काठमाडौं । चीनले ब्रह्मपुत्र नदीमा संसारकै सबभन्दा ठूलो जलविद्युत आयोजना बनाउने भएको छ ।
हाल संसारकै ठूलो जलविद्युत आयोजना चीनकै ‘थ्री गोर्जेज’ हो । चीनले अब योभन्दा तीन गुणा ठूलो आयोजना बनाउने भएको हाे ।
थ्री गोर्जेज आयोजनाको क्षमता २२ हजार दुई सय पचास मेगावाट छ । ब्रह्मपुत्रमा बनाउन लागिएको नयाँ आयोजना भने लगभग ७० हजार मेगावाटको हुनेछ ।
यो नदीमा विशाल आयोजना बनाउन सरकारले हालै स्वीकृति दिएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ ।
यो आयोजना नदीको ठ्याक्कै कहाँनिर बनाउने भनेर चीनले खुलाएको छैन । तर ब्रह्मपुत्रमा भएको विश्वकै सबभन्दा गहिरो खोंचनिर बनाउने अनुमान छ । यो खोंच भारतको अरूणाचल प्रदेश नजिकै पर्छ । यो नदीले त्यहीँनेर ‘यू-टर्न’ मारेर भारततर्फ बग्छ ।
चीनमा यार्लुङ स्याङ्पो भनिने यही नदीलाई अरूणाचल प्रदेशबाट भारतमा छिरेपछि ब्रह्मपुत्र भनिन्छ ।
प्रतिक्रिया