यो वर्ष जापानिज इन्सेफलाइटिसबाट मृत्युदर उच्च, कसरी जोगिने ?

यो वर्ष जापानिज इन्सेफलाइटिसबाट मृत्युदर उच्च, कसरी जोगिने ?


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) रोगका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेको छ । शंकास्पद बिरामीहरूबाट संकलन गरिएका ६ सय ९५ नमूना मध्ये ६१ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ जनाको मृत्यु भएको छ ।

यो वर्ष गत वर्षभन्दा संक्रमण कम देखिए पनि ज्यान गुमाउनेहरूको संख्या बढेको छ । नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापानिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ । सरकारले सन् २०१६ मा जापानिज इन्सेफलाइटिसविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो ।

नेपालमा जापानिज इन्सेफलाइटिसको स्थिति
परिवार कल्याण महाशाखाले उपलब्ध गराएको भदौ २७ गतेसम्मको तथ्याङ्कअनुसार ६१ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ ।

विभिन्न २५ जिल्लामा यो रोगको संक्रमण देखा परेको छ । बिरामीहरूमा धेरैजसो १५ वर्ष भन्दा कम उमेर समूहका रहेका छन् । शंकास्पद बिरामीहरूबाट संकलन गरिएका ६९५ वटा नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । तीमध्ये १४ जना बिरामीको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

जापानिज इन्सेफलाइटिसका केसहरू !
मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी र झापा जिल्लाका बिरामी हुन् । यस पटक काठमाडौँमा पनि यो रोगको संक्रमण देखा परेको छ ।

यो रोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

जापानिज इन्सेफलाइटिस के हो
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।

जापानिज इन्सेफलाइटिस रोगको भाइरसबाट संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । जापानिज इन्सेफलाइटिस भएका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार एशियामा प्रत्येक वर्ष झन्डै एक लाख जनामा जापानिज इन्सेफलाइटिस पुष्टि हुने गरेको छ । यो रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुने डब्ल्यूएचओले जनाएको छ ।

जापानिज इन्सेफलाइटिसका लक्षण
जापानिज इन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखा पर्दछन् । तर, केही बिरामीहरूमा त्यस्तो कुनै संकेत देखिँदैन ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, भ्रममा पर्नु जापानिज इन्सेफलाइटिसका लक्षण हुन् । यसै गरी बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु पनि यो रोगका लक्षण हुन् ।

जापानिज इन्सेफलाइटिसबाट संक्रमित हुने २५० जनामध्ये एक जनामा घातक खालका समस्याहरू देखा पर्न थाल्छन् । त्यस्ता समस्या भएका तीन बिरामीमध्ये एक जनाको मृत्यु हुने डब्ल्युएचओले जनाएको छ ।

केही बिरामीको मस्तिष्कमा गम्भीर क्षति पुग्छ । तर, धेरै बिरामीको स्वास्थ्यस्थितिमा बिस्तारै सुधार हुन थाल्छ ।

कसरी जोगिने
जापानिज इन्सेफलाइटिसबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । यो रोगको खोपले काम गर्न केही समय लाग्ने हुँदा लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम उपाय भएको चिकित्सकहरू बताउँछन् ।

अहिले दिएको खोपले लामखुट्टे लाग्ने मौसम सकिएपछि मात्रै काम गर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरूले थप सतर्क अपनाउनुपर्ने हुन्छ ।

लामखुट्टे भगाउने पदार्थ वा साधन प्रयोग गर्ने, बाहिर निस्कँदा लामो, खुकुलो, लुगा लगाउने, हातखुट्टा छोप्ने, लामखुट्टे बढी सक्रिय हुने झिसमिसे र साँझको समयमा घरबाहिर ननिस्कने, घरमा झुल वा जाली प्रयोग गर्ने गर्नु पर्दछ ।