यी हुन् विश्वका सर्वाधिक युवा र वृद्ध नेता

यी हुन् विश्वका सर्वाधिक युवा र वृद्ध नेता



काठमाडौँ । प्यू रिसर्च सेन्टरको एउटा तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघका १८७ सदस्य राष्ट्रमध्ये यतिबेला अमेरिकी राष्ट्रपति जाे बाइडन नवौँ वृद्ध नेता हुन् । बाइडनको तुलनामा डोनाल्ड ट्रम्प तीन वर्ष कान्छो छन् तर उनको गणना पनि विश्वका २० वृद्ध नेतामै पर्छ ।

यतिबेला विश्वका सबैभन्दा युवा नेता बुर्किना फासोका राष्ट्रप्रमुख इब्राहिम तराउरे हुन् जो ३६ वर्षका छन् । उनी इक्वेडरका राष्ट्रपति डेनियल नोबोभा र मान्टेनिगरोका प्रधानमन्त्री मिलोहाओ स्पाहितभन्दा केही महिना कान्छो छन् । यी दुवै विश्व नेताले पनि ४० वर्ष भने काटेका छैनन् । ४० वर्ष मुनिकै दुई अन्य विश्वनेतामा आयरल्याण्डका साइमन हेरि र चिलीका राष्ट्रपति गेबरियल बोरिच छन् ।

विश्वको सर्वाधिक वृद्ध नेतामा क्यामरुनका राष्ट्रपति पल बिया छन् । उनी ९० वर्षभन्दा बढी उमेरका छन् । प्यालेस्टिन प्रशासनका प्रमुख महमुद अब्बासको उमेर ८८ वर्ष छ । उनी सन् २००५ देखि पदमा छन् । साउदी अरबका राजा सलमानको उमेर पनि ८८ वर्ष भइसक्यो । इरानका धार्मिक नेता खमेनी ८४ वर्षका भइसके ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ७६ वर्षकी भइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७३ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ७१ वर्षका भए । विश्वका १९ प्रतिशत नेता ७० वर्षभन्दा माथि उमेरका रहेको एक तथ्याङ्कले देखाएको छ । ४० देखि ५० वर्षभित्रका नेता भने १६ प्रतिशत छ ।