काठमाडौं । युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका बताएको छ ।
डिसेम्बर १४ र १५ तारिखमा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँ नजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको युक्रेनको सैन्य गुप्तचर निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यस्तै कम्तीमा तीन जना उत्तर कोरियाली सैनिक कुर्स्कको कुरिलोभ्का गाउँ वरिपरि बेपत्ता भएका खबरमा उल्लेख छ ।
उत्तर कोरियाबाट हजारौं सैनिक कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रुसी सेनालाई सहयोग गर्न आएका छन् । यसै वर्षको गृष्मयाममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रुसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।
रुसलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’ हरू भरिएका र यसमा उत्तर कोरियाली सेना पनि रहेका खबरमा उल्लेख छ ।
रुसले आफ्ना सेनालाई कुर्स्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय सङ्ख्यामा’ तैनाथ गर्न थालेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
प्रतिक्रिया