काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारले बताएको छ ।
तालिवान प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएअनुसार मंगलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो । मृत्यु हुनेको कुल सङ्ख्या ४६ पुगेको छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । उनका अनुसार घटनामा अन्य छ जना घाइते भएका छन् ।
अफगानिस्तानी रक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अफगान भूमिमा पाकिस्तानले गरेको पछिल्लो आक्रमणको निन्दा गर्दै यसलाई ‘बर्बर’ र ‘स्पष्ट उत्तेजना’ भनेको छ । सरकारमा रहेका तालिवान अधिकारीहरूको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)ले यो कायरतापूर्ण कार्यलाई अनुत्तरित छोड्ने छैन, अफगानिस्तान आफ्नो भूभाग र सार्वभौमिकताको रक्षालाई आफ्नो अविभाज्य अधिकार ठान्छ ।’
प्रतिक्रिया