इजरायलको आक्रमणमा ३३ प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा ३३ प्यालेस्टिनीको मृत्यु



गाजापट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा ३३ जना प्यालेस्टिनीको ज्यान गएको जनाएको छ । प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित साे संख्यामा ज्यान गुमाएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रमा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि पछिल्लो रक्तपात भएको हो । रफाहमा भएको आक्रमणमा सात र खान युनुसमा पाँचजना गार्ड मारिएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

“कब्जाले एकपटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्‍याे,” आक्रमणमा अधिकांश बालबालिकासहित करिब ३० जना घाइते भएको भन्दै बासलले भने ।

इजरायली सेनाले दक्षिणी गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूहरूमाथि ‘सटिक आक्रमण’ गरेको बताएको छ ।

“मारिएका सबै आतंककारी हमासका सदस्यहरू थिए र उनीहरूलाई गाजाका नागरिकहरूसम्म पुग्नबाट रोक्न निरन्तर आतंकवादी गतिविधिको समर्थनमा हिंसात्मक रूपमा मानवीय सहायता ट्रकहरू अपहरण गरेर हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए,” सेनाले विज्ञप्तिमा दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजापट्टीमा १४ महिनाभन्दा बढी समयदेखि जारी युद्धले बढाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिएका छन् ।