अफगानिस्तानकाे तालिवान सरकारलाई रुसले दियो मान्यता

अफगानिस्तानकाे तालिवान सरकारलाई रुसले दियो मान्यता



मस्को । रुसले अफगानिस्तानको मामिलामा निर्णायक कदम चालेको छ । अहिलेसम्म कुनै पनि देशलेतालिवानको सरकारलाई मान्यता दिएको छैन । तर रुसले भने अफगानिस्तानमा तालिबान सरकार र सिरियामा नयाँ नेतृत्वलाई मान्यता दिने कानुन पारित गरेको छ ।

मंगलबार त्यहाँको संसदले मस्कोले आतंकवादी संगठनका रुपमा राखेको समूहहरूमाथिको प्रतिबन्ध निलम्बित गर्ने अधिकार अदालतले पाउने कानुन पारित गरेको छ ।

केही दिनअघि मात्रै रुसको ड्यूमा राज्यले तालिबानलाई प्रतिबन्धित समूहको सूचीबाट हटाउन आवश्यक तीनवटा रिडिङमध्ये पहिलो विधेयकस्वीकृत गरेको थियो । अफगानिस्तानले यो निर्णयको स्वागत गरेको छ । भ्लादिमिर पुटिनले जुलाईमा नै तालिबान अब आतंकवादविरुद्ध लड्न सहयोगी भएको बताएका थिए । अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थितिलाई समाप्त गर्न काम गरिरहेको तालिवानले पनि बताएको छ ।

अफगानिस्तानमा तालिवान सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन । २० वर्षको युद्धपछि अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

पुटिनले अब तालिबानसँगको सम्बन्धलाई विस्तारै सामान्य बनाउन चाहेको देखिएको छ ।