दमास्कसस्थित इरानी दूतावासमा आक्रमण

दमास्कसस्थित इरानी दूतावासमा आक्रमण



तेहरान । दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आइतबार आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

“अज्ञात व्यक्तिले इरानी दूतावासमा आक्रमण गरेका छन्, जुन तपाईंले विभिन्न सञ्जालले साझा गरेका यी तस्बिरमा देख्न सक्नुहुन्छ,” इरानी सरकारी टेलिभिजन कूटनीतिक परिसरभित्रबाट आएको भनिएको फुटेज देखाउँदै भनेको छ ।

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे ।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, “राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”