दोहा । कतारी अधिकारीहरु सिरियाली राष्ट्रपति बशर अल-असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल-शाम (एचटिएस) र सिरियाका अन्य समूहहरुसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।
“कतारीहरुले एचटिएससँग सञ्चारको पहिलो च्यानल स्थापना गरेका छन् । एचटिएस र कतारी कूटनीतिज्ञहरुसँगको सञ्चार आगामी २४ घन्टामा अल बशीरसँग जारी रहने अपेक्षा गरिएको छ”, वरिष्ठ विद्रोही मोहम्मद बशीरलाई उदृत गर्दै नाम नछाप्ने सर्तमा अधिकारीले भने ।
असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि कतार सशस्त्र विद्रोहको मुख्य समर्थक र पदच्यूत नेताको कडा आलोचक थियो । सन् २००० देखि सत्तामा रहेका असद एचटिएस र यसका सहयोगीहरुको द्रुत अभियानपछि सप्ताहन्तमा पदच्यूत भएका थिए ।
छलफलको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्ने अधिकारीले भने, “एचटिएस र अन्यसँगको सञ्चारको फोकस…शान्ति कायम गर्न र सङ्क्रमण अवधिमा सिरियाको सार्वजनिक संस्थाहरूको संरक्षण गर्न आवश्यक छ ।”
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले आफ्नो देशले एचटिएससँग विशेष कुरा गरिरहेको छ कि छैन भनेर भन्न अस्वीकार गर्दै यसअघि कतार ‘हामी सिरियाली मोजाइकभित्र सधैँ सम्पर्कमा रहेका सबै समूहहरुसँग सम्पर्कमा रहेको’ बताएका थिए । प्रवक्ताले असद विरुद्धको विद्रोहको समयमा विपक्षी समूहहरुका लागि खोलिएको कतारको सिरियाली दूतावास अब ‘सिरियामा नयाँ वास्तविकताको पहिलो दूतावास’ भएको पनि बताए ।
“म यस समयमा भइरहेको विशेष कल वा बैठकहरूमा विशेष टिप्पणी गर्न सक्दिन तर म तपाईंलाई भन्न सक्छु कि हाम्रो ढोका खुला छ, हामी सबैसँग कुरा गरिरहेका छौँ”, उनले भने । असदलाई अपदस्थ गर्नुअघि कतारले शनिबार सिरियामा रुसी, इरानी, टर्की र अरब अधिकारीहरुसँग बैठकहरु आयोजना गरेको थियो ।
“शनिबारको बैठकमा सबै पक्षहरुबिच सहमति भयो, प्राथमिकता सिरियामा स्थितिलाई नियन्त्रणमा राख्ने र इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरुले सिरियामा पकड बनाउन नसक्ने सुनिश्चित गर्ने हो” अधिकारीले भने ।
प्रतिक्रिया