काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू घर फर्कन थालेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज बिहानै युद्धविराम सम्झौताको घोषणा गर्दै तत्कालै कार्यान्वयन गर्न आग्रह गरेपछि इजरायल सहमत भएको हो ।
इजरायलले आफ्नो उत्तरी क्षेत्रबाट विस्थापित भएका नागरिकलाई अझै पनि घर फर्कन अनुमति दिएको छैन । तर दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौं नागरिक घर फर्कन थालेका बीबीसीले जनाएको छ । दक्षिण लेबनान जाने राजमार्गमा मानिसहरू जयजयकार गर्दै यात्रा गरिरहेका खबरमा उल्लेख छ । लेबनान र इजरायलको सिमानामा रहेका गाउँबाट ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका थिए ।
गएको वर्षको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेर १२ सय जनाभन्दा धेरैको ज्यान लिएको थियो । त्यसको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी आक्रमण गरेपछि हिजबुल्लाहले इजरायलमा मिसाइल हान्न शुरू गरेको थियो । इजरायलले लेबनानको राजधानी बेरुतसहितका शहरमा दिनहुँजसो शक्तिशाली मिसाइल र हवाई आक्रमण गरिरहेको थियो । केही महिनादेखि इजरायली सेना लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण थालेपछि युद्ध झनै बढेको थियो । इजरायली आक्रमणबाट एक वर्षको बीचमा चार हजार जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ ।
आज भएको युद्धविराम सम्झौताअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछन् । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।
हिजबुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गरेमा आक्रमण गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् । हिजबुल्लाहले यसलाई आफ्नो विजयका रूपमा लिएको छ । तर इजरायली प्रधानमन्त्री नेतान्याहुले पनि हिजबुल्लाहलाई अब केही वर्षसम्म उठ्न नसक्नेगरी कमजोर बनाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन् ।
प्रतिक्रिया