सिंगापुरमा बच्चा नजन्माउने र पहिलो बच्चा ढिलो जन्माउनेको संख्या बढ्दै गएपछि सरकार चिन्तित

सिंगापुरमा बच्चा नजन्माउने र पहिलो बच्चा ढिलो जन्माउनेको संख्या बढ्दै गएपछि सरकार चिन्तित



काठमाडौँ । सिंगापुरमा वृद्ध जनसंख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिंगापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिंगापुरमा वृद्ध वासिन्दाहरूको संख्या सन् २०१३ मा ३५ हजार एक सय ६० जना रहेकोमा अघिल्लो वर्ष २०२३ मा ७८ हजार एक सय ३५ जना पुगेको छ ।

यस्तै ६५ वर्षभन्दा माथिका बासिन्दाहरूको संख्या सन् २०१३ मा चार लाख १३ हजार एक सय १७ जनाबाट बढेर गएको वर्ष सात लाख आठ हजार छ सय ५६ पुगेको छ । ८० प्रतिशतभन्दा धेरै वृद्धवृद्धाहरू आफ्नो परिवारसँग बस्ने गरेकोमा अहिले यो संख्या निकै घटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको जुन महिनामा सिंगापुरमा ६५ वर्षभन्दा माथिका नागरिकको संख्या १९ दशमलव १ प्रतिशत पुगेको छ । यस्तै ४० वर्ष उमेर पुगेर पनि बच्चा नजन्माउने महिलाको संख्या सन् २०१३ मा १० प्रतिशत रहेकोमा गएको वर्ष २०२३ मा बढेर १३ दशमलव ९ प्रतिशत पुगेको छ ।

यस्तै सिंगापुरमा पहिलो बच्चा जन्माउने उमेर पनि बढ्दै गएको छ । सन् २०१३ मा पहिलो बच्चा जन्माउने दम्पतीमध्ये पुरुषको उमेर ३२ वर्ष ७ महिना र महिलाको उमेर ३० वर्ष ३ महिना थियो । अहिले पहिलो बच्चा जन्माउँदा पुरुषको उमेर ३३ वर्ष ३ महिना र महिलाको उमेर ३१ वर्ष ६ वर्ष पुगेको छ ।

वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको र नयाँ सन्तान जन्माउन दम्पतीले ढिलाइ गरेको समस्या समाधानका लागि सरकारले बच्चा हुर्काउने परिवारलाई सहयोग गर्ने उपायहरू जारी गरेको छ । सिंगापुर सरकारले पिताहरूलाई सरकारी भुक्तानी गर्नेगरी पितृत्व बिदा प्रदान गर्ने, दिनभर शिशु हेरचाह गर्ने ठाउँहरू निर्माण गर्ने, शिशुहरूको पढाइमा अनुदान दिने घोषणा गरेको छ ।