बेलायतमा नेपाली राष्ट्रिय फुटबल टोलीको बेइज्जत

बेलायतमा नेपाली राष्ट्रिय फुटबल टोलीको बेइज्जत

आयोजक मालामाल, खेलाडी रित्तै



काठमाडौं । दुईवटा मैत्रीपूर्ण खेल खेल्न बेलायत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको हुर्मत लिने काम भएको छ । अल्टरसट टाउन क्लबको निमन्त्रणामा बेलायत पुगेको नेपाली टोलीले इग्ल्यान्डको ‘सी’ र गोर्खा सैनिकसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

इबीबी रंगशालामा आयोजना गरिएको उक्त प्रतियोगितामा कमजोर प्रदर्शनमात्र होइन, हिथ्रो विमानस्थलमा अवतरण गर्ने वित्तिकैदेखि नेपाली खेलाडीहरुको हुर्मत लिने काम भएको थियो । खेलाडीलाई होटलमा राखिएन, उनीहरुलाई होस्टलमा बस्ने प्रवन्ध गरिएको थियो ।

होस्टलमा बस्न अस्वीकार गरेपछि आयोजकले खेलाडीलाई सम्झाएका थिए । अन्ततः विकल्प नभएपछि उनीहरु होस्टलमै बस्न बाध्य भएका थिए । इग्ल्यान्ड ‘सी’ सँग खेलाडीमा दयनीय प्रदर्शन मात्र होइन, उनीहरुसँग आयोजकले गरेको व्यवहारले नेपाली दर्शकको मनमा चोट पुगेको थियो ।

खेलाडीका लागि पिउने पानीको समेत व्यवस्था थिएन । प्रत्येक खेलाडीले एउटा स्याउ र केरा प्लास्टिकको झोलामा हालेर मैदानमा छिरेका थिए । जर्सी कुन लगाउने भन्ने विवादले ठूलै रुप लिएको थियो । नेपाली दूतावास लण्डनले हस्तक्षेप नगरेको भए सम्भवतः मैत्रीपूर्ण खेल नहुने वातावरण विकसित हुँदै थियो ।

दुःखसुख गरेर इग्ल्याण्ड ‘सी’ सँग नेपाली खेलाडीहरु भिडे । झन्डै ९५ प्रतिशत समय नेपाली क्षेत्रमा बल खेलिएको थियो । गोलकिपर किरण चेम्जोङको प्रदर्शनलाई दर्शकले धेरैले रुचाए । अन्य खेलाडी गोल हुनबाट बचाउन रक्षात्मक भएर प्रस्तुत भएका थिए । जसले गर्दा इग्ल्यान्ड ‘सी’ ले नेपालविरुद्ध २ गोलभन्दा बढी गर्न सकेन ।

नेपाली राष्ट्रिय फुटबल टोलीको रगत पसिनामा आयोजक अल्टरसट टाउन क्लब मालामाल भएको चर्चा बेलायतका नेपाली माझ चलेको छ । ८ हजार क्षमता रहेको इबीबी रंगशालामा फुटबल हेर्नका लागि वयस्कलाई १० र १७ वर्ष मुनिकालाई ५ पाउण्ड टिकट तोकिएको थियो ।

फुटबल हेर्नका लागि स्कटल्यान्ड, वेल्स र मिडल्यान्डबाट घन्टौं ड्राइभिङ गरेर खेलस्थलमा दर्शक आइपुगेका थिए । दर्शकबाट करोडौं रुपैयाँ संकलन गरिएको थियो । कमल कोने गुरुङ नेपाली समुदायका संयोजक हुन् भने दिलरास गुरुङ र कुमार गुरुङले टिकट संयोजन गरेका थिए ।

अल्टरसट टाउन क्लबका अध्यक्ष साहिद अजिममार्फत् एनआरएनए बेलायतका पूर्वअध्यक्ष सूर्य गुरुङले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग समन्वय गरेर नेपाली राष्ट्रिय फुटबल टोलीलाई इग्ल्यान्ड बोलाइएको थियो । एकजना पाकिस्तानी मूलका व्यक्तिको आमन्त्रणमा नेपालको राष्ट्रिय टोलीलाई बेलायत पठाउनु नै गलत भएको जानकारहरु बताउँछन् ।

नेपाली खेलाडीलाई देखाएर आयोजकले कति कमाइ गर्‍यो त्यसको हिसाब किताब पारदर्शी छैन । खेलाडीलाई पारिश्रमिक दिने विषय धेरै टाढाको भयो । बेलायती भूमिमा खेल्न पाउनु नै उपलब्धी भएको आयोजकको भनाइ छ ।

यता नेपालमा पनि अफिसियल बनाएर दर्जनभन्दा बढी व्यक्तिलाई बेलायत पुर्‍याउन एन्फा पदाधिकारी सफल भएका थिए । बेलायत पुगेका ति अफिसियलबाट एन्फाका केही पदाधिकारीले राम्रै रकम असुल गरेको चर्चा नेपाली खेल क्षेत्रमा चलेको छ । एन्फाले अनाधिकृत व्यक्तिलाई बेलायत लैजान लागेको सूचना ढिलो गरी युवा तथा खेलकुद मन्त्रालयले प्राप्त गरेको थियो । मन्त्री विराजभक्त श्रेष्ठले एन्फा पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टिकरण मागेका थिए । मन्त्री श्रेष्ठले हस्तक्षेप गरेपछि झन्डै १५ जना अफिसियलको बेलायत यात्रा क्यान्सिल भएको थियो ।

तस्बिर साभारः नेपाल लिंक