प्यालेस्टाइनी शिविरमा इजरायलले गरेको आक्रमणमा १५ जनाको ज्यान गयो

प्यालेस्टाइनी शिविरमा इजरायलले गरेको आक्रमणमा १५ जनाको ज्यान गयो



काठमाडौं । विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा इजरायलले गरेकाे आक्रमणमा १५ जनाको ज्यान गएको छ । शिविर रहेको दुई वटा विद्यालयमा भएको आक्रमणमा अरू ३० जना घाइते भएका छन् ।

यस्तै गाजा, रफाह, वेस्ट बैंकलगायतका क्षेत्रमा पनि इजरायलले निरन्तर आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । प्यालेस्टाइनमा राहत वितरणमा अवरोध पनि भइरहेको छ ।

इजरायलमा आक्रमण नरोकिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट चौतर्फी आक्रोश र आलोचना व्यक्त भएको छ । प्यालेस्टाइनमा राहत वितरणमा अवरोध भएको विषयमा संयुक्त राष्ट्रसङ्घको महासभामा अन्तर्राष्ट्रिय अदालतमा धारणा बुझ्ने पक्षमा मतदान हुने खबरमा उल्लेख छ ।

यस्तै अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टाेनी ब्लिन्केनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र इजरायलबीचको सम्बन्ध सामान्य बनाउने विषयलाई चासो दिने अपेक्षा गरेको बताएका छन् ।

साउदी अरेबियासँग अमेरिकाको वार्ता भएकाले अर्को चरणमा इजरायलसँगको सहकार्य र मध्यपूर्वको समस्या समाधानका लागि पहल अति आवश्यक भएको ब्लिन्केनले बताए ।

इजरायलले यो आक्रमण जारी राखेकै समयमा इजरायलमाथि प्रतिबन्ध लगाउन स्पेनमा समेत दबाब परेको छ । त्यहाँका चार प्रमुख दलले सरकारलाई इजरायलमाथिको प्रतिबन्धका लागि पहल गर्न दबाव दिएका हुन् ।