काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन् ।
ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो ।” उनका अनुसार, बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए ।
जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए । उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे ।
उनले यसअघि जस्तो कुनै वादविवाद नभएको र बैठक सकारात्मक रहेको बताए । भेटका क्रममा ट्रम्पलाई आफूले युद्धमैदानको नक्सा देखाउँदै कुन क्षेत्रमा कसको नियन्त्रण छ भन्नेबारे प्रष्ट पारेको पनि राष्ट्रपति जेलेन्स्कीको भनाई छ ।
युक्रेनी नेताहरुले पनि अमेरिका लगायत देशहरुले सुरक्षाको ग्यारेन्टी दिने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीबीचको भेट दुई हप्ताभित्र हुने बताएका छन् । जर्मन चान्सलर फ्रिडरिख मर्जले ट्रम्पको यो भनाइलाई पुष्टि गर्दै शान्ति प्रक्रियाको लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरे ।
ट्रम्पले युक्रेनका लागि दिएको सुरक्षा ग्यारेन्टीसम्बन्धी घोषणालाई युरोपेली नेताहरुले स्वागत गर्दै यो युरोप र युक्रेन दुवैका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन् ।


प्रतिक्रिया