युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति जेटीयूसीसीको आपत्ति

युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति जेटीयूसीसीको आपत्ति



काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटीयूसीसीले युद्धग्रस्त देश इजरायल, अफगानिस्तानलगायतमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयरगिभरहरूको सङ्ख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाए । उनले जान्दाजान्दै पनि रोजगारीको नाममा युद्धग्रस्त देशमा श्रम स्वीकृति दिँदै श्रमिक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताए ।

कुँवरले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीहरूलाई फर्काउन नसकेको अवस्थमा पुनः युद्धग्रस्त देशमै श्रमिक पठाउने कुरा जायज नरहेको उल्लेख गरे । अहिले रोजगारीको भयावह अवस्थामा पुगेकाले उनीहरूलाई व्यवस्थापन गर्न नसकेमा देशप्रति नै नकारात्मक सोच आउनेतर्फ सबै सचेत हुनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरको भनाइ छ । मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा नै श्रमिक पठाउनु उचित हुने उनले बताए ।