काठमाडौं । दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति हान डाक–सोमाथि महाभियोग लगाउने पक्षमा मतदान भएको छ । राष्ट्रपति यून सुकलाई महाभियोग लगाइएपछि दुई हप्ताअघि मात्र उनी कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका थिए ।
कार्यवाहक राष्ट्रपति हान डाक–सोलाई महाभियोग लगाउने पक्षमा एक सय ९२ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ । दक्षिण कोरियामा अन्तरिम नेतालाई महाभियोग लगाइएको यो पहिलो पटक हो ।
विपक्षी दलले हानमाथि पूर्वराष्ट्रपति यूनले लगाएको ‘मार्शल ल’ लाई समर्थन गरेको र यूनविरुद्धको अनुसन्धानलाई अनुमोदन नगरेको आरोप लगाएका छन् । दक्षिण कोरियामा राष्ट्रपतिलाई महाभियोग लगाउनका लागि एक सय ५१ भन्दा बढी मत आवश्यकता पर्छ ।
राष्ट्रपति यूनलाई महाभियोग लगाइएपछि प्रधानमन्त्री रहेका हान डक सो कार्यवाहक राष्ट्रपति बनेका थिए । यही डिसेम्बर ३ मा ‘मार्शल ल’ घोषणा गरेपछि यूनलाई हटाइएको थियो ।
आज संसद्मा मतदानका क्रममा सत्ताधारी दलका सांसदहरूले महाभियोगको पक्षमा भएको मतदानलाई अवैध भन्दै नारा लगाएका थिए । उनीहरूले यसलाई शक्तिको दुरुपयोग भन्दै सभामुखको राजीनामा मागेका खबरमा उल्लेख छ । हानलाई संसद्ले आधिकारिक रूपमा सूचित गर्नेबित्तिकै उहाँलाई आफ्नो कर्तव्यबाट निलम्बन गरिनेछ ।
यसैबीच अर्थमन्त्री चोई साङ–मोकलाई हानको ठाउँमा कार्यवाहक राष्ट्रपति बनाइएको छ । कार्यवाहक राष्ट्रपतिले नागरिकका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया