जन्म र मृत्युको चेपमा बाँचेको जीवनले अनेकौं आरोह–अवरोह पार गर्दै अन्तिममा विश्राम लिन्छ र सकिन्छ, जो शाश्वत छ । तर एउटा जीवन कसरी, के गरी र कतिसम्म जीवित रहन्छ, त्यसको मापन बाँचुञ्जेलको कर्मले गर्दछ । कसैले सामान्य, जटिल त कतिले अर्थपूर्ण जीवन बाँचेका हुन्छन् भने कसैले एकाउन्न वर्षमै संसार छाडेर पनि समाज, समुदाय, भाषा र देशको लागि मास्टर मित्रसेन भएर बाँचेका भेटिन्छन् । जसको पाइला–पाइलामा जीवनका सचित्र दर्शन भेटेपछि लेखक विजय हितानले युद्धभूमिमा लागेको घाउलाई सङ्गीतले सेकाएर जिवन्त बनाएका छन् । विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार हितानले पर्या–साहित्यलाई प्रमुख विषय बनाउँदै आएको देखिन्छ । तर यो उपन्यासमा लाहुरेले भोगेका जीवन भोगाई र ऐतिहासिक पात्र मित्रसेनको खोज अनुसन्धान गरी युद्ध–साहित्य मार्फत नेपाली साहित्य फाँटमा एउटा नयाँ इँटा थप्ने काम गरेको छ । जो लाहुरेको रेलिमाई गीतको मेरुदण्ड आख्यानमा रुपान्तरण भएर उभिएको छ ।
उपन्यासको नाम ‘लाहुरेको रेलिमाई’ सुन्दै फेन्टासी वा रोमान्सले भरिपूर्ण होला भन्ने लाग्छ । तर पढ्दै जाँदा विश्वयुद्धको कहालीलाग्दो भुमरी चलिरहेको र नौजवान युवाहरू त्यत्तैतिर लागिरहेका कथावस्तुले अत्याससँगै कौतूहलता जगाउँछ । त्यो उमेरको जोस र भविष्यको खोजीमा निस्केका मुख्य पात्र मित्रसेन पनि खाली खुट्टाले धेरै दिन हिँडेर रेल स्टेशन पुग्छ । त्यहाँबाट रेलको पट्यारलाग्दो यात्रापछि फेरि बम्बैबाट पानी जहाजमा महिनौंसम्म सरर लाग्दै गर्दा मात्र युद्धमा होमिँदै गरेको थाहा हुन्छ । जहाजमा भएका सयौं युवाहरू कसैले प्रश्न नगरे पनि मित्रसेनले प्रश्न उठाए, तर अरूले एकै वचन नबोलेपछि त्यही ढिसमिस भएको प्रसङ्गले त पल्टनमा मित्रसेनले विद्रोह पो गर्छ कि भन्ने आभास दिलाउँछ ।
तर पानी जहाजको लामो यात्रामा मन भुल्याउन बेलाबेला हुने नाचगान, मादले, झाम्रे, झ्याउरे जस्ता गीतहरूलाई जोडेर आफ्नै गाउँघरतिर फर्काउन खोज्नु लेखनकलाको सुन्दर पक्ष मान्न सकिन्छ । पानी जहाजले बम बारुदसँग खेल्न लगिरहँदा जहाजभित्र गरेका रमाईला गतिविधिले सोह्र बर्से मित्रसेन पात्रलाई रौसे पनि देखाउँछ । यति हुँदाहुँदै पनि घरपरिवार र गाउँको यादमा अविवाहित साथी नरसिंहले पोखेको दुखेसोले कटक्क मन खान्छ । गिभान्ची जर्मनीसँगको लडाईलाई सविस्तार प्रस्तुत गरेको देख्दा लेखक आफै पनि त्यो भिडन्तमा होमिएजस्तो भान हुन्छ । गोर्खालीको पल्टनमा प्रयोग गरिने खैनी, बिँडी जस्ता कोर्ड भाषाको प्रयोग, साह्रो गाह्रो पर्दा भास्नुनाथलाई सम्झिने चलन, व्यारेकमा पण्डितले पूजा गरि बल माग्ने हिन्दु संस्कारलाई युद्धसँगै परिचित गराउँदै गर्दा गैरहिन्दुहरू बाध्यतामा देखिन्छन् ।
उपन्यासकारले निक्कै मिहिनेतका साथ खोज अध्ययन गरी युद्ध र सङ्गीतलाई फ्युजन गरिएको ‘लाहुरेको रेलीमाई’ नामैले मुख्य पात्र मित्रसेनको चरित्र चित्रित भएको छ ।
विश्वयुद्ध सुनेको मात्र, प्रत्यक्ष लडेर आएका मित्रसेनजस्ता बहादुर गोर्खालीहरूको कारण त्यो विरासत आजसम्म रहिरहेका छन् । उपन्यासभित्र पहिलो र दोस्रो विश्वयुद्धको नालीबेली उतारेकोले ज्ञानप्रद छ भने अर्कोतिर गोर्खालीहरू बहादुर, सोझा, इमान्दार हुनुमा यस्ता युद्धहरूले प्रमाणित गरेको देखिन्छ । मर्ने र मार्ने भनेर सबपरिवार त्यागेर हिँडेका विभिन्न मुलुकका सैनिकहरूभन्दा गोर्खालीले नियम पालना गर्छ भन्ने सानो प्रसङ्गमा ओसिसाहेबलाई कुखुरा फार्मवालाले भने, ‘तिम्रा गोरा सिपाही भएका भए नसोधी अण्डा लगेर खाने थिए, तर गोर्खालीहरू सिधा रहेछन् । मेरो आज्ञाले मात्र अण्डा खाए ।’ भिषण युद्घताका बेलायती राजकुमारीले प्रोत्साहन स्वारुप गोर्खा पल्टनलाई सानो डिब्बामा कोसेली सहित राजकुमारीको सुन्दर फोटो पनि पठाएकी थिईन ।
युद्धभूमिबाट मित्रसेनले राजकुमारीको फोटो हेर्दै आफ्नी श्रीमती कलावतीलाई लेखेको पत्र अत्यान्तै मार्मिक र भित्रकतै चस्स छुन्छ । शत्रु पक्षबाट मनोबल गिराउन गरेको अनावश्यक प्रचारबाजी, पल्टन भित्रै विद्रोह ल्याउने चालबाजी, भगौटे सिपाहीहरू, देशानुसारको पल्टनमा हुने भेदभाव, म्यागजिन हराउँदा तलबबाट बीस पैसा काटेको, सेलरमा कोईला जलाएर सुत्दा बाह्र जनाको ज्यान गएको, प्रथम विश्वयुद्धमा निरङ्कुस शासक हिटलरलाई खुकुरीले लखेटेको, जेनेभा सन्धिको विरुद्ध ग्यास एटेक गर्दा मोजा खोलेर नाक मुख थुनेको, मित्रसेनको साथी नरसिंहलाई आँखै अगाडि दुश्मनले छतविछत पारेको, घरबाट आएको पार्सल, मित्रसेनले लेखेको चिट्ठीलाई अफिसले सेन्सर गरेको, टिग्रिसमा भएको भयङ्कर युद्धलाई पढ्दै गर्दा कुनै चलचित्र हेरेजस्तो लाग्छ ।
युद्धकला मध्ये मित्रसेनले थ्वाब र काफिया लगाएको, कुलवीर थापा मगरले भिक्टोरिया क्रस पाउदा मित्रसेन आशावादी भएको, डुङ्गा नचलाउने गोर्खाली सिपाहीहरूले खरको डोरी बाटेर नदी तरेको आफ्नैशैली देखिन्छ । फ्रान्सको कोम्पिन शहरमा जर्मनी र बेलायतबिच युद्धविराम भएको, फेस्तुबर्गको लडाईमा मित्रसेन घाईते भएर अस्पतालमा होस आउँदा विज्ञान र प्रविधिको उपचारभन्दा पनि आमाले घाममा सेकाउँदै शरीरमा तोरीको तेल दलिदिएकोले बलियो र छिटो निको भएको भनाईजस्ता चाखलाग्दा एक–एक प्रसङ्गको व्याख्या र विस्तार गर्न लेखकले प्रसस्त ठाउँ दिएको ‘लाहुरेको रेलिमाई’ उपन्यास एकदमै पठनीय छ ।
बाबु बाजेले गर्दै आएको कर्मलाई निरन्तरता दिन आआफ्नो इच्छा र रुचिमा भर पर्ने गर्छ । खेती किसानी होस् या व्यापार वा जागिर, के मित्रसेनले आफ्नो सन्तानलाई फौजीमा लगाउन चाहन्छ ? तर लडाई सकेर छुट्टीमा आएको मित्रसेन फेरि पल्टन फर्केन । लडाईको अन्धकारमय मैदानबाट बाँचेर घर आईपुग्दा श्रीमती कलावतीले छातीमा टाँसेर मित्रसेनलाई चिमोटेर आफ्नो श्रीमान् हो कि होइन भनेर जाँचेको मिठो प्रसङ्ग पनि छ । त्यसपछि क्याम्पले लालबुक हातमा थमाईदिएपछि मात्र मित्रसेनले आफै अवकाश लिने सोचको खुलासा गरेको पाईन्छ । लाहुरेको जागिर छाडेपछि मुख्य पात्रलाई राईफलबाट कलम, दोकान, गीतसङ्गीत हुँदै सामाजिक कामबाट पारिवारिक जीवनमा फर्काईएको छ ।
समाजमा आफ्नो भाषा, संस्कृति, सङ्गीतलाई उठाउँदै भास्नु, धाराखोला, तोतारानी, पठानकोटको सेरोफेरोमा कार्यक्रमहरू गर्दै अभियानै चलाए । लाहोरबाट लाहुरे भएको मित्रसेनले आठ पढेको भए पनि परिस्थिति अनुसार चल्न सक्ने र परिवारप्रति जिम्मेवार देखाईएको छ । जहाँ पुगेर जे जस्तो कर्म गरे पनि पुख्यौँली घर नेपालको बाग्लुङ, तानसेन, पाल्पातिरको यात्राले मादल बजाउन सिके भने गाउँलेको विवाहमा पाडो ढालेर गाउँभरि बिलो बाँडेको, भुटुवा र रक्सीको प्रसङ्गसँगै सङ्गीतप्रतिको लगाव र मोहमा अचाक्ली डुबेको देखिन्छ । नेपाललगायत कुनाघाट हुँदै कलकत्ता, गोरखपुर, शिलोङलगायत विभिन्न ठाउँमा कार्यक्रम, खुकुरी नाँच र नाटकहरू प्रस्तुत गर्दै हिँडेको एउटा अथक र प्रतिभाशाली पात्रको रूपमा चित्रण गरिएको छ ।
युवाहरूको जोस, लाहुरे जाने चलन र युद्धकला कौशललाई समेट्दै युद्धक्षेत्रमा गरिने क्रियाकलापबाट जिज्ञासा मात्र होइन आम पाठकलाई युद्ध इतिहास बारे भरपूर जानकारी दिएको छ । बेलाबेला गीतको टुक्राहरूले फूलबुट्टाको काम गरेका छन् ।
नेपाली मन, भारतको जन्म, ब्रिटिसको जागीर भए पनि पुख्यौंली थलो नेपालको राजा त्रिभुवनकोभन्दा बेलायती राजा जर्जको सम्झना गरेको देखिन्छ । नेपाल आएर दरबारमा राजाको मन जितेको र श्री ३ जुद्धशमशेरबाट बक्सिस पाएको । हिन्दीभन्दा पनि नेपाली भाषा नै प्रयोग गर्नुपर्छ भन्ने अडान अनि साहित्यप्रति अतीव प्रेम र सङ्गीतलाई प्रमुख महत्व दिएकाले नै मास्टर मित्रसेन बनेको छ । आफ्नो मात्र होइन पूरै गोर्खालीको सान, इज्जत, पहिचान र भाषा, धर्म, लिपीलाई उजागर गर्दै ‘बरालको आसुँ’ पुस्तक प्रकाशित गरिदिएर लेख्नमा पनि प्रोत्साहित गरको देखिन्छ । भारतका ठूला–ठूला सङ्गीत र चलचित्र उद्योगबाट सुनौलो अवसर आउँदा मित्रसेनले ठाडै अस्वीकार गरे । पैसा र नाम मात्र सबथोक होइन, आफ्नो संस्कृति र नेपाली गीत सङ्गीतलाई उठाउन अर्थपूर्ण योगदान गरेको छ ।
निचोडमा भन्नु पर्दा भारतको हिमाञ्चल प्रदेशको काँगडा, भास्नु छाउनीको धर्मशालामा जन्मेका मित्रसेन थापामगरको डायरीलाई आधार मानेर लेखिएको यो आख्यान यथार्थपरक शैलीमा उनिएको एउटा एतिहासिक दस्तावेज हो । पुख्यौली घर नेपालको बाग्लुङ भए पनि बाबुबाजेहरू गोर्खाली फौजमा सामेल भएर युद्घ गर्दै भारतको काँगडा पुगेपछि रोकिए र त्यहीँ बस्दा रहँदा मित्रसेनको उदय भएको बुझिन्छ । यस बारे उपन्यासकारले निक्कै मिहिनेतका साथ खोज अध्ययन गरी युद्ध र सङ्गीतलाई फ्युजन गरिएको ‘लाहुरेको रेलीमाई’ नामैले मुख्य पात्र मित्रसेनको चरित्र चित्रित भएको छ । सहायक पात्रहरू बहादुरसिंह बराल, कलावती, कर्णबहादुर राना मगर, नरसिंह, भिम कुमार, कुलवीर थापा मगरलगायतका भूमिकाले कथानक श्रृङ्खलालाई जोड्ने काम गरेको छ भने गौण पात्रहरूले सम्याउने कोसिस गरेको देखिन्छ । आदिखण्डबाट नै अल्लारे युवाहरूको मनोदशालाई विभिन्न कोणबाट छर्लङ्ग पारिएको छ ।
भारत र अन्य भूगोल भएर होला केही शब्द प्रयोगमा मिसावट देखिए पनि अपभ्रंश शब्दहरूलाई केलाउँदै भाषाशैली सहज बनाएको छ । कथानक संरचनालाई स्थिर राख्न विभिन्न पात्र, ठाउँ र परिवेशको उपकथाले बाँध्ने काम गरेको देखिन्छ । लाहुरेको रेलिमाईलाई दुई भागमा लिन सकिन्छ, युद्ध र गीतसङ्गीत । मध्यखण्डमा युवाहरूको जोस, लाहुरे जाने चलन र युद्धकला कौशललाई समेट्दै युद्धक्षेत्रमा गरिने क्रियाकलापबाट जिज्ञासा मात्र होइन आम पाठकलाई युद्ध इतिहास बारे भरपूर जानकारी दिएको छ । बेलाबेला गीतको टुक्राहरूले फूलबुट्टाको काम गरेका छन् ।
उपन्यासको अन्तिमखण्डमा भने मित्रसेनले घरपरिवारसँगै समाज र गीतसङ्गीत मार्फत मौलिक भाषा, रैथाने भाका, गोर्खाली गाथालाई परिचित गराउनु लेखकको सबल पक्ष हो भने मुख्य पात्र वास्तवमै नेपाली गीतसङ्गीतको बलियो जग भएर उभिएको छ । ‘चुइँचुइँ चुइँचुइँकिने जुत्ता, मलाई खुत्रुक्कै पा-यो जेठान, अब त जाउँ कान्छी घर, लाहुरेको रेलिमाई फेसनै राम्रो’ जस्ता गीतको सर्जक मित्रसेनको सबपरिवार हैजाले निल्दा, उपन्यासले धेरै बिलौना पोखेको देखिन्न भने दोस्रो श्रीमती लाजवन्ती र छोरा दिग्विजयको खासै चर्चा छैन ।
आफ्नो रुचि अनुसारको कर्मले सफलता दिलाउँछ भन्ने विषयलाई उठान गरिए पनि युद्ध प्रसङ्ग अलि लामो र विभिन्न ठाउँको कार्यक्रमले अलि लम्बिएको हो कि भन्ने लाग्छ । मुख्य पात्रको जीवन वृतान्तलाई मिहिन ढङ्गले आख्यानमा ढालेर ‘लाहुरेको रेलीमाई’ मास्टर मित्रसेनलाई बहादुर सिपाहीभन्दा पनि लोकप्रिय सेलिब्रिटी बनाएर आख्यानकार विजय हितानले एउटा सङ्ग्रहणीय कृति ल्याएका छन् ।
प्रतिक्रिया