पहिचान गर्न चुनौति दिएर अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट निस्केका थिए ।

अध्यक्ष नेपालको यो चुनौतिसँगै हाम्रो नेपाल पार्टीबाट एकजना सांसद थुतेर सोमबार विश्वासको मत लिने तयारीमा रहेका बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको दाँतमा ढुंगा लागेको छ । गठबन्धनभित्रै असमझदारी भएपछि सोमबार विश्वासको मत लिने कार्यक्रम सम्भवतः अर्को दिनलाई सर्न सक्ने माओवादीका एक नेताले बताए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मुख्यमन्त्री जमरकट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । त्यसअघि कांग्रेस नेता शेखर कोइरालाले बागमति प्रदेशबाट कांग्रेसको नेतृत्वमा सरकार गठन हुने शनिबारको एउटा कार्यक्रममा खुलासा गरे । भित्री तयारीको सूचनासहित नेता कोइरालाले खुलासा गरेका हुन् भने जम्मरकट्टेलले विश्वासको मत पाउने छैनन् ।

सत्ता गठबन्धनको एमाले (२७), माओवादी (२१) र एकीकृत समाजवादी (७) जोड्दा ५५ मात्र हुन्छ । विश्वासको मतका लागि ५६ चाहिन्छ । २ सांसद रहेको हाम्रो नेपाल पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मुख्यमन्त्री जमरकट्टेलले मन्त्रीको सपथ गराएका छन् । एमाले पनि सरकारमा सहभागी भएपछि मुख्यमन्त्री जम्मरकट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

सात प्रदेशमध्ये एकीकृत समाजवादीलाई एउटा मुख्यमन्त्री दिइनुपर्ने माधव नेपालको एकसूत्रीय अडान कायम रहे मुख्यमन्त्री जम्मरकट्टेलको विश्वासको मत असफल हुने निश्चित छ । यदि एकीकृत समाजवादीकै कारण बागमति सरकार ढल्यो भने राजनीतिले नयाँ कोर्ष लिने विश्लेषण गरिएको छ ।

राजनीतिलाई नयाँ कोर्षमा जान नदिन एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई थुमथुम्याउने पक्षमा प्रधानमन्त्री दाहाल देखिएका छन् भने एमाले अध्यक्ष ओली त्यसको ठ्याक्कै विपरित छन् । त्यत्ति मात्र होइन, ओली अध्यक्ष नेपाललाई गठबन्धनभित्र अछुतको व्यवहार गरिरहेका छन् । यो परिवेशमा अध्यक्ष नेपालसँग दुईवटा मात्र विकल्प बाँकी रहेको विश्लेषण गरिएको छ । गठबन्धनमा विद्रोह गरेर एकीकृत समाजवादीको सामथ्र्य देखाउने वा निरिह बनेर फड्के किनाराको साक्षी बन्नेबाहेक अध्यक्ष नेपालसँग अर्को विकल्प देखिँदैन ।

अध्यक्ष नेपालले कुन विकल्प रोज्छन् त्यो भने भोलिका दिनमा मात्र थाहा हुन्छ । तर सत्ता गठबन्धनभित्र समस्या सतहमा देखिने थालिसकेको छ । उपनिर्वाचनमा गठबन्धन दलका आ–आफ्ना उम्मेदवार, प्रधानमन्त्री दाहाल कांग्रेससँग नजिकिनुलगायतका कारणले गठबन्धनभित्रको समस्या सतहमा आएको हो । गठबन्धनभित्रको समस्या कति गहिरो छ भन्ने कुरा बागमति प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले सोमबार लिने विश्वासको मतबाट मापन हुनेछ ।