‘निभ्यो ओखलढुंगाको शैक्षिक चेतनाको एउटा दीप’

‘निभ्यो ओखलढुंगाको शैक्षिक चेतनाको एउटा दीप’



काठमाडौं । ओखलढुंगा जिल्लाको शैक्षिक चेतनाको दीप पर्याय बनेका दिलराम लामिछानेको सोमबार निधन भएको छ । ८८ वर्षीय लामिछानेको मंगलवार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न गरिएको छ। लामिछानेको पार्थिव शरीरमा उनका जेष्ठ सुपुत्र शनद लामिछाने र कनिष्ठ सुपुत्र बासुदेब लामिछानेले दागबत्ती दिएका थिए। उनको पार्थिव शरीरमा रुम्जाटार उच्च माविका पूर्व विद्यार्थी एवम् ओखलढुंगाका प्रतिनिधि सभा सदस्य, नेपाली कांग्रेस केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडा, प्रजातन्त्र सेनानी संघका सभापति बालकृष्ण दाहाल, ट्रेड युनियनका पूर्व अध्यक्ष खिलानाथ दाहाललगायत नेताले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि ओखलढुंगा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुगेका थिए। स्वर्गीय लामिछानेले २४ वर्षसम्म रुम्जाटार माध्यामिक विद्यालयको प्रधानाध्यापक भएर रुम्जाटारकाे शैक्षिक उन्नयन तथा विकासका लागि सेवा गरेका थिए। उनी नेपाल शिक्षक संघ, ओखलढुंगाको पूर्व अध्यक्ष समेत थिए ।

लामो समयदेखि घुँडामा समस्याले थला परेका लामिछानेमाथि माओवादी द्वन्द्वकालमा आक्रमण भएको थियो । शैक्षिक चेतना फैलाएको आरोपमा उनीमाथि माओवादी कार्यकर्ताले घुँडामा प्रहार गरेर घाइते बनाएका थिए । अन्ततः त्यही घुँडाको चोट लामिछानेको महाप्रस्थानको निहुँ बन्यो ।

लामिछानेका श्रीमती र दुई छोरा छन्। उनी जोसमनी मत र सम्प्रदायका प्रवर्तक सन्त दिलदासका नाति हुन्। शिक्षा क्षेत्रमा योगदान पुर्‍याएवापत लामिछाने प्रवल गोर्खा दक्षिणबाहुबाट विभूषित थिए ।

शैक्षिक क्षेत्रको मियो ओखलढुंगा जिल्लाको शैक्षिक उन्नयनको क्षेत्रमा स्वर्गीय लामिछानेको योगदान विशेष थियो। उनको व्यक्तित्वको प्रभाव पनि जिल्लामा उत्तिकै सशक्त थियो। उनका पूर्व विद्यार्थी समेत रहेका र समाजका अन्य क्षेत्रका व्यक्तित्वहरुले लामिछानेको निधनले अपुरणीय क्षति पुगेको भन्दै उनको योगदानको स्मरण गरेका छन्।

कांग्रेस नेता एवम् जिल्लाका प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले जिल्लाले शिक्षा क्षेत्रको तारा गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। लामिछानेका पूर्व विद्यार्थी समेत रहेका नेता खतिवडा आफ्नो वालमा लेख्छन्- ‘ओखलढुंगा जिल्लामा शिक्षा क्षेत्रको तारा आदरणीय मेरा गुरु दिलराम लामिछानेको निधनको खबरले अति दुःखित् छु। हामीले जिल्लामा ठूलो सम्पत्ति गुमाएका छौं । प्रजातान्त्रिक आन्दोलनमा पनि वहाँको योगदान अतुलनीय थियो। अब केबल सम्झनामा मात्रै हुनु हुनेछ । दिलराम सरप्रति हार्दिक श्रद्धाञ्जली।

लामिछानेको निधनपछि वरिष्ठ पत्रकार पुरुषत्तोम दाहाल यसरी स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्छन्,- ‘०३६ सालमा जनमत सङ्ग्रहको अभियान थियो । नेपाल विद्यार्थी सङ्घका शाखाहरु निर्माण गर्ने, महाधिवेशन गर्ने र बहुदल पक्षमा जनमत बढाउने तयअनुरुप ओखल्ढुङ्गामा नेविसंघको प्रथम जिल्ला अधिवेशन भयो । रुम्जाटार माविमा गर्ने निधो गर्न आदरणीय लक्ष्मीप्रसाद पोख्रेलसहित हामी प्रधानाध्यापक दिलराम लामिछानेसङ्ग कुरा भयो । निर्वाण कुमार दाहाल उत्तर कटवाल, केदार पोख्रेल जस्ता सशक्त लोकतान्त्रिक शिक्षकहरु पनि हुनुहुन्थ्यो । दिलराम सरले सबै प्रकारको सहयोग गर्ने वचन दिनुभयो । त्यहाँ पञ्चायतका नेताहरुको दवाव, जगजगी र भय व्यापक थियो । तर सरको निश्चिन्त सहयोग नेविसंघ निम्ति रह्यो । त्यस पछिका दिनमा उहाँ निरन्तर लोकतन्त्रका निम्ति सक्रिय रहनुभयो । उहाँ एक कुशल शिक्षक हुनुहुन्थ्यो । रुम्जाटार माविको शैक्षिक उन्नयन उहाँको जगमा रहेको छ । सन्त दिलदासका वंशज दिलराम सर पनि सन्त जस्तै शालीन हुनुहुन्थ्यो । दिवङ्गत सरको आत्मालाई शिवसायुज्य प्राप्त होस् भावपूर्ण श्रद्धाञ्जलि । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’

स्वर्गीय लामिछानेले रुम्जाटार माध्यामिक विद्यालयको स्थापना, स्तरवृद्धि र निरन्तर सुधारका लागि क्रियाशील रहेर योगदान गरेको लामिछानेका पूर्वविद्यार्थी तथा रुम्जाटार गाविसका पूर्वअध्यक्ष सीताराम गुरुङ बताउछन् । गुरुङका अनुसार रुम्जाटारको संस्कृति, सभ्यता र विकासको मेरुदण्ड शिक्षाको क्षेत्रमा दिलराम सरले अतुलनीय योगदान दिएका थिए । लामिछानेले रुम्जाटार क्याम्पसको स्थापना, सञ्चालन र व्यवस्थापन गरेका थिए । प्लस टुको संरचना र व्यवस्थापन उनकै कार्यकालमा भएको थियो ।

यसैगरी हाल नेपाली सेनाको ब्रिगेडियर जनरल रहेका स्वर्गिय लामिछानेका पूर्वविद्यार्थी गौरव गुरुङ सामाजिक संजालमा लेख्छन्, ‘रुम्जाटारको शीर ढलेको दिन : हाम्रा पथप्रर्दशक, अविचलित अभिभावक, गौरव र शैक्षिक धरोहर परमपुज्य हेडसर दिलराम लामिछानेज्यूको महाप्रस्थानको खबरले भावविव्हल भएको छु । राष्ट्रिय विभूति तथा रुम्जाटारेलाई शिक्षा र ज्ञानको कखरा सिकाउने सन्त ज्ञान दिलदासका नाति हाम्रो हेडसरले रुम्जाटारको शिक्षाको लागि पुर्याउनु भएको योगदानको वर्णन गर्न म सामान्य मनुवा समर्थ छुईनँ। आज हामी रुम्जाटारे जहा जे छौं सबै श्रेय श्रद्धेय सरलाई नै जान्छ । सरको सामिप्यतामा सिकेका, बुझेका अनगिन्ती पाठ र सम्झनाहरु छन्, समयक्रममा लेख्नेनै छु । बाल्यकालदेखिकै निरन्तरको अभिभावकत्व गुमाएको छु । शिक्षाको ज्योतिलाई मन मुटुमा राख्दै सदासर्वदा सम्झिरहने छौं। महान् आत्मालाई वैकुण्ठ वास प्राप्त होस् । शोकमा डुब्नु भएकी गुरुआमा, लगायत शोकाकूल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछु । भावपूर्ण श्रद्धाञ्जलि परमपुज्यनिय हेडसर ।

यसैगरी स्वर्गिय लामिछानेका अर्का विद्यार्थी एवम् नेपालको प्रजातान्त्रिक आन्दोलनमा २०३१ सालका योद्धा जिउँदा शहीद भनेर सम्मानित रुम्जाटारका धर्तिपुत्र एल.बि. गुरुङका छोरा हाल हंकङ निवासी अरेन्द्र गुरुङ लेख्छन्, ‘मेरो बुबाको साथी मलाई अत्यन्त माया र स्नेह गर्ने आदरणीय गुरुवर दिलराम सर रुम्जाटारको मात्र होईन सिंगो ओखलढुंगा जिल्लाको गौरव हुनुहुन्थ्यो । नेपालको धर्म संस्कृति तथा जातपात, अन्धविश्वासको विरुद्ध जोसमनी मतको प्रचारक राष्ट्रिय विभूति ज्ञानदिलदासका नाती, रबिदिलदासका छोरा तथा ओखलढुंगा जिल्लाका शैक्षिक अध्येता, रुम्जाटार माविमा करिब २४ वर्षसम्म प्रधानाध्यापक रहि योगदान दिनुहुने वँहा एक शिक्षकभन्दा माथि रुम्जाटारको धर्तिपुत्र हुनुहुन्थ्यो । आजको रुम्जाटार बन्न र रुम्जाटारका भूतपूर्व विद्यार्थीहरु आज जो जहाँ सफलताको शिखरमा छन् त्यसको आधार बनाउन गुरुवर दिलराम लामिछानेको योगदान पहिलो नम्वरमा आउँछ । पंचायती कालमा बुबाको राजनीतिको कारण सर्वस्वहरण भई भारतमा निर्वासित जीवन बिताएर आममाफी पाएर नेपाल आएपछि काठमाडौंमा पैसाको प्रतिकुल अवस्थाको कारण पढ्न नसक्दा मलाई गाउँको स्कुलमा स्कलरसिपमा २०३९ सालदेखि २०४३ सालसम्म एस.एल.सि सम्म पढ्ने जुन अवसर दिलाई दिनु भयो, म आज जहाँ छु त्यहाँ पुग्ने आधार मलाई रुम्जाटारको भूगोल र हेडसरको अभिभावकीय भूमिकाले बनाईदिएको हो । शोकमा डुब्नु भएकी गुरुआमा, शनद दाइ र वासु दाइसहित सम्पूर्ण शोकाकुल परिवारमा मेरो गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्दछु।’

२० वर्षभन्दा बढी रम्जाटार मा‍.वि.मा स्वर्गिय लामिछिने मातहत रहि शिक्षण पेशा गर्नुभएका लिलारमण दाहाल आफ्ना गुरु लामिछाने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लेख्छन्, ‘२०८१ श्रावण महिनाको ७ गते गुरु दिलराम सर भेट्न हामी (म,सुशीला,अनुपम र सन्तोष कोइराला) गएका थियौं , बासु भाइले उठाउनु भयो, मान्छेपिच्छेका प्रश्न गर्नु भयो, उत्तर क्रमश: सुनाउदै गयौं, राम्रोसँग बातचित भएको थियो । यस्तो भैजाला भन्ने सोचेका थिएनौं, अन्तिम भेट त्यहि रहेछ, जन्म र मृत्यु सत्य रहेछ, निर्वाणको खबरले अत्यन्तै दुखित् बनायो । रुम्जाटार मा‍.वि. रुम्जाटरमा २० वर्षसम्म सँगै काम गरियो, आफ्नो कौतुहल मेटाउन बारम्बार फोन गरिरहनु हुन्थ्यो, २०३४ सालदेखि २०६१ सालसम्म प्रधानाध्यापक भै काम गर्नु भयो, अत्यन्त दरिलो हिम्मत भएको ब्यक्तित्व, जिल्लाकै हेडसर जस्तो हुनुहुन्थ्यो वहाँ ।

स्वर्गिय लामिछानेको योगदानलाई चीर स्थायी बनाईराख्न स्वदेश तथा विदेशमा रहेका उनका पूर्वविद्यार्थी र शुभेच्छुकहरुले ठोस काम गर्ने प्रणसमेत गरेका छन् ।

लामिछानेको स्मृतिमा रुम्जाटारमै एउटा पूर्ण कदको प्रतिमा राख्ने, शैक्षिक कोष स्थापना गरेर रुम्जाटार मावि (एसएलसी), उच्च मावि (+२) र कलेजबाट उच्च अंक ल्याई उत्तीर्ण हुने उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार दिने, जिल्लामा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने शिक्षासेवीहरुलाई लामिछानेको नाममा वार्षिक सम्मान गर्ने र रुम्जाटार उच्च माविलाई दिलराम स्मृति उच्च माविको रुपमा नाम राख्ने जस्ता केही काम गर्न प्रस्ताव गरिएको छ ।